इलाम– दुर्इ दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्। जिल्लास्थित राजनीतिक दल तथा तिनका भ्रातृ संघ–संगठनका जिम्मेवार नेता–कार्यकर्ताले वैशाख ३१ को चुनावको मिति सार्ने ‘प्रपञ्च’ गरिए आफ्नै दलविरुद्धसमेत सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्।
वैशाख ३१ नै स्थानीय चुनावको अन्तिम मिति भएकाले विकल्प नखोज्न नेतृत्वलाई सुझाव दिए।
जिल्लामा चुनावको तयारी गरिरहेका ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका अगुवा तथा युवा नेता–कार्यकर्ता चुनावको मिति सार्नै नदिने अडानमा छन्। उनीहरूले वैशाख ३१ नै स्थानीय चुनावको अन्तिम मिति भएकाले विकल्प नखोज्न नेतृत्वलाई सुझाव दिए। राजनीतिक दलमा आबद्ध स्थानीयस्तरका नेता–कार्यकर्ता वैशाखको चुनाव सार्न खोजिए देशको राजनीतिक अवस्था झन् बिग्रने चिन्तामा रहेको बताउँछन्।
सरकारमा रहेको ठूलो दल नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यले कुनै पनि हालतमा चुनावको मिति नसार्न आफूहरूले दलभित्रै दबाब दिइरहेको बताए । ‘हामीले मंगलबार मात्रै पनि प्रदेश नम्बर १ को भेलामा चुनावको मिति सार्दै नसार्न दबाब दियौं,’ उनले भने, ‘यदि कसैले वैशाख ३१ को चुनावको मिति सार्न खोज्छ भने अवस्था हेरेर प्रभावकारी हुनेगरी दबाबका कार्यक्रम सिर्जना हुनेछन् ।’ उनले चुनावको मिति नसर्ने विश्वासले आफ्नो दलले जिल्लामा सबै तयारी गरिरहेको पनि बताए ।
नेकपा एमालेका जिल्ला सचिव महेश बस्नेतले संविधान कार्यान्वयनका लागि वैशाख ३१ कै चुनाव अनिवार्य भएको बताए । उनले चुनावको मिति सार्ने बहाना बनाउनु ‘संविधानलाई रद्दीको टोकरीमा फाल्ने नियत’बाहेक अरू केही नभएको बताए । ‘सरकारका जिम्मेवार व्यक्तिहरूबाटै चुनावको मिति सार्ने हल्ला चलाइनुले यो सरकार प्रतिगामीहरूको समूह मात्रै रहेको प्रमाणित हुन्छ,’ उनले भने, ‘चुनावको मिति सरे त्यसले राष्ट्रिय संकट उत्पन्न गराउने छ ।’ बस्नेतले चुनावको मिति सार्न खोजिए त्यसभित्रका रहस्यको भण्डाफोर गर्ने, चुनावको पक्षमा स्थानीयस्तरबाट व्यापक जनदबाब सिर्जना र चुनावका लागि जनमत तयार गर्ने बताए ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका स्थानीयस्तरका नेता–कार्यकर्ता कुनै पनि हालतमा तोकिएकै मितिमा चुनाव गर्नुपर्ने अडानमा छन् । माओवादी केन्द्रका जिल्लास्थित कार्यालय सचिव जीवन शर्माले माओवादी चुनावको तयारीमा होमिइसकेको र वैशाख ३१ को चुनाव मितिको कुनै विकल्प नभएको बताए । ‘तोकिएको मितिमा चुनाव हुँदैन भन्ने छँदैछैन,’ उनले भने, ‘यदि चुनाव नगर्ने षड्यन्त्र गरिए परिवर्तनका पक्षधर सबै शक्ति एक भएर आन्दोलन चर्काउनुको विकल्प छैन ।’
तोकिएको मितिमा चुनाव हुनेमा आफूहरू ‘भित्रैदेखि’ विश्वस्त रहेको बताउने राजनीतिक दलमा आबद्ध युवाले चाहिँ चुनावको मिति लम्ब्याउन खोजिए आफ्नै दलविरुद्धसमेत आन्दोलन गर्ने बताए ।
अनेरस्ववियुका केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले लामो समयपछि हुन लागेको स्थानीय तह चुनाव ३ करोड नेपालीलाई अधिकारसम्पन्न गराउने माध्यम भएकाले चुनावको मितिमा विकल्पै नरहेको बताए । ‘वैशाख ३१ मा जसरी पनि चुनाव हुनुपर्छ नत्र विद्यार्थीले देशभरबाट सशक्त दबाब सिर्जना गर्नेछन्,’ उनले भने, ‘तोकिएकै मितिमा चुनाव गराउन विद्यार्थी र युवा पंक्तिले प्रेसर दिनुपर्छ ।’ सुवेदीले चुनावको मिति सार्ने विषयमा छलफल हुनेबित्तिकै देशभरका विद्यार्थी ‘आफसे आफ्’ आन्दोलित हुनसक्ने बताए ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष डिकेन्द्र इदिंगोले चुनाव सार्ने हल्ला चलाउनु कसैको स्वार्थले उब्जिएको ‘दलाइँ’ भएकाले त्यो आफूहरूलाई मान्य नहुने बताए । ‘कुनै पनि दलालले चुनाव रोक्न र मिति सार्न खोज्यो भने हामी विद्यार्थी आफ्नै दलविरुद्ध पनि आन्दोलनमा उत्रिन तयार छौं,’ उनले भने, ‘चुनाव नहुँदा देशको अवस्था भयावह हुन्छ, देश जोगाउन लागेका विद्यार्थीका अगाडि कुनै अवरोधले छेक्ने छैन ।’ उनले हिमाल, पहाड र तराई सबैतिरका नेपालीलाई चित्त बुझाएर तोकिएकै मितिमा हुने चुनावमा सहभागी गराउन पनि आग्रह गरे ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश परियारले केन्द्रीय कमिटीले मातहतका सबै इकाईलाई वैशाख ३१ को मितिमा तलमाथि शंका नगर्न निर्देशन गरिसकेको बताए । ‘हामीलाई वैशाख ३१ को मिति विकल्पहीन हो भन्ने केन्द्रबाटै सर्कुलर छ,’ उनले भने, ‘अहिले चुनावको मिति सर्नेबारे सोचेकै छैनौं । सार्ने बहाना गरिए सशक्त आन्दोलन र प्रतिकार गर्छाैं ।’
नागरिक समाजका अगुवाले चाहिँ तोकिएको चुनावको मिति सार्ने या नसार्ने भन्ने हल्ला बाहिर आइपुग्नु नै दलका केन्द्रीय नेताको कमजोरी रहेको औंल्याएका छन् । इलामस्थित मानवअधिकार मञ्च नेपालका अध्यक्ष तथा महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेबेले आम नागरिक चुनावको उत्साहमा रहेका बेला मिति सार्ने हल्ला आउनु लोकतन्त्रको संस्थागत विकासमाथिको अवरोध भएको बताए ।
‘कुनै पनि दलको केन्द्रीय नेता वा सरकारका जिम्मेवार व्यक्तिले जानेर–नजानेर चुनावको मितिमा विकल्प खोज्ने शब्द मुखबाट निकाल्छ भने त्यो लोकतन्त्रमाथिको प्रहार सम्झिनुपर्छ,’ उनले भने, ‘कुनै हालतमा चुनावको मिति सार्न मिल्दैन । मिति सार्ने त कल्पनै नगरौं, चुनाव सार्ने हल्ला नै चलाउनु पनि लोकतन्त्रविरोधी कदम हो भनेर बुझ्नुपर्छ ।’
प्रकाशित: ६ वैशाख २०७४ ११:१८ बुधबार