८ वैशाख २०८१ शनिबार
राजनीति

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेलामा मिति पछि नसर्ने प्रस्ट पारेका छन् । 

‘अब हाम्रो डेस्टिनेसन आइसक्यो,’ निर्वाचन तयारीबारे मंगलबार साँझ पत्रकारसँग अन्त्तर्क्रिया अन्त्तर्क्रिया  गर्दै यादवले भने, ‘अब द्विविधाको कुरा छैन ।’

आयोगले निर्वाचन सामग्री ट्रकमा राखेर पठाइरहेको र सामान प्याकिङ गरिरहेको हेर्न समेत आमन्त्रण गर्दै यादवले वैशाख ३१ को चुनाव निश्चित भएको बताए । आफूसहित आयोगका पाँचै पदाधिकारी, सचिवसहित सरोकारवाला निकायका पदाधिकारीसहित आयोजना गरिएको अन्त्तर्क्रियामा उनले ढुक्कै भने, ‘अब द्विविधाको कुरै छैन ।’

‘केको लागि द्विविधा ?’ उनले प्रतिप्रश्न गरे, ‘निर्वाचन आयोगको काममा केही कतै शंका छ भने भन्नुहोस् । मतपत्र, मतदाता नामावली, मतदाता परिचयपत्र छापिइसक्यो, मसी आइसक्यो । सबै सामग्री प्याकिङ हुँदैछ । सामान निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काममा छौं । अब पनि शंका गर्नुहुन्छ ?’

उनले यसअघि सम्पन्न निर्वाचनमा पनि यस किसिमका द्विविधा देखिए पनि निर्वाचन कार्यक्रम नरोकिएका उदाहरण यादवले बेलिविस्तार लगाए । २०६४ सालको निर्वाचनमा मधेसमै ५० वटा मधेसी दलमात्र होइन, भूमिगत दलसमेत हुँदा पनि निर्वाचन सम्पन्न भएको उनले सम्झना गरे । त्यो बेला सहमतिका लागि समानुपातिकको बन्द सूची मनोनयनको मितिसमेत सारेको उल्लेख गरे । 
‘त्यति बेला ६३ प्रतिशत मतदान हुँदा सबै छक्क परे,’ उनले भने, ‘त्यति बेला पनि निर्वाचन हुन्छ भनेर कसैलाई विश्वासै थिएन । हामी त्यति बेला भन्थ्यौं, हेर्दै रहनुहोला, जनता आउँछन् ।’

उनले निर्वाचनमा जनता आउनेमा विश्वस्त तुल्याए । अहिले केही दलमा द्विविधा हुनु स्वाभाविक भए पनि यसअघि जस्तै निर्वाचन सम्पन्न हुनेमा उनी ढुक्क देखिए । उनले भने, ‘निर्वाचनको अन्तिम मितिसम्म दलीय द्विविधाको कुरा रहिरहन्छ । २०७० सालको निर्वाचनमा पनि भएको हो । त्यो बेला कात्तिक २५ देखि आम हडतालको कुरा गरिएको थियो । त्यति बेला पनि हामीले निर्वाचन गराएको हो । त्यति बेला पनि ७१.१ प्रतिशत मतदान भयो ।’

लोकतन्त्रमा असहमतिलाई स्वाभाविक मान्नुपर्ने आग्रह गर्दै प्रमुख आयुक्त यादवले भने, ‘असहमति हुँदैमा निर्वाचन हुँदैन भन्ने छैन ।’ 

दलीय असहमति भए पनि मतदाताको मतदान गर्ने अधिकारमा कसैले अवरोध पुर्याउन नहुने उनले बताए । अवरोध पुर्याउने काम रोक्न सुरक्षा निकाय रहेको समेत उनले खुलाए । उनले भने, ‘सरकारले हामीलाई अहिलेसम्म विश्वस्त तुल्याएको छ– मतदातालाई सुरक्षित तरिकाले मतदान गर्ने वातावरण बनाउने जिम्मा हाम्रो हो ।’

आयोगले पटकपटक सुरक्षा निकायसँग कुरा गरेको र सुरक्षा योजना लिएर विश्वस्त भएको पनि उनले बताए । ‘विश्वस्त नभएका भए हामी यत्रो अर्बौं रुपैयाँ खर्च गर्ने थिएनौं,’ उनले भने, ‘निर्वाचनबाट अमूल्य उपलब्धि हुनेछ ।’

‘निर्वाचनमा कतै अवरोध छैन,’ यादवले भने, ‘मानसिक रुपमा मात्र हामी अवरोधी भएका छौं ।’
तराई–मधेसमा निर्वाचन हुन नसक्ने अवस्थामा जबर्जस्ती गर्दा तत्कालीन राजा ज्ञानेन्द्रले २०६२ मा गराएको स्थानीय निकायको निर्वाचन जस्तो हुने हो कि भन्ने प्रश्नमा उनले भने, ‘हामीभित्रको अलमल अहिले मात्र होइन, विगतदेखिकै हो । त्यसैले ज्ञानेन्द्रले जस्तो निर्वाचन गराउन लागेको भनेर निर्वाचन आयोगलाई निरुत्साहित नगरिदिनुहोला । हामी उत्साहित भएर ८० प्रतिशतभन्दा पनि बढी मतदान होस् भन्ने चाहेका छौं ।’

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ट्विटले निर्वाचनको वातावरण भाँडिएको हो कि भन्ने जिज्ञासामा उनले आयोगको गम्भीर ध्यानाकर्षण भएको र त्यसको अविलम्ब प्रतिकार पनि गरेको बताए । ‘गृहमन्त्रीलाई पनि सचेत गराएका छौं,’ उनले भने, ‘निर्वाचनको वातावरण बनिरहेका बेला महत्वपूर्ण निकाय गृहमन्त्रीजस्तोले मध्यरातमा यस किसिमको अभिव्यक्ति दिँदा शंका हुनु स्वाभाविक हो । त्यसका लागि निर्वाचन आयोगको तर्फबाट अभिव्यक्ति दिइसकेका छौं । उहाँहरूले पनि आफ्नो तर्फबाट माफी मागिसक्नुभएको छ । हामी त्यसै कुरामा लागिराख्ने हो कि निर्वाचन गराउने ? त्यस्ता सानातिना कुरा आइरहन्छन् ।’

आयोग अन्य कुरामा भन्दा पनि निर्वाचन सम्पन्न गर्ने दिशामा मात्र केन्द्रित रहेको यादवले स्पष्ट पारे । ‘अहिले हामी अर्जुन दृष्टि लिएर हिँडिरहेका छौं– वैशाख ३१ गतेको दिन निर्वाचन हुन्छ,’ उनले भने, ‘मतदाता निर्वाचन गर्न जान्छन् । हामी अहिलेसम्म सुरक्षित किसिमले अघि बढिरहेका छौं ।’

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा पनि यसप्रति आशंकाको वातावरण आउनुमा आयोगलाई निर्वाचन मिति तोक्न नदिने परिस्थितिसमेत जिम्मेवार भएको उनले संकेत गरे । आयोगलाई मिति तोक्ने अधिकार नदिइएको र मिति सार्ने अधिकार पनि आयोगलाई नभएको यादवले बताए । सरकारले आफूखुसी निर्वाचन मिति सार्न नसक्ने उनले बताए । ‘निर्वाचन मिति सार्ने काम आयोगलाई मान्य हुँदैन,’ उनले भने ।

प्रकाशित: ६ वैशाख २०७४ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App