८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव तोकिएकै मितिमा : आयोग

काठमाडौं- निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिको खण्डन गर्दै स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै हुने गरी तयारी भइरहेको स्पष्ट पारेको छ। आयोगले सोमबार साँझ विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री निधिले सामाजिक सञ्जाल टि्वटमार्फत व्यक्त धारणाले निर्वाचनप्रति आमजनतामा दुविधा उत्पन्न गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न/गराउन आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको र सोअनुसार तयारी भइरहेको अवस्थामा उपप्रधान तथा गृहमन्त्रीले गर्नुभएको टि्वटले आयोगको कामकारबाहीप्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकाले आयोग आश्चर्यचकित भएको छ,' आयोग प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै सम्पन्न गराउने कुरामा विश्वस्त रहन आयोगले आम जनतासमक्ष अनुरोध गरेको छ। 

आयोगले निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य करिबकरिब पूरा भएको जनाएको छ। चुनावका लागि शान्तिसुरक्षा कायम गर्ने/गराउने दायित्व र जिम्मेवारी सरकारको रहेको भन्दै आयोगले सरकारबाट पटकपटक आश्वस्त पारेको पनि स्पष्ट पारेको छ।

निर्वाचनसँग सम्बन्धित ऐन निर्माणपछि आयोगबाट नियमावली र निर्देशिकाहरू तर्जुमा गरिसकिएको विज्ञप्तिमा जनाइएको छ। आयोगले भनेको छ, ‘मतदाता परिचयपत्र छपाइ कार्य अन्तिम चरणमा रहेको तथा निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ६० लाख थान मतपत्र जनक शिक्षा समाग्री केन्द्रबाट छपाइ भइरहेको छ।' आगामी बिहीबारभित्र सम्पूर्ण मतपत्रको छपाइ कार्य पूरा हुने र विभिन्न प्रकारका निर्वाचन सामग्री जिल्लामा पठाउने कार्य ३ गतेदेखि सुरु भइसकेको जानकारी आयोगले दिएको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई दिइने अभिमुखीकरण तालिम विभिन्न सात ठाउँमा सम्पन्न गरी ३ गते देखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगले जनाएको छ। आयोगले वैशाख १२ गतेसम्म प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। 

प्रकाशित: ५ वैशाख २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App