काठमाडौं- उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार रातिको टि्वट विवादमा परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन्।
निधिले ‘अंग्रेजी भाषामा गरिएको टि्वटको मूल आशय आन्दोलनरत मधेसी मोर्चासँग वार्ताका माध्यमबाट निर्वाचनको वातावरण बनाउन आवश्यक छ भन्ने रहेको' प्रस्ट्याएका छन्। ‘हाल स्थानीय तहको निर्वाचनका लागि मधेस केन्द्रित दलबीच सहमति र समझदारी नबनेको सन्दर्भमा वार्ता र संवादद्वारा निर्वाचनको वातावरण बनाउनु आवश्यक छ,' निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचन आयोगले चुनाव तयारी तथा सरकारले सुरक्षा तयारी राम्रोसँग गरिरहेको तर त्यति नै पर्याप्त नरहेको निधिले बताएका छन्। ‘निर्वाचनमा दलहरुको सहभागिता पहिलो सर्त हो,' उनले भनेका छन्।
आइतबार अबेर गरेको उनको टि्वटमा चुनावका लागि निर्वाचन आयोग र सरकारको सुरक्षाको तयारी मात्रै पर्याप्त नहुने उल्लेख थियो। सो टि्वटको चर्को आलोचना भएको थियो।
प्रकाशित: ५ वैशाख २०७४ ०१:५६ मंगलबार