४ वैशाख २०८१ मंगलबार
अन्य

यूएईः अरबको युरोप

नारायणप्रसाद पौडेल

अत्यधिक गर्मीका कारण पहिले खाडी मुलुक यूएई घुमघामको त्यति प्रिय गन्तव्य थिएन । यो देश भ्रमणप्रेमीहरूको रोजाइमा पर्दैन थियो । तर, बढ्दो आधुनिकीकरण र विकासले हाल यूएई आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । विकास, पर्याप्त रोजगारीका अवसर, खुलापन र फरासिला नागरिकका कारण कतिपयले यूएईलाई  ‘अरबको युरोप–अमेरिका’ समेत भन्न थालेका छन् । थुप्रै नेपाली काम गर्न यूएई जान थालेको धेरै भइसक्यो । पछिल्लो समय नेपालीहरू बिदा मनाउन र रमाइलो गर्न पनि यूएई जान थालेका छन् ।
यूएई जानुपूर्व पासपोर्ट, भिसालगायत कागजात तयार पार्नुपर्छ । व्यक्तिगत रूपमा जाँदा टिकट, घुम्ने गन्तव्य, जाने एयरलाइन्स आदिको व्यवस्था व्यक्ति स्वयंले गर्नुपर्छ । टुर एजेन्सीमार्फत जाँदा भने सम्बन्धित एजेन्सीले नै यी सबैको तयारी गरिदिन्छ ।
टुरमा जानुअघि गर्नुपर्ने काम हो– डलर सटही । नेपाल सरकारको नियमअनुसार प्रतिव्यक्ति एक हजार अमेरिकी डलर पनि साथमै राख्नुपर्छ । त्यहाँ कुनै आकस्मिक अप्ठ्यारो आइपर्दा यति रकम आफूसँग भयो भने काम चलाउन सजिलो हुन्छ ।
यूएईमा मुख्य गरी भारतीय र पाकिस्तानी मूलका मानिसको बसोबास बढी छ । त्यसैले त्यहाँ करिब ९० प्रतिशतले हिन्दी बोल्छन् र बुझ्छन् । हिन्दी बुझ्ने भएकाले त्यहाँ नेपालीलाई भाषाको समस्या हुँदैन । त्यहाँ अंग्रेजी भाषा पनि धेरै प्रयोग हुन्छ ।
यूएईमा घुम्ने र हेर्ने ठाउँ धेरै छन् । बुर्ज खलिफा, पाम आइल्यान्ड, दुबई महल, दुबई  म्युजियम, वाइल्ड वादी वाटरपार्क, मल अफ दी इमरेट्स, इमरेट्स प्यालेस आदि यूएईका आर्कषक गन्तव्य हुन् । बुर्ज खलिफा संसारकै अग्लो टावर हो । यो ८ सय ३० मिटर अग्लो छ । यो टावर दुबई शहरको दृश्याअवलोकनका लागि परिचित छ ।
यूएईमा रहँदा बारसहितको डुंगामा मरुभूमिको सफारी गरेर रमाइलो गर्न सकिन्छ । त्यस्तै दुबई र अबुधाबी शहरमा घुमेर रमाउन सकिन्छ ।  पानीमुनि रहेको दुबई चिडियाघर अर्काे आकर्षक गन्तव्य हो । बेली डान्स, फायर सो र स्थानीय सांस्कृतिक नाच पनि यस देशका आकर्षण हुन् ।
यूएई जान समान्यतया तीन पाकेज छन् । आफ्नो समय र बजेट हेरेर उपयुक्त प्याकेज छनोट गर्नुपर्छ । खर्च आफूले रोज्ने प्याकेजमा भर पर्छ । एउटा प्याकेज तीन रात चार दिनको छ । यसका लागि लगभग ७० हजार रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, चार रात पाँच दिनको दोस्रो प्याकेज छ । यसको मूल्य ७४ हजार रुपैयाँ पर्छ । र, तेस्रो प्याकेज सात रात आठ दिनको छ । यसका लागि १ लाख २१ हजार रुपैयाँ खर्च गर्नुपर्छ । यी तीनटै प्याकेज एक जनाका लागि भए पनि एउटा कोठा सेयरिङ गर्न मिल्ने भएकाले दुई जनासम्म जान सकिन्छ ।
दुबईमा व्यापार मेला, मेडिकल कन्फरेन्सजस्ता मेला तथा सम्मेलन भइरहन्छन् । त्यस्तो बेला यहाँका होटेलहरू भरिभराउ हुन्छन् । त्यतिखेर घुम्न जाँदा खर्च अलि बढी पर्न सक्छ ।
यूएईमा डुल्दा सम्बन्धित एजेन्सीले नै यातायतको व्यवस्था मिलाइदिएका हुन्छन् । प्रायः एसी भएका बसहरूमा घुम्न पाइन्छ । त्यहाँको स्थानीय रेलमार्फत पनि घुम्न सकिन्छ । किनमेलका लागि यूएई धेरै लोकप्रिय छ । त्यहाँ सस्तोमा विभिन्न समान किन्न पाइन्छन् ।
नेपाल घुम्न आउने विदेशीले यहाँबाट मन्दिर, स्तुप, हिमालका तस्बिर आफ्नो देशमा चिनोस्वरूप लिएर जान्छन् । यूएई भने बिल्डिङ आर्किटेक्चरका लागि विख्यात छ । त्यहाँका प्रसिद्ध भवन, दरबारहरूका आकर्षक तस्बिर र प्रतिमा किन्न पाइन्छन् ।

टुर प्याकेज र मूल्य
तीन रात, चार दिनः रु. ६९,०००।–
चार रात, पाँच दिनः रु. ७४,०००।–
सात रात, आठ दिनः रु. १,२१,०००।–

आकर्षक गन्तव्य
बुर्ज खलिफा, पाम आइल्यान्ड, दुबई महल, दुबई  म्युजियम, वाइल्ड वादी वाटरपार्क, मल अफ दी इमरेट्स, इमरेट्स प्यालेस आदि ।
(पौडेल एस ट्राभल्स डटकमका लाइन म्यानेजर हुन् ।)

 

प्रकाशित: ६ वैशाख २०७४ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App