८ वैशाख २०८१ शनिबार
खेल

जितबाट वेंगरलाई राहत

मिडल्सब्रो – एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरेपछि  इङ्लिस प्रिमियर लिगमा आर्सनलले मिडल्सब्रोलाई सोमबार राति २–१ ले पराजित गरेको छ । 

आर्सनलले पछिल्लो खेलको तुलनामा प्रभावशाली खेल खेल्ने प्रयास गरेको थियो । अवे मैदानमा लगातार चौथो हारबाट जोगिएपछि दबाबमा रहेका आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई राहत मिलेको छ । 

सान्चेजले ४२औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ५०औं मिनेटमा अल्भारो नेग्रेडोले घरेलु मैदानमा गोल गर्दै मिडल्सब्रोलाई १–१ को बराबरीमा ल्याएका थिए । 

नेग्रेडोको गोलबाट मिडल्सब्रो सिजनमा पाँचांै जित हासिल गर्ने लक्ष्यमा अगाडि देखिएको थियो । तर ओजिलले ७१औं मिनेटमा गोल गर्दै मिडल्सब्रोको लक्ष्यलाई पूरा हुन दिएनन् । 

जितपछि ५७ अंकका साथ छैटौं स्थानमा कायम आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा ७ अंकले पछि छ । मिडल्सब्रो २४ अंकसहित १९औं स्थानमा छ । मिडल्सब्रोलाई हराएपछि आर्सनलले आगामी सिजन युरोपमा खेल्ने सम्भावना कायमै राखेको छ । ‘शीर्ष चारमा रहने गणितीय सम्भावना अझै बाँकी छ,’ आर्सनलका प्रशिक्षक वेंगरले भने, ‘हामीलाई थाहा छ । हामीले जित्नुपर्ने आवश्यकता छ । अब हामीले एफए कपका लागि छोटो विश्राम लिँदै छौं । त्यसपछि हामी पुनः लिगमा फर्कने प्रयास गर्छौंं ।’

एफए कपको सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीसँग आइतबार खेल्दै छ । वेंगरले पछिल्ला हारबाट सिक्दै टोलीमा ६ परिवर्तन गरिएको बताए । प्रशिक्षक वेंगरले शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने लक्ष्यका पूरा गर्न आगामी खेल जित्नैपर्नेमा जोड दिएका छन् । जारी सिजनको लिगमा टोलीले सात खेल खेल्न बाँकी छ । पछिल्लो समयका कमजोर नतिजाका कारण २१ वर्षदेखि प्रशिक्षकका रुपमा आर्सनलको नेतृत्व गरिरहेका वेंगरको लन्डनमा भविश्य अन्योलग्रस्त बनेको थियो । 

‘हामीले सबै खेल जिते शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्न सक्छौं । सिजनको अन्तिममा हामी तीव्र गतिमा आउनुपर्छ र बलियो रूपमा लिगको अन्त्य गर्नुपर्छ,’ वेंगरले भने, ‘हामी त्यो गर्न सक्छौं । मिडल्सब्रोसँग पराजित भएको भए हामी लक्ष्यभन्दा टाढा रहने थियौं । तर हामीसँग अझै सम्भावना बाँकी छ ।’ जारी लिगमा वेंगरले करियरकै कठिन अवस्थाको सामना गर्नु परिरहेको छ । वेंगरले थपे, ‘हो मैले केही गर्नु परिरहेको छ । जुन मैले पछिल्लो २० वर्षमा गरेको थिइनँ । तर म अझ केही परिवर्तन गर्न सक्छु ।’

प्रकाशित: ६ वैशाख २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App