काठमाडाैं– राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा विलय भएकाे छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाे अायाेजना गरी लेखीकाे पार्टी सद्भावनामा विलय भएकाे हाे।
दुबै पार्टीले उक्त मेललार्इ 'एकीकरण' भनेकाे भए पनि लेखी नेतृत्वकाे पार्टी मिसिएपछि पनि उक्त पार्टीकाे नाम र चुनाव चिन्ह सद्भावना पार्टीकै रहने भनी गरिएकाे निर्णयबाट लेखीकाे पार्टी सद्भावनामा विलय भएकाे प्रष्टिएकाे हाे।
पार्टी विलय भएकाे घाेषणा गरिए पनि सद्भावनामा लेखी र उनी नेतृत्वकाे पार्टीका अन्य पदाधिकारीकाे बरियता र पद के हुने भन्ने अझै खुलाइएकाे छैन।
दुर्इ पार्टीबीच भएकाे १० बुँदे एकता सम्झाैतामा थरूहट राज्य स्थापनाकाे मुद्दा अघि बढाउने, सरकारसँग भएका सम्झाैताहरू कार्यान्वयनका लागि दबाब दिने, संविधान संशाेधन गर्न सरकारलार्इ दबाब दिनेलगायत उल्लेख छ।
यसअघि लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीबीच एकताको लागि पहल गरेकाे थियाे।
लेखीले १३ महिनाअघि २०७२ फागुन २७ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी घोषणा गरेका थिए। त्यसअघि पनि लेखीले राष्ट्रिय नागरिक पार्टी नेपाल गठन गरेका थिए।
समाराेहलार्इ सम्बाेधन गर्दै सद्भावनाका अध्यक्ष महताेले मधेशी र थरूहट शक्ति मिलेर अघि बढ्ने बताए।
'उनले भने, 'चुनावमा जान्छाैं, तर याे अवस्थामा चुनावमा जाँदैनाैं। सरकारलाई भाेट हाल्याैं । तर बेइमान गरे । सीमाकंनसहितकाे विषयमा संविधान संशाेधन नभर्इ चुनाव हुन सक्दैन।'
तस्बिरः दिपेश श्रेष्ठ
प्रकाशित: ५ वैशाख २०७४ ०९:०७ मंगलबार