८ वैशाख २०८१ शनिबार
खेल

ब्राइटन प्रिमियर लिगमा

 ब्राइटन – ग्लेन मरे र सोले मार्चको गोलमा सोमबार राति विगानमाथि २–१ को जित दर्ता गराउँदै ब्राइटन होब अल्बियनले इङ्लिस फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगको हैसियत हासिल गरेको छ। 

सोमबारै हडर्सफिल्ड टाउनलाई डर्बी काउन्टीले १–१ को बराबरीमा रोकेपछि ब्राइटनको प्रिमियर लिग यात्रा पक्का भएको थियो । सोमबारका नतिजापछि इङलिस फुटबल पिरामिडको दोस्रो डिभिजन च्याम्पियनसिपमा ४३ खेलको समाप्तिमा ९२ अंक जोड्दै शीर्ष स्थानको ब्राइटनले प्रिमियर लिगमा बढुवा पक्का गरेको थियो । चार खेल बाँकी रहँदा दोस्रो स्थानको न्युक्यासललाई ७ तथा तेस्रो स्थानको रिडिङलाई १३ अंकले पछि पार्दै ब्राइटनले शीर्ष डिभिजनमा पाइला राखेको थियो । च्याम्पियनसिपबाट शीर्ष दुई टोली सोझै प्रिमियर लिगलाई बढुवा हुन्छन् भने तेस्रो, चौथो, पाँचौं र छैटौं हुने टिमबीच प्लेअफ गराएर प्रिमियर लिगका लागि तेस्रो टोली चयन गरिन्छ । 

३४ वर्षको अनुपस्थिति तोड्दै शीर्ष डिभिजनमा फर्किएपछि ब्राइटनका समर्थकहरूले खेल सकिएलगत्तै मैदानमा प्रवेश गरेर खुसीयाली मनाएका थिए । 

मरेले ३७औं मिनेटमा अग्रता दिलाएको ब्राइटनका लागि मार्चले ६५औं मिनेटमा अर्को गोल थपेका थिए । घरेलु मैदानमा खेल पूरा नियन्त्रयणमा राखेको ब्राइटन अन्तिम समयमा भने सम्हालिन नसक्दा विगानले एक गोल फर्कायो । समय सकिन पाँच मिनेट बाँकी रहँदा निक पवेलले विगानका लागि गोल गर्दै खेलमा फर्किने सम्भावना जोगाएका थिए । तर थप गोल गर्न नसक्दा टोली रेलिगेसनको दबाब कम गर्ने लक्ष्यमा असफल भयो । ४० अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको विगान सुरक्षित क्षेत्रभन्दा पाँच अंकले पछि छ । 

गत सिजन तेस्रो स्थानमा सीमित हुँदा स्वतः बढुवा हुने मौका चुकाएको ब्राइटन प्लेअफमा पनि पराजित भएपछि च्याम्पियनसिपमै थन्किएको थियो । तर यसपालि भने सही समयमा लगातार पाँच खेलमा जित हासिल गर्दै टोलीले शीर्ष डिभिजनको हैसियत हासिल गर्याे ।
दोस्रो स्थानको न्युक्यासलका लागि सोमबारको दिन झनै निराशाजनक रहयो । शुक्रबार लिड्स युनाइटेडसँग १–१ को बराबरीमा सीमित भएको राफेल बेनिटेजको न्युक्यासल सोमबार इप्सविच टाउनसँग ३–१ ले पराजित भयो । 

न्युक्यासल लगातार असफल भइरहेका बेला रिडिङले भने सोमबार जितका साथ बढुवा सम्भावना जोगाएको छ । दोस्रो हाफमा लेविस ग्राबन र जोन स्विफ्टले गोल गरेपछि पुछारको रोथरह्याम युनाइटेडलाई २–१ ले हराउँदै रिडिङले न्युक्यासलमाथिको दबाब बढाएको थियो । सोमबारको नतिजापछि रिडिङले युक्यासलसँगको दूरी ६ अंकमा घटाएको छ । 
 

प्रकाशित: ६ वैशाख २०७४ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App