८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ का नगर आकांक्षीहरु आन्तरिक तयारीमा व्यस्त

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर–२ का महोत्तरी, सप्तरी, सर्लाही र बारा जिल्लाका नगरपालिकामा प्रमुख दलहरू आन्तरिक तयारीमा व्यस्त छन्। नेपालको संविधान–२०७२ जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएका छन्।

प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा छन् । 

 

महोत्तरी

१२ गाउँपालिका र तीन नगरपालिका रहेको महोत्तरीमा स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

जलेश्वर नगरपालिका

कांग्रेसबाट जलेश्वर नगरपालिका प्रमुखमा अशोक साह, शम्भु पाठक, रवीन्द्र पाठक, वरुण मिश्र, रवीन्द्र ठाकुर र बजरंग तिवारीको नाम चर्चामा छ। एमालेबाट माधव मण्डलको नाम आएको छ।  माओवादी केन्द्रबाट विश्वनाथलाल कर्ण, अरविन्द साह, मनोज साह र विक्रु पासवान आकांक्षी  छन्।  फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सुरेश साह सोनारको नाम नगर प्रमुख उम्मेदवारका रूपमा चर्चामा छ।

बर्दिबास नगरपालिका

नगर प्रमुख उम्मेदवारमा कांग्रेसबाट प्रह्लाद क्षेत्री र महेश झाको नाम चर्चामा छ। एमालेका रामअवतार महासेठ र पदमप्रसाद उपाध्याय आकांक्षी देखिएका छन्। माओवादी केन्द्रका राजु खड्का र विदुर कार्कीको नाम अगाडि छ।

गौशाला नगरपालिका

कांग्रेसका तर्फबाट गौशाला नगरपालिका प्रमुखमा रामश्रेष्ठ महतो, मनु अधिकारी, रेखा यादव, विनोद महतो, वीरेन्द्र चौधरी र राजा साहको नाम चर्चामा छ। एमालेका देवेन्द्र गौतम, बाबुराम अधिकारी र सुरेश राउत आकांक्षी छन्। माओवादी केन्द्रबाट शिवनाथ महतोको नाम अग्रपंक्तिमा छ ।

अन्योलबीच चुनावी तयारीमा रहेको महोत्तरी कांग्रेसले संविधान संशोधनमार्फत मधेसी दललाई समेटेर निर्वाचन गराएमा राम्रो हुने जनाएको छ। मधेसी दलबिना महोत्तरीलगायत प्रदेश नं. २ का आठ जिल्ल्ाामा चुनाव सहज नहुने भएकाले उनीहरूलाई सहमतिमा ल्याएर चुनाव गराउँदा उचित हुने कांग्रेस, महोत्तरीका अध्यक्ष महेन्द्र रायले बताए। 

सप्तरी

स्थानीय तह निर्वाचनका लागि मुलुकभर उल्लास देखिए पनि सप्तरीमा खासै माहोल देखिएको छैन।

सदरमुकाम राजविराजलगायत विभिन्न नगरपालिकामा मेयर, उपमेयरलगायतका आकांक्षीले आन्तरिक तयारी  तीव्र पारेका छन्। मधेसी दलबाहेक कांग्रेस, एमाले र माओवादी केन्द्रसँग आबद्ध स्थानीय नेताकार्यकर्ताले टिकटका लागि पार्टीभित्र ‘लबिङ' थालेका छन्।

राजविराज नगरपालिका

मोर्चाको विरोधबीच कांग्रेस नगर समितिले अन्तरक्रिया आयोजना गरी चुनाव रणनीतिबारे छलफल गरेको छ।

कांग्रेसबाट १० जनाभन्दा बढी मेयर तथा उपमेयरका आकांक्षी देखिएका छन्। ‘थुप्रै आकांक्षी छन्, पार्टी राजनीतिमा पुर्‍याएको योगदानका आधारमा दाबी गर्नु स्वाभाविक हो,' राजविराज नगर समितिका सभापति शम्भुलाल देवले भने।

 कांग्रेसबाट राजविराज नगरपालिकाको मेयरमा नगर सभापति देवले आकांक्षा व्यक्त गरेका छन् । शशि माझी, इर्साद अन्सारी, प्रभात ललन, सबिर आजम, सतीसचन्द्र झा, राधाकान्त देव, ध्रुवप्रसाद देव, अनिल देव, प्रदीप यादवलगायत आकांक्षी छन्। उपमेयरमा नीलम कर्ण, बबितादेवी साह र सरिता मण्डलको नाम चर्चामा छ। मेयरमा माओवादी केन्द्रका भागवत यादव, केदार देव, प्रभात सिंहलगायतले इच्छा व्यक्त गरेका छन्। एमालेका कसैले पनि इच्छा जाहेर गरेका छैनन्।

हनुमाननगर–कंकालिनी नगरपालिका

कोसी नदीछेउमै रहेको हनुमाननगरसँग प्रसिद्ध शक्तिपीठ कंकालिनीको नाम जोडेर हनुमाननगर–कंकालिनी नगरपालिका बनाइएको हो। उपसभामुख गंगाप्रसाद यादव, सद्भावना वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, सभासद् रञ्जित कर्ण, अमर मण्डलजस्ता प्रभावशाली नेताको प्रत्यक्ष प्रभाव क्षेत्रका रूपमा यस नगरपालिकालाई हेरिन्छ।  ट्रेड युनियन कांग्रेसका प्रभावशाली नेता उमेश मिश्र, प्रमोद विराजीलगायतले कांग्रेसबाट मेयर पदमा दाबेदारी गरेका छन्। एमालेका सोभितलाल यादव र माओवादी केन्द्रका कृष्णकुमार यादव (क्रिस) को नाम चर्चामा  छ।उपसभामुख गंगाप्रसाद यादवका कान्छा छोरा आकाश यादवले राप्रपाबाट मेयरमा उठ्ने आकांक्षा देखाएका छन् ।

कञ्चनरुप नगरपालिका

 सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने यो नगरपालिकामा  एमाले नेता सुमनराज प्याकुर, पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता, फोरम लोकतान्त्रिकका सांसद डा. सुबोध पोखरेल, पूर्वमन्त्री हेमराज तातैडलगायत प्रभावशाली व्यक्ति स्थायी बासिन्दा हुन्। मेयर पदमा कांग्रेसकी निरु पोखरेल, क्षेत्रीय सभापति ललनप्रसाद गुप्ता, महासमिति प्रतिनिधि जितबहादुर श्रेष्ठलगायतको चर्चा छ। निरु फोरम लोकतान्त्रिकबाट सांसद भएका डा. सुबोध पोखरेलकी पत्नी हुन्। 

मेयरमा एमालेका भुवन केसी, वसन्त मिश्रा, इनरदेव यादव र शिवनारायण साहले दाबी गरेका छन्। माओवादी केन्द्रका ललन मरर (थारु), योगेन्द्र यादव, रामबिहारी राउत, अशोक आचार्य र वंशीधर चौधरी मेयरका आकांक्षी हुन्। राप्रपाका नारायण मिश्रले मेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

शम्भुनाथ नगरपालिका

दोस्रो संविधानसभा चुनावमा कांग्रेसवाट बागी बनेका कांग्रेस सप्तरीका तत्कालीन जिल्ला सचिव सबुरलाल साहले मेयर उम्मेदवारको दाबी गरेका छन्।

मेयरमा एमालेका महेश चौधरी र माओवादी केन्द्रका जुगत चौधरीको नाम चर्चामा छ। चुनावी अन्योल कायम रहेको अवस्थामा खासै तयारी नगरिएको उम्मेदवारको भनाइ छ।

सर्लाही

सर्लाहीका १० नगरपालिका र सात गाउँपालिका गरी १७ स्थानीय तहमध्ये पूर्वपश्चिम राजमार्ग क्षेत्रका ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बरहथवा र बाग्मती नगरपालिकामा नगर प्रमुख बन्न प्रमुख तीनका नेताहरूले पार्टीभित्र ‘लबिङ' थालेका छन्।

लालबन्दी नगरपालिका

लालबन्दीको नगर प्रमुखमा कांग्रेसबाट कुवेर अचार्य, बासु अधिकारी र प्रशान्त अचार्यको चर्चा छ। माओवादी केन्द्रबाट इन्द्र योन्जन, गोविन्द महत र शिवकृष्ण वैद्यको चर्चा छ। एमालेका गोविन्द अधिकारी र बेची लुंगेली आकांक्षी देखिएका छन्।

 हरिवन नगरपालिका

हरिवन नगर प्रमुखमा कांग्रेसबाट रामप्रसाद मैनाली, दिलीपराज भण्डारीको चर्चा छ। माओवादी केन्द्रका कमल बुढाथोकी र अर्जुन पन्त आकांक्षी छन्।  एमालेका डिल्ली उप्रेती, चूडामणि वाग्ले र धनबहादुर जिम्बा मेयर पदका आकांक्षी हुन्।

बरहथवा नगरपालिका

बरहथवाको नगर प्रमुखमा कांग्रेसका नवीन अधिकारी, विगु साह र विनोद खनालको चर्चा छ। माओवादी केन्द्रका देवानन्द महतो र रामबालक रायको चर्चा छ। एमालेका माधव कोइराला, कल्पना कटुवाल र दीपक अमात्य मेयर लड्न आकांक्षी छन्।

ईश्वरपुर नगरपालिका

ईश्वरपुर नगर प्रमुखमा कांग्रेसका मनोज  सिंह, प्रमोद बराल र बेचु तिमिल्सिना आकांक्षी देखिएका छन्। माओवादी केन्द्रका ध्रुव ढकाल र रामपृत रायको नाम आएको छ। एमालेका मनोज केदवकोटा र दिलबहादुर थिङले दाबी गरेका छन् ।

हरिपुर नगरपालिका

हरिपुर नगर प्रमुखमा कांग्रेसमन शेष सहदुल्ला, सुधा चालिसे, उदयनरायण चौधरी आकांक्षी छन्। माओवादी केन्द्रका सुनिला बुढाथोकी र नेक मोहम्दको नाम अगाडि छ। एमालेका जमरुद्दिन अन्सारी र सुरेन्द्र कार्कीले दाबी गरेका छन्।

बागमती नगरापालिका

बागमती नगर प्रमुखमा कांग्रेसका दीपक रानाभाटको नाम चर्चामा छ। माओवादी केन्द्रका केशव ढुंगाना, विनिता दहाल र कुमार तुकसिंहको नाम आएको छ। एमालेका रेवती पन्त, वसन्त भट्टराई, चिरञ्जीवी पोखरेल र विष्णु पुलामीको सम्भावना छ।

बारा

बाराका निजगढ, कोल्वी ,सिम्रौनगढ र महागढीमाई गरी चार नगरपालिकामा मेयरका लागि प्रमुख दलका  आकांक्षीले दौडधुप सुरु गरेका छन्।

निजगढ नगरपालिका

निजगढमा कांग्रेसबाट मेयरमा सुरेश खनाल, पेमासिद्धि लामा, सीता मैनालीलगायतको नाम चर्चामा छ। एमालेका एकबहादुर श्रेष्ठ, यमबहादुर (नारायण) खड्का, सुरथा पुरी,अम्बिका चौलागार्इंलगायत आकांक्षी छन्। माओवादी केन्द्रबाट बेनीबहादुर मोक्तान, रविराज दंगाल, अरुणा विकको चर्चा छ।

महागढीमाई नगरपालिका

महागढीमाईको मेयरमा कांग्रेसबाट उपेन्द्र यादव, विजयशंकर स्वर्णकार, राजेश साह, भुलेन्द्र यादवलगायतको नाम चर्चामा छ।

एमालेबाट मेयरमा ध्रुव साह, राजेन्द्र जैसवाल,राजेश साहलगायतको नाम आएको छ। माओवादी केन्द्रबाट रामबावु यादव र रामचन्द्र साह मेयरका आकांक्षी छन्।

कोल्वी नगरपालिका

कोल्वीको मेयरमा कांग्रेसबाट मेयरमा श्रवण मैनाली, रामप्रसाद चौधरी, सञ्जय चौधरी, वीरेन्द्र चौधरी र रवीन्द्र चौधरीको नाम चर्चामा छ। एमालेका भरत भण्डारी, ढुण्डीराज उप्रेती, त्रिलोकी चौधरी र शिवनारायण चौधरीको सम्भावना छ। माओवादी केन्द्रका देवेन्द्र पराजुली ,छविलाल चौधरीलगायतको चर्चा छ।

सिम्रौनगढ नगरपालिका

सिम्रौनगढको मेयरमा कांग्रेसबाट किशोरी साह, विजयशंकर यादव, मोहनप्रसाद कुशवाहालगायतको चर्चा छ। एमालेका बतहु यादव, रामनिवेश यादवलगायतको आकांक्षी छन्। माओवादी केन्द्रका श्यामकिशोर यादव, ताराचन्द साह र भोजेन्द्र यादवलगायतको चर्चा छ। स्थानीय तह निर्वाचनका लागि बारामा २ सय ९७ मतदान केन्› कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

महेशकुमार दास/महोत्तरी, जितेन्द्रकुमार झा/राजविराज, सन्तोष सिंह/सर्लाही र उपेन्द्र यादव/बारा को सहयोगमा

प्रकाशित: ५ वैशाख २०७४ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App