coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभावको चपेटामा ट्राफिक प्रहरी

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा अभावले घेरिँदै गएपछि काठमाडौं उपत्यकाको  ट्राफिक व्यवस्थापन अप्ठेरोमा परेको छ । ट्राफिक व्यवस्थापनका लागि चाहिने पूर्वाधार र जनशक्तिको अनुपलब्धताले काठमाडौं उपत्यकामा घन्टौं ट्राफिक जामको समस्या बढेको छ । 

लामो समयसम्मको जामले सवारी साधनको आवागमन प्रभावित हुने गरेकाले सहर नै अस्तव्यस्त बनेको छ । निश्चित समयभित्र गन्तव्यमा पुग्न र फर्कन नपाइँदा जनजीवन आकुलव्याकुल छ ।

उपत्यकाका प्रमुख चोकहरू कलंकी, थापाथली, नयाँ बानेश्वर, गौशाला, चाबहिल र कोटेश्वर क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुँदै आएको छ । ट्राफिक प्रहरीसँग आवश्यक र पर्याप्त जनशक्ति, अत्याधुनिक प्रविधिसहितको साधनस्रोतको कमी छ । यिनै अभावका कारण उपत्यकाको ट्राफिक व्यवस्थालाई सामान्य बनाउन नसकिएको महाशाखाका प्रमुख तथा  डिआईजी मिङमार लामाले बताए । ‘ट्राफिक प्रहरीसँग व्यवस्थापकीय स्रोतसाधनको अभाव छ,’ उनले भने, ‘सडकको नाजुक अवस्था र साँघुरो संरचनाले सडक व्यवस्थापन कठिन भएको छ । सरोकारवाला निकायबीच समन्वयको कमीले पनि समस्या थपेको छ ।’

जीर्ण सडक तथा लथालिंग फुटपाथ, अदृश्य लेन तथा जेब्राक्रस, दुर्लभ ओभरहेड ब्रिज, फ्लाइओभर, सब–वे, अण्डरग्राउन्ड पास, बिकामे सडकबत्ती, अव्यवस्थित ढल, स्टेरिङमा बस्ने बित्तिकै गन्तव्यसम्म पुग्ने चालकको हतारोले ट्राफिक व्यवस्थापनलाई थप असहज बनाएको ट्राफिक प्रहरी अधिकारीहरूको बुझाइ छ ।

अर्थमन्त्रालयले पुग्ने गरी बजेट उपलब्ध नगराउँदा व्यवस्थापनमा चुनौती बढिरहेको छ । महालेखापरीक्षक कार्यालय काठमाडौंको ५४ औं वार्षिक प्रतिवेदनले ट्राफिक व्यवस्थापन प्रभावकारी नहुनुमा सरोकारवालाबीच समन्वयको अभावलाई चिह्नित गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा रहेका सिसी क्यामेराको सञ्चालन र रेखदेख असरदार नभएको औंल्याउँदै नियन्त्रणकक्षबाटै अनुगमन तथा नियन्त्रण गर्न सकिने तरिकाले सिसी क्यामरा सञ्चालन गर्न निर्देशन दिएको छ । अपराध नियन्त्रण र प्रमाण संकलन गर्ने भरपर्दो उपकरण सिसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामेरा मात्र यथेष्ठ नहुने हुँदा ट्राफिक व्यवस्थापन तथा अपराधसम्बन्धी अनुसन्धान गर्न अप्ठेरो परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिले उपत्यकाका तीन जिल्लामा तीन सय ७ वटा सिसीटिभी छन् । ‘उपत्यकाको ट्राफिक अवस्था र अपराधको तथ्यांकलाई हेर्दा अहिले रहेका क्यामेराले थेग्दैन,’ डिआईजी लामाले भने, ‘उपत्यकालाई  व्यवस्थित गर्नका लागि ५ हजारभन्दा बढी सँख्यामा शक्तिशाली क्यामेरा आवश्यक पर्छ  ।’ सडक विभागले उपलब्ध सडक पूर्वाधारलाई मर्मतसम्भार तथा नयाँ निर्माण एवम् जडान नगर्दा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन धान्न मुस्किल भएको महाशाखाले जनाएको छ ।

काठमाडौंको २० स्थानमा राखिएका ट्राफिक लाइटमध्ये ३ वटा मात्रै सञ्चालनमा छन् । कौशलटार, गठ्ठाघर र सल्लाघारीमा मात्र ट्राफिक लाइटले काम गरिरहेको छ । अन्य स्थानका ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् । ट्राफिक लाइट मात्रै होइन, आवश्यक जनशक्ति नहुँदा पनि ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको डिआईजी लामाले बताए । महालेखा परीक्षकको कार्यालयले प्रशासन पुनःसंरचना आयोग, २०६५ को सुझाबअनुसार काठमाडौं उपत्यकामा २ हजार ट्राफिक प्रहरी हुनुपर्नेमा अहिलेसम्म त्यसअनुसार दरबन्दी कायम नभएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र मातहतका कार्यालयमा दश हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी छ । अस्थायी रुपमा स्थापना भएका १३ समेत ३६ ट्राफिक प्रहरी इकाईमा काजमा रहेका गरी ११ हजार ९९ प्रहरी कर्मचारी कार्यरत छन् ।

प्रतिवेदनमा हाल कायम रहेको दरबन्दीबाट सवारीसाधनको व्यवस्थापन प्रभावकारी नहुने भएकाले पर्याप्त जनशक्ति व्यवस्थापन गरी उपलब्धिमूलक कार्यसम्पादनमा जोड दिइएको छ । ‘क्षमताभन्दा धेरै सवारीसाधन व्यवस्थापन गर्दा तुलनात्मक रुपमा थोरै सँख्यामा रहेका ट्राफिक प्रहरीमाथि धेरै दबाब सिर्जना हुन्छ, जसले ट्राफिक व्यवस्थापनमा नै गम्भीर चुनौती देखापर्ने समस्या छ,’ ट्राफिक ईन्जिनियर आशिष गजुुरेलले भने, ’जतिसक्दो बढीभन्दा बढी प्रविधिको जोरजाम आवश्यक छ ।’ यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२–७३ मा बाग्मती अञ्चलमा ९ लाख २२ हजार ९ सय सवारीसाधन  दर्ता भएका छन् । काठमाडौं उपत्यकामा सडकको लम्बाइ १ हजार ५ सय ९४ किलोमिटर छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा १ हजार ८५ ट्राफिक प्रहरी मात्रै कार्यरत छन् । महालेखापरीक्षकको कार्यालयले सडक विभागसंँग समन्वय हुन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या रहँदै आएको जनाएको छ । रोडफर्निचर सहितको व्यवस्थित सडक नहुँदा मुख्य सडक तथा चोकमा बढी जनशक्ति परिचालन गर्नुपर्ने बाध्यता छ । रोड फर्निचरमा डिभाइडर,  मार्किङ, जेब्राक्रस, लेनबारलगायत पर्छन् । यसले गर्दा ट्राफिक व्यवस्थापनको लागत बढेको छ । महालेखापरीक्षकको कार्यालयले रोड फर्निचरसहितको व्यवस्थित सडक बनाएर जनशक्ति र समयको बचत गर्दै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएको छ ।

प्रकाशित: ६ वैशाख २०७४ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App