७ वैशाख २०८१ शुक्रबार
समाज

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलकाे प्रतिबद्धता

बाजुरा– जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्लास्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिका कुनै अर्थमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन्।

निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना सार्वजनिक भएको र आसन्न निर्वाचनमा पनि प्रयोग हुन सक्ने भन्दै लिखित प्रतवद्धता जनाएका हुन्। विगत अवस्थालाई मध्यनजर गर्दै आसन्न निर्वाचनमा बालबालिका प्रयोगलाई पूर्णरुपमा निषेध गर्न राजनीतिक दलहरूबाट प्रतिबद्ध गराइएको बालकल्याण समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

बालबालिकाको प्रयोग रोक्न प्रभावकारी अनुगमन संरचनासमेत निर्माण गरेको अनुगमन समिति संयोजक एवं महिला विकास अधिकृत कमला शाहीले बताइन्। अनुगमनलाई प्रभावकारी बनाउने महिला विकास अधिकृत कमला शाहीको संयोजकत्वमा २२ सदस्यीय स्थानीय निर्वाचन बालअधिकार अनुगमन समिति गठन गरिएको छ।

‘निर्वाचनमा बालबालिकाको प्रयोग भए सुरुमा सम्बन्धित दल वा प्रतिनिधिलाई सचेत गराउँछौं,’ शाहीले भनिन् । प्रतिबद्धतापत्रमा कांग्रेसका तर्फबाट उमा रोकाया, एमालेका बिनोद विक, राप्रपाका प्रकाश विक र नयाँ शक्तिका नवराज जोशीलगायत जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

दलका प्रतिनिधिले हस्ताक्षर गरे पनि प्रतिबद्धता तोड्न सक्ने सम्भावना रहेकाले अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा बालअधिकारका क्षेत्रमा कार्यरत संस्था पीसविन परियोजना अधिकृत प्रदीपराज जैशीले बताए । बाल बालबालिका प्रयोग गरे, सम्बन्धीत दललाई कारवाही गर्नु पछ,जिल्ला बालअधिकार मञ्चका अध्यक्ष शेरबहादुर रावलले बताए ।

निर्वाचनका क्रममा बालबालिकालाई प्रचारप्रसारका लागि पर्चा पम्पलेट तथा पोष्टर टाँस्न नलगाउन, जुलुस र्यालीमा सहभागी नगराउन दलका प्रतिनिधिलाई भनिएको छ। यस्तै, उनीहरूलाई कुनै पनि सामग्री ओसारपसार, कलाकार, सभासम्मेलनमा सहभागी नगराउने, एकअर्का्विरुद्ध जासुसी गराउने वा सूचना आदानप्रदानमा बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धतामा जनाइएको छ ।

प्रकाशित: ५ वैशाख २०७४ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App