coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

घटाउनुपर्छ दुई पुस्ताको दूरी

अनिल यादव/सृजना खड्का

एक जना वृद्ध एक दिन मोबाइल मर्मत गर्ने पसलमा पुगेर भने, ‘बाबु, मेरो मोबाइल बिग्रेजस्तो छ, हेरिदेऊ न ।’ मोबाइलमा समस्या थिएन । ‘सब ठीकठाक छ, केही पनि बिग्रेको छैन,’ टेक्निसियनले जवाफ फर्कायो । त्यसपछि ती वृद्धले उदास आवाजमा भने, ‘त्यसो भए मेरो छोराछोरीको फोन किन आउँदैन त ?’

सामाजिक सञ्जालतिर छाइरहने यो एउटा प्रचलित चुट्किला हो । तर, यो सामान्य चुट्किला मात्र होइन । यसले हाम्रो समाजको कटु यथार्थ बोल्छ । अहिले गाउँ–शहर जताजतै वृद्ध–वृद्धा कुरा गर्ने मान्छेको खोजीमा हुन्छन् । तर, कोही उनीहरूसँग संवाद गर्न तयार हुँदैन । उनीहरूसँग रमाउन रमाउन चाहँदैन । ‘यसको मुख्य कारण पुस्तान्तर अर्थात् जेनरेसन ग्याप हो,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘पुरानो पुस्ता नयाँ पुस्तासँग निकटता र  आत्मीयता खोज्छ । नयाँ पुस्ता भने आधुनिकता र आफ्नै दुनियाँको रमाइलोमा भुलेको छ । दुई पुस्ताको बीचमा ज्ञानको खाडल हुनु स्वाभाविक हो । तर, यहाँ त सम्बन्ध, निकटता, संवाद, अन्तरक्रिया सबैमा खाडल छ ।’

के हो जेनरेसन ग्याप ?
दुई फरक–फरक पुस्ताबीच विश्वास, मूल्य–मान्यता, जीवनशैली, दर्शन, राजनीतिलगायत विषयमा देखिने र हुने अन्तरलाई सामान्यतया जेनरेसन ग्याप भनिन्छ । अझ प्रष्टसँग भन्नुपर्दा युवा पुस्ता र उसको अभिभावक, हजुरबा–हजुरआमाबीच देखिने अन्तर नै जेनरेसन ग्याप हो ।
किन हुन्छ त जेनरेसन ग्याप ? ‘यसमा शिक्षा र प्रविधिको प्रभाव हुन्छ, ’ समाजशास्त्री  डा. गणेशमान गुरुङ भन्छन्, ‘अहिले दिनदिनै नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ, नयाँ–नयाँ ज्ञान उत्पादन भइरहेका छन् । पुरानो पुस्ताको दृष्टिकोण पुरानो ज्ञान र पुरानो प्रविधिमा आधारित हुन्छ । तर, नयाँको दृष्टिकोण नयाँ ज्ञान र नयाँ प्रविधिको आधारमा निर्माण भइरहेको हुन्छ । यसरी फरक समयमा फरक ढंगले दृष्टिकोण निर्माण हुने भएपछि कुरा नमिल्नु त स्वाभाविकै हो ।’
मेरै कुरा ठीक, मेरै समय राम्रो
हामीकहाँ एउटा पुस्ताले अर्को पुस्तालाई स्वीकार गर्न सकिरहेको छैन । अभिनेता पल शाहकै उदाहरण लिन सकिन्छ । उनी घरमा आमाबा सबैसँग साथीको जस्तै व्यवहार गर्छन् । खुलेर प्रस्तुत हुन्छन् । ‘तर, यही कुरा अभिभावकलाई पचिरहेको हुँदैन,’ पल भन्छन्, ‘उहाँहरू ‘पहिले–पहिले हामी त आमाबासँग बोल्नै डराउँथ्यौँ, अहिलेका केटाकेटीलाई त केही मतलब छैन’ भन्दै कुरा गर्नुहुन्छ । उहाँहरूको समयमा जे भयो, त्यो अहिले पनि हुनुपर्छ भन्ने उहाँहरूको चाहना हुँदोरैछ ।’

झापा, दमकका प्रवीण पौडेललाई उनका अभिभावक डाक्टर बनाउन चाहन्थे । तर, उनको रुचि त्यतातिर थिएन । उनी सिर्जनात्मक विधामा रुचि राख्थे । ‘आमाबाको करकापमा पढेँ,’ उनी भन्छन्, ‘इन्टर्नसिप पनि गरेँ । तर, मेडिकल काउन्सिलको परीक्षामा फेल भएँ । बाउले ‘किन फेल भइस् ?’ भनेर सोध्दा  सीधै भनिदिएँ, ‘मसँग डाक्टर बन्ने क्षमता थिएन ।’ यसरी मेरो सातआठ वर्ष खेर गयो । अहिले आट्र्समा मास्टर्स गरिरहेको छु ।’

अभिभावको दबाबमा आफ्नो रुचि नभएको विषय पढ्न बाध्य छोराछोरी धेरै छन् । ‘खासमा आमाबाउ आफूले गर्न चाहेको या बढी प्रभावित भएको तर गर्न नसकेको कुरा छोराछोरीले पूरा गरून् भन्ने चाहन्छन्, चाहे त्यो क्षमता या इच्छा सन्तानमा होस्÷नहोस्,’ समाजशास्त्री डा. गुरुङ भन्छन्, ‘यो जेनरेसन ग्यापले निम्त्याएको ठूलो समस्या हो ।’
उनका अनुसार मान्छे जति बुढो हुँदै जान्छ, उति नै नयाँ काम र नयाँ सिर्जना गर्न नसक्ने हुन्छ । ‘त्यसपछि आफूले विगतमा गरेका पौरखपूर्ण काममा ऊ गौरव गर्न थाल्छ,’ गुरुङ भन्छन्, ‘तर, नयाँ पुस्तासँग त त्यसको अनुभव छैन । ऊ त अहिलेको संसारमा बाँच्न चाहन्छ । पुरानो पुस्ता पुरानो काममा रमाउन चाहन्छ भने यता नयाँ पुस्ता आज र भोलिको कुरामा तल्लीन हुन्छ । दुवै पुस्तालाई ‘मेरै कुरा ठीक, मेरै समय राम्रो’ भन्ने लागेर यो जेनरेसन ग्याप देखिएको हो ।’

टुक्रिँदैछ परिवार
भक्तपुरका कृष्ण थापाका छोरा १५ वर्षअघि अध्ययनको सिलसिलामा अस्ट्रेलिया गएका थिए । कृष्णलाई लागेको थियो– छोरोले पढाइ सिध्याएर अलिकति कमाएपछि घर फर्कन्छ । ‘ऊ त अहिले घर आउने कुरै गर्दैन, ’ कृष्णले दुःख पोखे, ‘हाम्रो कुरै सुन्दैन । हाम्रो जमानामा त लभसभ भन्ने पनि त्यति हुँदैनथ्यो । उसले त उतै केटी हेरिसकेछ । बुढेसकालको सहारा होला भनेको छोरा उतै बस्ने भो । ’

खासमा अहिले धेरै घरहरूमा कृष्णको जस्तो समस्या छ । हजुरबुबासँग बुबाको र बुबासँग छोराको विचार नमिल्दा सबै एक–अर्कासँग छुट्टिएर बस्न थालेका छन् । जेनरेसन ग्यापकै कारणले संयुक्त परिवार धमाधम एकल परिवारमा परिणत भइरहेका छन् । यसमा सहमत छन्, पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्य । भन्छन्, ‘छोराछोरीहरू हजुरबा÷हजुरआमासँग बस्न चाहँदैनन् । किनभने, उनीहरूको कुरै मिल्दैन । सबै आ–आफ्ना स्पेस खोज्छन् । म त भन्छु, पुस्तान्तरमा छोराछोरीको जति ठूलो हात छ, आमाबाबुको पनि उत्तिकै छ । आमाबाबु आफैँ छोराछोरीलाई पढाउन विदेश पठाउँछन् । र, पछि आफैँ छोराछोरीले अंगे्रजी बोल्यो भनेर गुनासो गर्छन् । उनीहरू आफैँ छोराछोरीलाई ठूलो मान्छे बनाउने भन्दै अमेरिका र युरोप पठाउँछन् र फर्किएर नआएपछि छोराछोरी ठूला भए भनेर आफैँ चित्त दुखाउँछन् । यो गजबको विरोधाभास हो ।’

समाजशास्त्री डा. ऋषिकेशराज रेग्मी पनि पुस्तान्तरका कारण परिवारहरूमा विखण्डन आइरहेको बताउँछन् । ‘अहिले आमाबाउ एउटाभन्दा बढी सन्तान जन्माउँदैनन्,’ उनी भन्छन्, ‘त्यही सन्तान पछि आर्थिक कारणले विदेश जान्छ । पढ्न भनेर विदेश जान्छ । उता पुगेपछि उसलाई आउन मनै लाग्दैन । त्यसपछि दुईटा पुस्ताबीच ग्याप त हुने नै भयो । ’

अभिभावकको अतीत मोह
‘हाम्रो पालामा त यस्तो थियो, अहिले त के हो के हो !’

प्रायः  घरमा पुरानो पुस्ताले बोल्ने भाषा हो यो । खासमा अभिभावक आफ्नो अतीत बिर्सन चाहँदैनन् । उनीहरूमा अतीतको मोह यति धेरै हुन्छ कि उनीहरू अहिलेको वर्तमान पुस्ता पनि त्यसमै रमाओस् भन्ने चाहन्छन् । अभिनेता सलोन बस्नेतलाई पनि यस्तै लाग्छ । ‘मैले ‘होस्टेल’ फिल्म खेल्दासम्म पुराना पुस्ता नयाँ पुस्तालाई पेल्न खोज्थे,’ उनले भने, ‘खासमा पुराना फिल्ममेकर्स पुराना कलाकारले जसरी काम  गर्थे, हामीले पनि त्यसरी नै गर्नुपर्छ भन्ने चाहन्छन् । केहीमा परिवर्तन भेटिए भने पनि पुस्तान्तरका कारण यो समस्या त हुँदोरैछ । उनीहरूमा अतीत मोह त हुँदोरैछ ।’

डिजिटल पुस्ता र अखबार पुस्ता
पहिलेको पुस्ता अखबारमात्र पढ्थ्यो, पुस्तकमात्र पढ्थ्यो । उसले ज्ञान आर्जन त्यहीँबाट गथ्र्यो । तर, अहिलेको पुस्ता फर्वार्ड भइरहेको छ । प्रविधिको फड्कोसँगै उनीहरू आफूलाई अघि बढाइरहेका छन् । ‘अहिलेको द्वन्द्व भनेको डिजिटल पुस्ता भर्सेस अखबार पुस्ताको हो,’ काठमाडौँ, जोरपाटीका मधुसुदन घिमिरे भन्छन्, ‘तन्नेरीहरू मोबाइल, ल्यापटप, इमेल र इन्टरनेटमा चौबिसै घण्टा लपक्कै टाँसिएका हुन्छन् । र, त्यहाँ जे–जे सिक्छन् त्यही–त्यही फलो गर्छन् । हाम्रो जमाना त अखबार र पुस्तकालयको जमाना हो । त्यो जमानालाई पनि यो पुस्ताले स्वीकार गर्न सक्नुपर्छ भन्ने लाग्छ ।’
शिक्षाविद् विद्यानाथ कोइराला प्रविधिको विकाससँगै अहिलेको पुस्ता आफूभन्दा ठूलासँग संवाद गर्र्नै नचाहने बताउँछन् । ‘अभिभावक उनीहरूबाट सिक्न चाँहदैनन्, छोराछोरी सिकाउन चाहँदैनन्,’ उनले भने ।

मुख्य समस्या असमझदारी
जेनरेसन ग्यापको मुख्य कारणमध्ये एक हो, असमझदारी । एउटा पुस्ताले अर्को पुस्ताको अस्तित्व नस्विकार्दा असमझदारी उत्पन्न हुने गर्छ । बालअधिकारकर्मी विपना शर्माका अनुसार आमाबाउले छोराछोरीको समयअनुसार चल्न नसक्दा, परिवर्तनलाई सजिलै स्वीकार गर्न नसक्दा समस्या हुन्छ । ‘छोराछोरीले पनि अभिभावकप्रति आवश्यक सम्मान दर्शाउन नसक्दा र अनावश्यक आधुनिक हुन खोज्दा पनि द्वन्द्व हुने गर्छ,’ उनी भन्छिन् । उनी पुस्ताबीचको असमझदारीकै कारण आफूले बालविवाह विरुद्धको अभियानमा काम गर्दा थुप्रै तीता अनुभूति बटुलेको बताउँछिन् । ‘हामीकहाँ माउभन्दा चल्ला जान्ने भन्ने उखान निकै प्रचलित छ,’ उनी भन्छिन्, ‘त्यही कारण बालविवाह रोक्न तराईतिर जाँदा थुप्रै चोटि कुचोले लखेटे । उनीहरूलाई बालविवाह गलत हो भन्ने थाहा हुन्थ्यो । तर, भुराहरूले भनेको कसले मान्छ ? भन्दै अटेर गर्थे । यो समस्या पनि जेनरेसन ग्यापकै कारणले हो ।’ विपनालाई लाग्छ– अहिलेको पुस्ता वैज्ञानिक तरिकाले सोच्छ । ‘तर, हामीकहाँ अहिले पनि सानाले ठूलालाई सिकाउन हुँदैन भनिन्छ,’ उनी भन्छिन्, ‘बुबाआमा र छोराछोरीमा हुने ‘कम्युनिकेसन ग्याप’ ले गर्दा पनि यो समस्या देखापरेको हो । अहिलेका अभिभावकलाई छोराछोरीको कुरा सुन्ने फुर्सद नै हुँदैन । आफ्ना सन्तानबारे थाहा पाउन छिमेकीको सहारा लिनुपर्छ । यसरी पुस्ताबीच एउटा खाडल पैदा भइरहेको हुन्छ ।’

आनीबानीले समस्या
काठमाडौँ, चाबहिलका सुरज लम्साल सधैँ रातको १२ बजे सुत्छन् । उनका आमाबा आठै बजे सुत्छन् । उनीहरू बिहान चारै बजे उठ्छन्, उनी भने ९ बजेसम्म बेडमै हुन्छन् । आमाबा नुवाइधुवाइ गरेर, पूजापाठ गरेर मात्र चिया खान्छन् । सुरजलाई पनि चिया उनको खाटमै पुग्नुपर्छ । ‘रातभरि इन्टरनेटमा काम गरिरहेको हुन्छु,’ उनले भने, ‘बाआमा राति ढिलो सुत्यो, बिहान अबेर उठ्यो भनेर बित्थामा रिसाउने गर्नुहुन्छ । अब हाम्रो जेनरेसन उहाँहरूको जस्तो त कहाँ हुन्छ र ? त्यो त उहाँहरूले पनि बुझ्नुप¥यो नि ।’
समाजशास्त्री डा. गुरुङ जेनरेसन ग्यापका कारण मान्छेको जीवनशैली, दैनिक व्यवहार र आनीबानीमा फरक हुने बताउँछन् । ‘हाम्रो पुस्ता मही र मकै खान्थ्यो, अहिलेको पुस्ता कोक र पिज्जामा रमाउँछ, अब यो परिवर्तनलाई अस्वीकार गर्नुको विकल्प नै छैन,’ उनले भने ।

समाधान के ?
समाजशास्त्री डा. गुरुङको घरमा प्रत्येक दिन छलफल हुन्छ । ‘डाइनिङ टेबल’ उनीहरूको छलफल थलो हो । जहाँ परिवारका हरेक सदस्य खुलेर आफ्ना कुरा राख्छन् । दिनभरिका घटना बताउँछन् । ‘यसले परिवारमा एक–अर्कालाई बुभ्mन मद्दत गरिरहेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले जतिसक्दो धेरै परिवारमा संवाद र सञ्चार हुन आवश्यक छ । यसो भयो भने पुस्तान्तरको समस्या कम हुँदै जान्छ ।’ जेनरेसन ग्यापलाई कम गर्न अभिभावक र छोराछोरीले पालन गर्नुपर्ने एउटै नियम देख्छन् उनी । ‘‘मै सही, मेरै कुरा सही’ भन्ने हठ दुवै पुस्ताले त्याग्नुपर्छ,’ डा. गुरुङ भन्छन् ।


लेखक कर्ण शाक्य जेनरेसन ग्याप कम गर्ने उपाय यसरी सुझाउँछन्, ‘आमाबाबुले छोराछोरीलाई उनीहरूको आँखाबाट हेर्न, कानबाट सुन्न र मनबाट मनन गर्न जरुरी छ । त्यस्तै, छोराछोरीले पनि आमाबाबुको आँखाबाट हेर्न, कानबाट सुन्न र मनबाट मनन गरेमा बिस्तारै दुई पुस्ताबीचको खाडल कम हुँदै जान्छ ।’
‘सम्बन्ध टाढिँदो छ’
प्रा.डा. विद्यानाथ कोइराला

शिक्षाविद्
हाम्रोमा अहिले जेनरेसन ग्यापको समस्याले बिजोक बनाएको छ । केटाकेटी/तन्नेरीहरू मोबाइल, ल्यापटप, इमेल र इन्टरनेटसँग लपक्कै टाँसिएका छन् । आफूभन्दा ठूलासँग आजकालका केटाकेटी कुरै गर्न चाहँदैनन् । अभिभावक उनीहरूबाट सिक्न चाहँदैनन् । अनि, केटाकेटी आमाबाउलाई सिकाउन चाहँदैनन् ।
पुस्तान्तरकै कारण नयाँ पुस्ताको समाजसँगको सम्बन्ध पनि टाढिँदै गएको छ । उनीहरूले बढी चिने भने आफ्ना साथीहरूलाई चिन्छन् । आफ्ना नातागोता र छिमेकीलाई उनीहरूले बिर्सिसके ।
आजका केटाकेटी मेरो गर्लफ्रेन्ड÷ब्वाइफ्रेन्ड भन्दै घरमा लिएर जान्छन् । यो कुरा उनीहरूका लागि सामान्य हुन्छ । आमाबाबुका लागि त्यही कुरा अपाच्य हुन्छ भने हजुरबा÷हजुरआमाले त्यो कुरा फुटेको आखाँले पनि देख्न सक्दैनन् ।
अहिलेको पुस्ताको खाने, सुत्ने, बोल्ने सबै कुरा पहिलाको पुस्ताको भन्दा फरक छ । पहिलाका पुस्ता छिट्टै सुतेर बिहान सबेरै उठ्ने खालका हुन्थे भने अहिलेका केटाकेटी रातको एक बजेसम्म माबाइल र इन्टरनेटमा झुण्डिएर बस्छन् । बिहान नौ  बजेसम्म सुत्छन् । यस्तै कुराहरूले परिवारमा द्वन्द्वको वातावरण सिर्जना गर्छ ।

मैले मेरो नातिलाई ‘गोलोगालो अण्डा पुलिसको डण्डा’ भन्दै ‘क’ सिकाएको थिएँ । उसले मलाई ‘हजुरबा पहिला ‘एस’ लेख्नुस्, अनि ‘टी’ लेख्नुस् ‘क’ भैहाल्यो नि भनेर उल्टै पढायो । अब म उसका अगाडि लद्दु भएँ । मैले सिकेको कुरा अब काम लागेन । उनीहरू हरेक कुरा आइप्याड र युट्युबमा हेर्छन् । उनीहरू अंग्रेजीमा बोल्छन्, बुढाबुढीलाई अंग्रेजी बोल्न आँउदैन । यसले भाषाको ग्याप पनि निकै देखिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा यस्ता विषयको खाडल पुर्नका लागि धेरै प्रयासहरू हुँदै आएको पाइन्छ । जापानमा बुढाबुढीको सेवा गरेर नम्बर पाउने ‘रिसर्च वर्क’हरू दिन्छन् । यसले त्यो ग्यापमा पुलको काम गर्छ । हामीले पनि त्यो ग्यापलाई पुर्ने कोसिस गर्नुपर्छ । ठूलाले भनेको मान्नैपर्छ भन्ने मान्यता हटाउनुपर्छ । ज्ञानवान्लाई मान्ने, एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्नुपर्छ । त्यस्तै, केटाकेटीले पनि ठूलाको सम्मान गर्नुपर्छ ।
(कुराकानीमा आधारित)
‘खुला संवाद आवश्यक छ’

नेहाराज्यलक्ष्मी शाह

जेनेरेसन ग्याप कम गर्ने पहिलो र अन्तिम उपाय नै मलाई कुराकानी हो जस्तो लाग्छ । एकअर्काको जीवनमा भइरहेको कुरालाई एकापसमा ‘सेयर’ गर्ने हो भने सम्बन्धमा कहिलै तनाव हुन्छ जस्तो लाग्दैन । साम्राज्ञी र मेरो सम्बन्ध पनि यस्तै ‘सेयरिङ’ले जोडेको छ । उसलाई चाहिएको बेलामा म उसको साथी पनि बनिदिन्छु र अभिभावक पनि ।

सम्बन्ध कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा दुइटा बाटा हुन्छन्, नियन्त्रण गर्ने वा विश्वास गर्ने । अहिलेको पुस्ता नियन्त्रणमा भन्दा पनि विश्वासमा ज्यादा भर पर्छ जस्तो लाग्छ । अभिभावकको रूपमा आवश्यकताअनुसार नियन्त्रण पनि गर्नुपर्ने हुन्छ तर ज्यादा समय चाहिँ विश्वासमा लियो भने नै सजिलो हुन्छ जस्तो लाग्छ । आज साम्राज्ञीले फिल्ममा राम्रो गरिरहेकी छ । कुन फिल्म खेल्ने, कुन नखेल्ने निर्णय गर्ने जिम्मा उसैलाई छाडिदिएकी छु । यही कारणले उसले मलाई सबै कुरा सुनाउँछे । यसरी भएभरका सबै कुरा सुनाउँदा अभिभावकले चाहिएको ठाउँमा सही  सल्लाह पनि दिन्छन् र छोरोछोरीमा पनि विश्वासको वातावरण बन्छ । साम्राज्ञी र मेरो सम्बन्ध सुमधुर हुनमा चाहिँ ‘सेयरिङ’को ठूलो हात छ । पुस्तान्तर कम गर्न खुला संवाद आवश्यक छ ।

‘एकअर्काको भ्यालूको सम्मान गर्नुपर्छ’
साम्राज्ञीराज्यलक्ष्मी शाह
, अभिनेत्री   

आमाबाबु र सन्तानको बीचमा जेनेरेसन ग्याप देखिनुमा मलाई समाज जिम्मेवार छ जस्तो लाग्छ । किनकि, हाम्रो समाज अझै पनि परम्परागत मूल्य र मान्यतामा बाँचेको छ । मेरो मामु चाहिँ ‘मिक्स्ड’ खालको हुनुहुन्छ । पुराना केही मान्यतामा उहाँको समर्थन छ भने नयाँ कुरामा पनि उहाँको समर्थन हुन्छ ।
जस्तो, म सानो उमेरदेखि नै घरबाहिर बसेको हुनाले छोटाछोटा लुगा लगाएर पनि हिँडिदिन्छु । मलाई कम्र्फेटेबल लाग्छ तर ममीलाई लाग्दैन । सुरुसुरुमा यही कुरालाई लिएर हामी दुई जनाको झगडा पथ्र्यो । तर, आजभोलि पर्दैन । मैले मामुको त्यो ‘भ्यालू’ लाई आत्मसात् गरिसकेँ । सकभर छोटा र रिभिलिङ ड्रेस लगाएर हिँड्दिनँ ।  
अनि मामुलाई मैले सुटिङबाहेक अन्त ‘नाइट स्टे’ गरेको मन पर्दैन । बिहान ४ बजेसम्म पार्टी गएर आए पनि हुन्छ तर सुत्न चाहिँ घर नै आउनुप¥यो । म मामुको यो नियमलाई मानिदिन्छु । एकअर्काको ‘कोर भ्यालू’लाई आदर गनुपर्छ ।
मलाई यो ठाउँसम्म ल्याइपु¥याउन मामुको ठूलो योगदान छ । मामुलाई सुरुमा मलाई नर्स बनाउन मन थियो । एसएलसी सकेपछि नर्सको किताब किनेर ल्याइदिनुभएको थियो । पछि मैले नर्स बन्दिनँ भनेर किताब छुँदा पनि छुइनँ । नर्स नबनेपछि ममीले मलाई महिला आर्मी बनाउन खोज्नुभएको थियो । त्यसमा पनि मैले चासो दिइनँ ।
एक दिन मामुसँग हलमा फिल्म हेर्न गएकी थिएँ । हलमा क्लासिक डायमन्डको फेसन शोको अडिसनको सूचना थियो । मामुले त्यही बेला फर्म भर भनेर भन्नुभएको थियो । मैले ‘सिरियस्ली’ लिइनँ । अर्को दिन बाटोमा गइरहँदा फर्म भर्ने स्टल देखेर गाडी रोक्नुभयो र जबर्जस्ती भर्न लगाउनुभयो । अन्नपूर्ण होटलमा अडिसन भएको थियो, त्यहाँ पनि मामुले नै लग्नुभयो । त्यहाँ छानिएपछि मेरो मोडलिङ यात्रा सुरु भयो । त्यसै गरी, फिल्म खेलाउन पनि मामुले बाबा र परिवारसँग सानोतिनो झगडा नै गर्नुभएको छ । पहिलो फिल्म नै राम्रो भएपछि बल्ल परिवारको चित्त बुझ्यो ।
फिल्म क्षेत्रमा थरिथरिका हल्ला चल्छन् । अधिकांशमा सत्यता हुन्न । मामुले यो कुरा बुझ्नुभएको छ । मैले पनि मेरो दैनिकीमा जे हुन्छ मामुलाई भन्ने गरेकी छु ।

(सामीप्यराज तिमल्सेनासँगको कुराकानीमा आधारित)


 ‘मेरो र बाबाको सोच मिल्छ’
अनमोल केसी,
अभिनेता
हरेक मान्छेको सोचाइ फरक हुन्छ, ‘टेस्ट’ फरक हुन्छ । नत्र मान्छेको यति धेरै ‘होरोस्कप’ हुँदैनथ्यो । मेरो र बाबा (अभिनेता भुवन केसी) कै कुरा गर्ने हो भने, हामी फरक फरक टेस्टको फिल्म हेर्छौं तर अन्त्यमा कुनै चिजको निष्कर्षमा पुग्नुपर्दा हामी दुवैको विचार मिलिरहेको हुन्छ । फिल्म मेकिङमा बाबाको अनुभव धेरै छ । यस मामिलामा मेरो उहाँसँग तुलना हुन सक्दैन ।
बाबा र मेरोबीच जेनरेसन ग्याप खासै देख्दिनँ  म । कतिपय कुरामा त बाबा मभन्दा अगाडि हुनुहुन्छ । जस्तो, ड्रेसअपको कुरा गरौँ । बाबाको ‘ड्रेस सेन्स’ एकदमै ‘योङ’ छ । एकदुई वर्षअघि त बाबुछोरा पालो गरी–गरी लुगा लगाउँथ्यौँ । आजभोलि मेरो उचाइ बढेर ठीक हुन छाड्यो ।
बाबा र मेरो उमेरमा फरक भए पनि सोचमा छैन । त्यही भएर म सबै कुरा बाबालाई भन्छु । नमिल्ने कुरा चाहिँ हाम्रो स्वभाव नै हो । बाबा अलि बोल्ने खालको हुनुहुन्छ, पार्टीसार्टी जान मन पराउनुहुन्छ । सबलाई थाहा छ, उहाँका गर्लफ्रेन्ड पनि धेरै छन् तर म ठीक उल्टो छु । कम बोल्छु, ‘रिजभ्र्ड’ छु ।

(नागरिक परिवारबाट)

प्रकाशित: ४ वैशाख २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App