६ वैशाख २०८१ बिहीबार
कला

धुलोले बेहाल कलाकार

काठमाडौं- आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौं भित्र्याउन राजधानीका सडकमा ढलसँगै खानेपानीका पाइप बिच्छ्याउने काम चलिरहेको छ। अरु बेला ठिकठाकै धुलो उड्ने सडकमा डोजरको प्रयोगले पाइप बिच्छ्याउन थालिएपछि धुलो उड्ने मात्राको सीमा नै छैन। पाइप बिच्छ्याउनकै लागि खनिएका सडक बेलैमा नपुरिँदा दुर्घटनाको जोखिम उत्तिकै छ। अरूझैं मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकार पनि बाटोको धुलोसँगै खाल्डाखुल्डीका कारण पीडित छन्।

धेरै समय अघिदेखि टन्सिलको समस्या व्यहोरिरहेकी नायिका अशिष्मा नकर्मीलाई काठमाडौंको धुलोले निकै पिरोलेको छ। ‘मलाई पहिलादेखि नै टन्सिल थियो। अहिले काठमाडौंको धुलोले समस्या थपिदिएको छ। धुलोले टन्सिलसँगै एलर्जीको मात्रा पनि बढेको छ,' केही समयअघि मात्र फिल्म ‘मेला'को छायांकन सकाएकी आशिष्माले भनिन्,’धुलो र खाल्डोको समस्या मलाई मात्र होइन, देशभरका जनतालाई पनि उत्तिकै छ। हामी केवल उपत्यकालाई मात्र हेर्छौं। सडक बनाउने भनेर बाटो खन्छौं तर समयमै नसक्दा त्यसको असर हामी सबै भोगिरहेका छौं।'

अशिष्माले ढल र खानेपानीका पाइप जडानको काम भन्दै जथाभाबी सडक खन्नाले सडक दुर्घटनामा पर्ने सम्भावना अधिक रहेको बताइन्। ‘कतिखेर कहाँ लडिने हो भन्ने टुंगो छैन। सफा र चिटिक्क परेर हिँड्ने कुरा नसोच्दा पनि हुन्छ। बिहान नुहाएर घरबाहिर निस्कँदा घर पुगेर फेरि नुहाउने चिन्ताले सताउँछ,'उनले भनिन्, ‘स्कुटर चलाउँदा झन् गाह्रो छ। धुवाँ र धुलोबाट जोगिन मुख छोप्ने र चस्मा लगाउने काम गर्नैपर्छ। गर्मी मौसम सुरु भएपछि मुख छोप्दा गुम्सिने सम्भावना बढी हुन्छ।'

नेपालीसँगै नेपाल भाषाका फिल्ममा पनि सक्रिय अशिष्मा यो समयमा नेवारी फिल्म ‘रश्मी'को सुटिङमा व्यस्त छिन्।

सुगम संगीतसँगै पार्श्व गायनमा पनि उत्तिकै सक्रिय गायक युवराज चौलागाई पनि उपत्यकाको धुवाँ, धुलो र बिग्रिएका सडकबाट निकै पीडित छन्। सांगीतिक कार्यक्रममा गीत गाउनकै लागि नेपालका विभिन्न जिल्ला पुगिसकेका यी गायकले ती जिल्लामा देखिएका सडक समस्यादेखि वातावरण प्रदूषणलाई नजिकबाट नियालेका छन्। ‘नेपालका अधिकांश ठाउँमा बाटो लथालिंग छ, ठेकेदारले निश्चित समयमा बाटो बनाइसक्ने भने पनि बेलैमा काम नहुँदा धुलोको समस्याले पीडा थपेको छ,'युवराज भन्छन्, ‘धुलो र धुँवाले घाटीमा असर पारे पनि गीत गाउने पेशा भएकाले धुँवाधुलोबाट सचेत हुन्छु।'

आफ्नै मोटरसाइकलमा यात्रा गर्ने उनी बेलुका भने मोटरसाइकल चलाउँदा समस्या देखिने गुनासो गर्छन्। ‘मोटरसाइकल कुदाउने सडकमा खाल्डाखुल्डी धेरै छन्। बाटो बनाउने ठेकेदारले निश्चित समयमा नबनाउँदा त्यसको असर हामीले भोगिरहेका छौं। राति बत्तीका कारण सडकमा खाल्डाखुल्डी नियाल्न निकै समस्या पर्छ। कहिलेकाहीँ म आफैँ पनि त्यो समयमा दुर्घटनामा परेको छु,'गायक चौलागाईले भने।

हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौला भने  प्रदूषणसँगै सडक समस्याबाट अलिक भिन्न किसिमले पीडित छिन्। ‘पहिला गाडी चढेर हिँड्दा स्वच्छ हावा लिन पाइन्थ्यो, तर अहिले कारमा एसी चलाउनुपर्छ। जसको असर घाँटीमा छिटो देखिन्छ,'केही समयअघि मात्र नयाँ गाडी किनेकी निरौलाले भनिन्, ‘गाडी नयाँ भएको हुँदा बाटोमा कुदाउँदा पनि बिग्रन्छ कि भन्ने डर मनमा रहिरहन्छ। मेलम्चीको पानी र ढल निकासको नाममा बाटो खन्ने कामले घुमफिर गर्नैपर्नेलाई ठूलो असर पारेको छ।'

पहिलाको समयमा कहिँ जानुपर्दा आधा घण्टा अगाडि नै घरबाट निस्कने दीपा हिजोआज दुई घण्टाअगावै घरबाट निस्किसकेकी हुन्छिन्। ‘देशको विकास भएको देख्दा जोकोही पनि खुशी हुन्छन्, तर विकाससँगै मानिसले समस्या भोगिरहेको हेर्दा चाहिँ मन दुख्दोरहेछ,'दीपाले भनिन्, ‘स्कुल जाने विद्यार्थीलाई पनि धुँवा, धुलो र बिग्रिएका सडकले ठूलो समस्या दिएको छ। बाटोले गर्दा नजिकै पुगेर घर फर्किँदा पुरै थाकिन्छ।' आगामी वैशाख १४ गतेबाट फिल्म ‘छक्का पञ्जा २'को सुटिङ सुरु गर्ने तयारीमा रहेकी दीपा फिल्मलाई असोजमा दर्शकमाझ ल्याउँदैछिन्।

लोकगायक पशुपति शर्माले कार्यक्रमका लागि अधिकांश समय उपत्यकाबाहिर नै रहे पनि उपत्यकामा बस्दा  सकस हुने गरेको अनुभव सुनाए।  काठमाडौंको मौसम हरेक कुराका लागि राम्रो भए पनि पछिल्लो समयमा बढ्दो प्रदूषण र बिग्रिएका बाटोले गर्दा जनजीवन अस्तव्यस्त बन्दै गएको उनको बुझाइ छ। ‘काठमाडौंमा रहँदा म मास्कबिना हिँड्दिन। यहाँको वातावरण देखेर कोठाबाहिर निस्कँदा पनि मन आत्तिने गर्छ,'लैनचोर  बस्ने गायक शर्माले भने, ‘गाडी चढ्दा पनि सीसा लगाउनुपर्छ, बाहिर निस्कँदा पनि दुईवटा मास्क अनिवार्य बोक्नुपर्ने अवस्था छ।'

मेलम्चीको पानी काठमाडौं आउने भएपछि बाटो बिग्रिएको अनुभव गरेका गायक शर्माले विकासका लागि गुमाउनु पनि पर्ने बताए। ‘मैले काठमाडौं प्रदूषणयुक्त भयो भन्ने विषयमा गीत नै तयार गर्न लागेको थिएँ, तर मेलम्चीको पानी छिट्टै आउने र त्यसका लागि ढल र पाइप बिच्छ्याउनु पर्ने भएकाले गीत बनाउने काम अहिलेका लागि रोकें। मेलम्चीको पानी काठमाडौंको आवश्यकता हो।'

स्वास्थ्यप्रति खुबै सचेत छन् अभिनेता सबिन श्रेष्ठ। तर, काठमाडौंको प्रदूषणले उनको स्वास्थ्यलाई बारम्बार चुनौती दिँदै आएको छ। ‘हिरो रिटर्न्स'बाट नायकसँगै निर्माता पनि बनेका श्रेष्ठ धुवाँ र धुलोका कारण बारम्बार बिरामी पर्ने गरेका छन्। ‘मलाई पहिलादेखि नै धुवाँधुलोको एलर्जी थियो। अहिले त झन् बढेको छ। बिहान सफा लुगा लगाएर बाहिर निस्किएको दुई घण्टा बित्न नपाउँदै लुगा मैलो देखिन्छ। गाडी लिएर निस्कँदा पनि दुई घण्टामा गाडी नै धुनुपर्ने हुन्छ,' काठमाडौंको बाटो देखेर आजित बनेका सबिनले भने, ‘बाटोको खराबीका कारण दुईपटक त म दुर्घटनामा नै परेको छु, खाल्डोमा परेको गाडीलाई स्थानीयको सहयोगमा निकालेको छु।' प्रदूषण र खराब बाटोका कारण स्वास्थ्यसँगै गाडीको मर्मत खर्च बढिरहेको सबिनले जनाए।

फिल्मदेखि म्युजिक भिडियोको सुटिङमा व्यस्त हुने कलाकार तथा सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन तयार गायकगायिकालाई राम्रो स्वर र अभिनय देखाउनु पर्ने जिम्मेवारीसँगै आफ्नो स्वास्थ्य बचाउने जिम्मेवारी पनि आइलागेको छ।  कलाकारको चिन्ता छ –धुलोमान्डुको नाम पाएको काठमाडौं कहिले पुरानै स्वरूपमा फर्कला?

प्रकाशित: ५ वैशाख २०७४ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App