coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२४ सै घन्टा स्वास्थ्का लागि खतरा

काठमाडौं- असोजयता उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ। नेपाल सरकारले उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ भनेर तोकेको छ। तर, उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेकेा तथ्यांक छ। औसतभन्दा प्रदूषण मात्रा बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ।

चैतको सुरुदेखि नै उपत्यकामा भइरहेको छिटफुट वर्षा र हावाहुरीले प्रदूषण घटाउन मद्दत पुगेको देखिन्छ। तर चैतका ३१ दिनमा सात दिनमात्रै राष्ट्रिय मापदण्ड हाराहारीमा प्रदूषणको मात्रा घटेको देखिन्छ। बाँकी २३ दिन भने मापदण्ड माथि पुगेको तथ्यांक छ।

पुष, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले  मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषणको सकस भोग्नपर्‍यो। राष्ट्रिय मापदण्डभन्दा दोब्बर प्रदूषणको मात्रा त उपत्यकाको हावामा २४ सै घन्टा रह्यो।

फागुनमा छिटफुट परेको वर्षा र चैतमा छिटफुट भन्दा केही बढी भएको वर्षाले हावामा भएको प्रदूषणमा केही कमी आए पनि चैत अन्तिममा आएर भने प्रदूषण मात्रा ह्वातै बढेको तथ्यांकले देखाएको छ।

वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाका डेढ दर्जन ठाउँमा प्रदूषण मापन उपकरण राखेर गरेको अनुसन्धान तथ्यांकले यस्तो देखाएको हो।

वर्षाको पानीले हावामा भएका आँखाले ठम्याउन नसक्ने धुलोका कण भिजाउँछ। यस्ता कण भिजेपछि गह्रुँगो भई जमिनमा बस्न आउने हुँदा प्रदूषण घट्ने वातावरणविद्को भनाइ छ। उनीहरूका अनुसार चैत– वैशाख हुरीको समय भएकाले हुरीले हावामा भएका मसिना कणलाई उडाएर लैजाँदा पनि प्रदूषणमा कमी आउँछ।

चैतको सुरुदेखि नै उपत्यकामा भइरहेको छिटफुट वर्षा र हावाहुरीले प्रदूषण घटाउन मद्दत पुगेको देखिन्छ। तर चैतका ३१ दिनमा सात दिनमात्रै राष्ट्रिय मापदण्ड हाराहारीमा प्रदूषणको मात्रा घटेको देखिन्छ। बाँकी २३ दिन भने मापदण्ड माथि पुगेको तथ्यांक छ।

सरकारको मापदण्ड पिएम २.५ को मात्रा चौबिसै घन्टा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने भए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने पिएम २.५ को मात्रा २५ तोकेको छ। चैतमा डब्लुएचओको मापदण्डभित्र उपत्यकाको हावा एक दिनमात्र परेको छ। चैत २६ मा उपत्यकाको हावामा पिएम २.५ को मात्रा २३ माइक्रोग्राम प्रतिघनमिटर मापन भएको थियो। चैत २६ पछि भने हावामा प्रदूषण क्रमशः बढ्दै गएको तथ्यांक छ (तथ्यांक हेर्नुस् )। २७ गते उपत्यकाको हावामा २४ सै घन्टा ६० माइक्रोग्राम प्रतिघनमिटर, २८ गते २४ सै घन्टा १०४ माइक्रोग्राम प्रतिघनमिटर, २९ गते १२५ र ३० गते १२८ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो। २४ सै घन्टा पिएम २.५ को मात्रा १२८ रहनु अन्त्यन्तै खतरानाक भएको वातावरणविद् भुषण तुलाधरले बताए। ‘यो तथ्यांक त उपत्यकाको सरदर हो,’ उनले थपे, ‘चाबहिल, चक्रपथ, रत्नपार्कजस्ता ठाउँमा योभन्दा धेरै छ।’ यस्तो अवस्था हँुदा पनि सरकारले केही गर्न नसकेको गुनासो तुलाधरको छ।

फागुनका ३० दिनमध्ये २०, २८, २९ र ३० गतेबाहेक सबै दिन सरकारको मापदण्डभन्दा माथि हावामा प्रदूषण रह्यो। चार दिन वर्षा भएका कारण प्रदूषण घटेको दृष्टि समूहका सदस्य अजय श्रेष्ठले बताए। यसैगरी माघका २९ दिनमा एक दिनबाहेक २४ सै घन्टा मापदण्डभन्दा पाँच गुणासम्म हावा प्रदूषित थियो। दृष्टिले गत असारबाट अनुसन्धान थालेको हो। कात्तिकयता पानी परेको एक दुई दिनबाहेक अन्य सबै दिन हावामा प्रदूषणको मात्रा औसतभन्दा दोब्बर, तेब्बरदेखि पाँच गुणासम्म बढी मापन गरिएको तथ्यांक छ। पाँच गुणासम्म बढी प्रदूषण भने प्रायः बिहानको समयमा भएको दृष्टि काठमाडौंका श्रेष्ठले जनाए।

बाहिरी कारण पनि कारक

चैतको अन्तिम साता ह्वातै प्रदूषण बढ्नुलाई वातावरणविद्ले उपत्यका बाहिरको कारणलाई कारक मानेका छन्। ‘पानी पनि परिरहेको छ, हावा पनि चलिरहेको छ,’ दृष्टि समूहका श्रेष्ठले भने, ‘तर प्रदूषण भने बढ्यो, यो चाहिँ उपत्यकाको भन्दा पनि बाहिरबाट भित्रिएको प्रदूषणका कारण हुन सक्छ।’

वातावरण मन्त्रालयको वातावरण विभागका प्रदूषण शाखा प्रमुख शंकरप्रसाद पौडेल पनि चैतको अन्तिम साता ह्वातै प्रदूषण बढ्नुमा केही बाहिरी कारण रहेको स्वीर्काछन्। ‘घट्दो क्रममा रहेको प्रदूूषण ह्वातै बढेको छ,’ पौडेलले भने, ‘यसरी एकैपटक ह्वात बढ्नुले केही बाहिरी कारण हुन सक्छ।’ विभागले के कारणले यसरी ह्वातै बढ्यो भनेर विज्ञलाई अनुसन्धान गर्न लगाएको छ। उपत्यका प्रवेश गर्ने हावा नै प्रदूषित भएको अनुमान गरिए पनि यही कारण भनेर किटानचाहिँ अनुसन्धपछि मात्रै गर्न सकिने पौडेलले बताए।

उपत्यकामा वागमती नदी हुँदै तराईबाट,  थानकोट र भीमढुंगा हुँदै धादिङ उपत्यकाबाट अनि मुड्खु र तिनपिप्ले भञ्ज्याङ हुँदै त्रिशूली उपत्यकाबाट हावा प्रवेश गर्छ। तराइमा लागेको आगोका कारणले पनि उपत्यकाको हावामा प्रदूषण बढेको अनुमान गर्न सकिने सरोकारवाला बताउँछन्।

प्रदूषणको असर

आँखाले देख्न सकिने धुलोका कणलाई पिएम १० मा मापन गरिन्छ। पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा ४ गुणा साना कण हुन्छन्। वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलोका कण, कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड हुन्छ। यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने चिकित्सक बताउँछन्।

डा. मनोजकुमार यादवका अनुसार प्रदूषणले श्वास फेर्न गाह्रो बनाउने, इरिटेसन गराउने, घाँटीमा एलर्जी हुने, मुटु र दमका बिरामीलाई सताउने, तत्काल फोक्सोमा असर गर्छ। धुलोको असरबाट क्यान्सरसमेत निम्तिने उनले बताए। काठमाडौंको प्रदूषण चुरोटजत्तिकै हानिकारक रहेको सरोकारवालाले बताउँदै आएका छन्।

प्रदूषणको स्रोत

उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलिन्छ। त्यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुन्छ। पछिल्लो समयमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएका सडक र विस्तारका नाममा असरल्ल पारिएका सडकले पनि प्रदूषण बढाएको छ।

कसरी घट्न सक्छ

उपत्यकामा प्रदूषणको मात्र अत्याधिक भए पनि न्यूनीकरणका लागि सरकारले खासै काम गर्न सकेको छैन। ‘सरकार टुलुटुलु हेरिरहेको छ,’ वातावरणविद् तुलाधरले भने, ‘कार्ययोजना बनाएर लागू नगर्ने हो भने प्रदूषणले उपत्यकामा केही वर्षपछि बस्नै सकिन्न।’ तर, सरकारी निकाय वातावरण विभाग भने सरकारले काम गरिरहेको दाबी गर्छ। ‘अहिले मेलम्चीको पानी ल्याउन खनिएका सडकका कारण प्रदूषण धेरै भएको हो,’ विभागका पौडेलले भने, ‘दैनिक अनुगमन गरेर काम व्यस्थित र छिटो गर्न लगाएका छौं।’ त्यसैगरी विभागले प्रदूषण नियन्त्रण गर्ने कार्यायोजना समेत तयार पारेर राष्ट्रिय योजना आयोगमा पठाएको उनले बताए। उनका अनुसार सरोरकारवाला सबैलाई कार्ययोजना बनाएर पेस गर्न पनि भनिएको छ।

त्यसो त स्वास्थ्यमन्त्री गगन थापाले पनि अघिल्लो साता प्रदूषण नियन्त्रण कार्ययोजना मन्त्रिपरिषद्मा लगिसकेका छन्। ‘मन्त्री थापाको कार्यायोजना धेरै राम्रो छ,’ दृष्टि समूहका श्रेष्ठ भन्छन्, ‘त्यही कार्यायोजना सरकारले तत्काल कार्यान्वनयमा ल्याए उपत्यकावासीले राहत पाउँछन्।'

प्रकाशित: ४ वैशाख २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App