७ वैशाख २०८१ शुक्रबार
कला

पूरा भयो ‘रोमान्स’ गर्ने छुल्ठिमको सपना

काठमाडौं– फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’ चरित्रमा अभिनय गरेर दर्शकमाझ चिनिएकी नायिका छुल्ठिम डोल्मा गुरुङले सो फिल्म रिलिजलगत्तै अभिनयबाट सन्यास लिएको घोषणा गरेकी थिइन् । तर, फिल्म नखेल्ने आफ्नो घोषणामा छुल्ठिम एक वर्षभन्दा बढी टिक्न सकिनन् । रिलिजको संघारमा रहेको फिल्म ‘डायरी’मा छुल्ठिम अभिनेत्री मात्र होइन, निर्मात्रीका रुपमा पनि अगाडि आउँदैछिन् । 

कुनै समय फिल्म क्षेत्रबाटै विदा लिने सोच बनाएकी छुल्ठिम मंगलबार भने आफ्नो सपना पूरा भएको भन्दै दंग थिइन् ।  अभिनेता दयाहाङ राईका अधिकांश फिल्म हलमै गएर हेर्ने यी अभिनेत्रीको सपना थियो, तिनै दयाहाङसँग रोमान्स गर्ने ।  मंगलबारै घोषणा गरिएको नयाँ फिल्म ‘नेप्टे’मा दयाहाङकै जोडी भएर अभिनय गर्न पाउने भएपछि छुल्ठिमको सपना पूरा भएको थियो । औपचारिक कार्यक्रममै उनले यसको खुलासा गरिदिइन् । ‘दयाहाङसँग काम गर्ने ठूलो सपना थियो, आज पूरा भयो । मेरा लागि योभन्दा ठूलो खुशी अरु केही छैन’ छुल्ठिमले कार्यक्रममा भनिन् ।

कलाकार तथा निर्माता रोहित रुम्बाले निर्माण गर्न लागेको यो फिल्मको कथा मन परेर नै आफूले अभिनयको स्विकृति दिएको छुल्ठिमले बताइन् । 
आगामी जेठबाट सुटिङका लागि फ्लोरमा जाने फिल्मको निर्देशन देवकुमार श्रेष्ठले गर्दैछन् । उनले ‘नेप्टे’ हेपिएको शब्द जस्तो लागे पनि मायाले बोलाउँदा यही नाम राम्रो सुनिने भएकाले यसैमाथि रहेर फिल्म बनाउन लागेको बताए । ‘फिल्मले जुझारु युवाको कथा प्रस्तुत गर्नेछ , जसले परिवार, गाउँ, समाज र देशका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका हुन्छन्,’निर्देशक श्रेष्ठले भने, ‘फिल्मले विदेशमा बस्ने युवाले देखाउने देशप्रेमलाई पनि प्रस्तुत गर्नेछ ।’ फिल्मले सामाजिक विषयवस्तु उठान गर्ने भएकाले पनि दर्शकले मन पराउने उनले बताए । श्रेष्ठ निर्देशित फिल्म ‘लालटिन’ जेठमा प्रदर्शनको तयारीमा छ । फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई छन् । 

अभिनेता राईले फिल्म ‘मेरो एउटा साथी छ’को सुटिङका क्रममा विल्सनविक्रम राई र रोहित रुम्बासँग इलाम यात्रामा रहँदा फिल्ममा सँगै काम गर्ने कुरा भएको बताए । ‘त्यो फिल्मपछि लुटलगायतका फिल्ममा अभिनय गरियो । फरक किसिमको फिल्ममा अभिनय गर्ने बानीले गर्दा पनि रोहितजीसँग सहकार्य हुन सकेको थिएन । यसपटक चाहिँ काम गर्ने मौका मिल्यो,’उनले भने, ‘फिल्मको कथा मन परेकाले मलाई नेप्टे बन्न मन लाग्यो ।’

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पछिल्लो समयमा सामाजिक फिल्मप्रति फिल्मकर्मीको ध्यान गइरहेकोमा खुशी व्यक्त गर्दै नौलो कथाका फिल्मलाई दर्शकले रुचाउने बताए । 

आर रोशाफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सामाजिक कमेडी प्mलेबरको फिल्ममा दया र छुल्ठिमसँगै रोहित रुम्बा, माला लिम्बु, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई, बाबु बोगटी, जयकिशन बस्नेत, जयनन्द लामा, उत्तम केसीलगायतका कलाकारको अभिनय रहनेछ ।

धम्पुसमा छायांकन हुने फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, दिनेश पाख्रिन र कविराज गहतराजको नृत्य, बाबु बोगटी, रोहित रुम्बा, सन्तोष राज र ओम सुनुवारको संगीत, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन र हरि घले लामाको छायांकन हुनेछ ।

प्रकाशित: ६ वैशाख २०७४ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App