coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वी पहाडमा स्थानीय चुनावः उम्मेदवार छान्ने उत्साह

उम्मेदवार छनौटका लागि मंगलबार इलामको सूर्याेदय नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको भेलामा सहभागीहरू आफ्नो दलका उम्मेदवार सिफारिस गर्न छलफल गर्दै । तस्बिरः भीम चापागाईं

इलाम– वैशाख ३१ को स्थानीय तह चुनाव नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्लाका बासिन्दा आफ्ना उम्मेदवार छान्ने महŒवपूर्ण र ‘अन्तिम’ कसरत गरिरहेका छन् । प्रत्येक राजनीतिक दलका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला आउँदो चुनावका लागि उम्मेदवार तय गर्न गाउँ–गाउँ र टोल–टोलसम्म पुगेका छन् ।

इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभाका राजनीतिक दलले ढिलोमा आउँदो १० गतेसम्ममा आफ्ना उम्मेदवार चयन गर्ने जनाएका छन् ।

गाउँ तहका दल र स्थानीय पनि आफ्ना उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन उत्साही देखिएका छन् भने सक्रिय सहभागिता जनाइरहेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभाका राजनीतिक दलले ढिलोमा आउँदो १० गतेसम्ममा आफ्ना उम्मेदवार चयन गर्ने जनाएका छन् । दलहरूले वडाध्यक्ष र वडा सदस्यसम्मका पदमा जिल्ला तहमै उम्मेदवारको अन्तिम टुंगो लगाउँदै छन् । गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरका प्रमुख–उपप्रमुखको उम्मेदवारीको अन्तिम टुंगो भने सम्बन्धित दलका प्रदेश तहका समितिले लगाउने छन् । प्रदेश तहमा पनि मिल्न नसकेको विवाद भने केन्द्रमा जानेछ ।

वैशाख १७ सम्ममा उम्मेदवारको नाम मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदाता र दलहरू उम्मेदवार छान्ने अन्तिम कसरतमा जुटेका हुन् । तर, करिब २ दशकसम्म चुनाव नहुँदा नेतृत्व ‘जाम’ भएर बसेकाले सबै दलमा उम्मेदवारका आकांक्षीको लर्काे लामै छ । चैत २४ गते नै उम्मेदवारको अन्तिम टुंगो लगाउने दाबी गरेका दलले समेत आकांक्षीको संख्या बढी भएकाले सिफारिसको अन्तिम निर्णय गर्न भने सकेका छैनन् ।

इलामस्थित नेकपा एमाले बिहीबारसम्ममा वडा, गाउँपालिका र नगरपालिकाका उम्मेदवारको टुंगो लगाउने योजनामा छ । एमाले जिल्ला सचिव महेश बस्नेतले वैशाख ७ सम्ममा स्थानीय तहका उम्मेदवार छानिसक्ने बताए । ‘७ गतेसम्ममा जिल्लाका ६ वटै गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा ४ नगरका प्रमुख–उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरिसक्छौं,’ बस्नेतले भने, ‘अहिले प्रत्येक वडामा छलफल चलिरहेको छ भने केही वडामा उम्मेदवारको टुंगोसमेत लागिसकेको छ ।’ एमालेले मंगलबार रातिसम्म जिल्लाका सबै नगरपालिका र गाउँपालिका प्रमुख–उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाउने प्रयास भइरहेको जनाएको छ ।

नेपाली कांग्रेसले चुनावका लागि नगर र गाउँ–गाउँमा उम्मेदवार छनौटका लागि ‘गम्भीर आन्तरिक छलफल’ गरिरहेको छ । चैत २५ भित्रै उम्मेदवारको नाम टुंगो लगाउने योजना रहेपनि आकांक्षी धेरै देखिएपछि कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । ‘चैत २५ मै सबै उम्मेदवार सिफारिस गरिसक्ने योजना थियो, त्यसपछि २७ गतेभित्र गरिसक्ने प्रयास ग¥यौं । तर, सकिएको छैन,’ कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानले भने, ‘आउँदो ८ गतेसम्ममा सिफारिस गरिने उम्मेदवारको नाम टुंग्याउने प्रयासमा छौं ।’ कांग्रेसले पनि चुनावका लागि सबै वडामा उम्मेदवार छान्न छलफल चलाइरहेको छ ।

नेकपा माओवादी केन्द्रले इलाम नगरपालिकाको प्रमुखमा एकजनाको नाम सिफारिस गर्ने टुंगो लगाएको छ । केही वडाध्यक्षका उम्मेदवारको नाम पनि ‘लगभग टुंगो लगाएको’ माओवादीले अन्तिम नामावली सिफारिस गर्न अझै समय लाग्ने जनाएको छ । चैत २४ मै उम्मेदवारको नाम टुंगो लगाइसक्ने योजना बनाएको माओवादीभित्र पनि आकांक्षीको लर्काे लामो भएकाले छनौटको समय लम्बिएको हो । माओवादी जिल्ला इन्चार्ज धिरेन शर्मा रमणले अहिले सबैभन्दा बढी छलफल र बहस उम्मेदवारकै विषयमा भइरहेको बताए । ‘केहीदिनभित्र सबै टुंगो लाग्छ,’ उनले भने, ‘आफैंले जित्ने ठाउँमा एक्लै र नजित्ने ठाउँमा कुनै न कुनै दलसँग मिलेमतो गरेर अघि बढ्ने रणनीतिमा छौं ।’

४ नगर र ६ गाउँपालिका रहेको जिल्लामा १७ दलले निर्वाचन आयोगमा विवरण अध्यावधिक गराएका छन् । तर, त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा र नेकपा माले आफ्नो दलकै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा आउन पाउने छन् । आउँदो चुनावमा जिल्लाका ८१ वडाबाट ४ सय २५ उम्मेदवार निर्वाचित हुनेछन् ।

६० वडा, १ गाउँपालिकासहित ७ गाउँपालिका रहेको पाँचथरका राजनीतिक दल पनि उम्मेदवारको नाम टुुंगो लगाउने अन्तिम कसरतमा छन् ।

नेकपा एमालेले ७ गतेसम्ममा उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गर्ने तयारी गरेको छ । एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारीले मंगलबार बेलुकासम्म कुनै पनि उम्मेदवारको नाम सर्वसम्मत नभएको बताए । ‘सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवार छान्न छलफल र अन्तरिक कसरत भइरहेको छ,’ उनले भने, ‘७ गतेसम्ममा जिल्लाबाट प्रदेशमा नाम सिफारिस गरिसक्छौं, १० गते अन्तिम नाम सार्वजनिक गर्ने तयारी छ ।’ मंगलबारसम्म उम्मेदवारको नाम छान्नकै लागि दर्जनौंपटक बैठक र छलफल भइसकेको उनले जनाए ।

नेपाली कांग्रेसले पनि पनि उम्मेदवारको नाम सिफारिसका लागि सबैतिर छलफल चलाइरहेको छ । कांग्रेस जिल्ला सचिव वीर्जहाङ आङ्देम्बेले केही वडामा सहमतिमै वडाध्यक्षको नाम आएपनि नगरका प्रमुख–उपप्रमुख र गाउँका अध्यक्ष–उपाध्यक्षमध्ये कुनैमा सहमति हुन नसकेको बताए । ‘कुनैमा २ र कुनैमा ५ जनासम्मले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको आकांक्षा देखाएका छन्,’ सचिव आङ्देम्बेले भने, ‘७ गतेसम्ममा सबै उम्मेदवारको नाम टुंग्याउने योजनामा थियौं तर त्यो दिनसम्ममा छनौट गर्न सकिएलाजस्तो छैन ।’ उनले आकांक्षीको संख्या धेरै भएकाले मिहिन ढंगले कसरत गर्नुपरेको बताए ।

माओवादी केन्द्रले उम्मेदवारको नामलाई अन्तिम रूप दिन नसकेको जनाएको छ । उम्मेदवारको विषयमा छलफल भइरहेको र ७ गतेसम्ममा टुंगो लगाउने माओवादी जिल्ला सहइन्चार्ज विशाल रसाइलीले बताए । ‘सबै वडा, गाउँ र नगरमा छलफल भइरहेको छ,’ उनले भने, ‘कतिपय वडाध्यक्षको नाम सर्वसम्मत रूपमा आइसकेको छ तर प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षका इच्छुक धेरै भएकाले कसैको नाम सिफारिस गर्न सकेका छैनौं ।’ पाँचथरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नेकपा मालेले आफ्नो चुनाव चिह्नमा लड्न पाउने छन् ।

ताप्लेजुङस्थित नेपाली कांग्रेसले जिल्लाका सबै स्थानीय तह (१ नगरपालिका र ८ गाउँपालिका)का उम्मेदवारको नाम सोमबार प्रदेश समिति सिफारिस गरेको छ । ताप्लेजुङ नगरपालिका प्रमुखका लागि ३ र उपप्रमुखका लागि २ जनाको नाम पठाएको कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिमले बताइन् । ८ गाउँपालिकामध्ये ४ वटाको अध्यक्ष पदमा कांग्रेसले पार्टीबाट सहमतिमै नाम सिफारिस गरेको छ । ‘वडाध्यक्षका धेरै उम्मेदवारको नाम पनि पार्टीबाटै सिफारिस भएको छ,’ उनले भनिन्, ‘७ गतेसम्ममा प्रदेशबाट नाम अन्तिम टुंगो लगाएर सार्वजनिक गर्नेछौं ।’

नेकपा एमालेले ताप्लेजुङ नगरपालिकाबाट ५ जनाको नाम सिफारिस गरेको जनाएको छ । ८ मध्ये ६ वटा गाउँपालिकाका प्रमुखको नाम पनि पार्टीले सर्वसम्मत छानिसकेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । ‘बाँकी २ गाउँपालिकामध्ये एउटामा ५ र अर्काेमा २ जनाको नाम सिफारिस गरिएको छ,’ उनले भने, ‘वडाहरूमध्ये धेरैमा अध्यक्षका उम्मेदवार सर्वसम्मत छानेका छौं, केहीमा १ भन्दा बढीको नाम आएको छ ।’ उनले आउँदो ८ गते जिल्ला कमिटी बैठक बसेर उम्मेदवारको अन्तिम नाम सार्वजनिक गर्ने बताए ।

नेकपा माओवादीले ताप्लेजुङ नगर प्रमुख र उपप्रमुखमा १–१ जनाको नाम प्रदेशमा सिफारिस गरिसकेको छ । माओवादीले गाउँपालिकाहरूका प्रमुख, उपप्रमुखहरूको नाम पनि सर्वसम्मत रूपमा छानिसकेको माओवादी कार्यालय सचिव सुरज ओझाले बताए । उनले भने, ‘वडाध्यक्षसहित सबै उम्मेदवारको नाम ९ गतेसम्ममा टुंग्याउने छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कुनै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । ‘पार्टीमा उम्मेदवारका आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न गम्भीर बहस र छलफल चलाइरहेका छौं,’ राप्रपा पूर्वकेन्द्रीय सदस्य अमिर मादेनले भने, ‘१० गतेसम्ममा उम्मेदवार टुंगो लगाइसक्छौं ।’ ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै आफ्नो चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

पहाडी जिल्लाका सर्वसाधारण पनि लामो समयपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी हुन र आफ्ना उम्मेदवार चुन्न लागिपरेका छन् । इलाममा बसोबास रहेको लोपोन्मुख लाप्चा समुदायका अगुवा पनि आफ्नो निकट दलका उम्मेदवार छान्न कस्सिएका छन् । ‘लामो समयपछि चुनाव हुन लागेको छ, भोट हाल्न मात्र होइन, राम्रा उम्मेदवार छान्न पनि दललाई सघाइरहेका छौं,’ नेकपा एमालेले उम्मेदवार छनौटका लागि मंगलबार इलामको सूर्याेदय नगरपालिकामा आयोजना गरेको भेलामा सहभागी लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लाप्चाले भने, ‘आफ्नो कुरा सुनिदिने उम्मेदवार छान्न पाइयो भने हाम्रा समस्या पनि बुझिदेलान् भनेर आएको ।’


 

प्रकाशित: ५ वैशाख २०७४ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App