७ वैशाख २०८१ शुक्रबार
अर्थ

धमाधम बचतको ब्याज बढाउँदै बैंक

काठमाडौं- मुद्दती निक्षेपमा मात्र बढी ब्याज दिइरहेका बैंकहरुले पछिल्लो समय बचत खाताको ब्याज पनि बढाउन थालेका छन्। पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले बचत खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका छन्।

मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका बैंकहरुले बचत खातामा पनि ८ प्रतिशत ब्याज दिन थालेका छन्। बचत खातामा कम ब्याज दिएपछि निक्षेपकर्ताले बढी ब्याज आउने मुद्दती खातामा धमाधम रकम सार्न थालेका थिए। त्यसपछि बचतको ब्याज बढाउन बैंकहरु बाध्य भएका हुन्।

सबैभन्दा बढी बचत खातामा ब्याज दिने दुईवटा बैंक देखिएका छन्। सेञ्चुरी कमर्सियल बैंक र एनआइसी एसियाले बचत खातामा सबैभन्दा बढी ८ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेका छन्। बचत खातामा उच्च ब्याज दिन थालेपछि निक्षेप संकलन धेरै हुने र बचत खाताबाट बढी ब्याज आउने मुद्दती खातामा रकम सार्ने क्रममा कमी आउने विश्वास बैंकरले गरेका छन्।

बचत निक्षेपमा बढी ब्याद दिनेको दोस्रो नम्बरमा लक्ष्मी र सिभिल बैंक देखिएका छन्। उनीहरुले बचत खातामा वार्षिक ५–७ प्रतिशतको दरमा ब्याज दिइरहेका छन्।

तेस्रोमा ५–६ वटा बैंक देखिएका छन्। अधिकांश बैंकले तीनदेखि पाँच प्रतिशत ब्याज दिने गरेको बैंकरको भनाइ छ। केही बैंकले अहिलेसम्म पनि बचत खातामा एकदेखि तीन प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन्।

नेपाल राष्ट्र बैंकले बचत खाताको ब्याजभन्दा बढी कल डिपोजिट खातामा ब्याज लिन नपाउने व्यवस्था गरेपछि बचतको ब्याज बढाउन बाध्य भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आइतबार नागरिकलाई बताए। ‘कल डिपोजिटको पैसा तान्न पनि बचतको ब्याज बढाएका हुन्,' उनले भने, ‘बचत खाताको ब्याज बढाएपछि मात्र कल डिपोजिटको रकम तान्न सजिलो हुन्छ।'

‘पछिल्लो समय बचत खातामा दिइने उच्च ब्याजदरले बचतकर्तालाई लोभ्याउने देखिएको छ,' एक बैंकरले भने, ‘तरलता अभाव अझै नहटेको पनि यसले स्पष्ट संकेत देखाएको छ।'

‘लगानीयोग्य पुँजी अभाव हटाउन पनि बैंकहरुले बचत खाताको ब्याजदर नबढाई सुखै छैन,' एक बैंकरले भने, ‘धेरै कम ब्याज दिने बैंकबाट निक्षेप झिकेर बढी ब्याज आउनेमा राख्न थाल्ने भएपछि कम ब्याज दिने बैंकहरुले पनि बाध्य भएर बचत खाताको ब्याजदर बढाउन थाल्छन्।'

मुद्दती खातामा बढी ब्याज दिन थालेपछि बचत खाताको निक्षेप घटिरहेको थियो। पछिल्लो समय बचत खाताबाट बढी ब्याज आउने मुद्दती खातामा लगेर जम्मा गर्न थाल्दा बचत खातामा रकम घट्न पुगेको हो। तर, बैंकहरुले बचतको ब्याजदर बढाउन थालेपछि मुद्दती खातामा त्यस्ता रकम जाने सम्भावना कम रहेको पनि बैंकर बताउँछन्।

‘बढी ब्याजदर दिएर निक्षेप संकलन गर्नुको अर्थ सस्तोमा ऋण पाइँदैन भन्ने बु‰नु पर्छ,' एक बैंकरले भने, ‘बचतको ब्याजदर बढ्नु भनेको ऋणको ब्याजदर अझै बढ्ने संकेत देखिनु पनि हो।'

संस्थागत निक्षेपमा बैंकहरुले १३ प्रतिशतसम्म ब्याज दिएका छन्। व्यक्तिगत निक्षेपमा भने अझै पनि त्योभन्दा कम नै छ।

अघिल्लो वैशाखमा आएको भूकम्प र त्यसपछिको तराई–मधेस आन्दोलनका समयमा बैंकिङ प्रणालीमा प्रशस्त रकम थियो। बचतकर्ताले सुरक्षित हुन बैंकमा लगेर पैसा जम्मा गरेका कारण बैंकिङ प्रणालीमा यथेष्ठ लगानीयोग्य पुँजी  थियो। त्यसबेला बैंकहरुले बचत खातामा एक प्रतिशतदेखि १.५ प्रतिशतसम्म ब्याज दिइरहेका थिए। कर्जाको माग नभएकाले ६ देखि सात प्रतिशत ब्याजदरमा बैंकहरु कर्जा लगानी बाध्य थिए।

तर, अहिले परिस्थिति उल्टिएको छ। लगानीयोग्य पुँजीको अभाव बैंकहरुलाई छ। यस्तो अवस्थामा ब्याजदर बढाएर भए पनि बैंकहरु निक्षेप तान्न लागिपरेका छन्। महँगो ब्याजमा लिएको निक्षेप रकम महँगै दरमा लगानी गर्दा कर्जाको ब्याजदर बढेको बैंकरहरुको दाबी छ।

तर, ऋणीहरु भने बढ्दा छिटोछिटो ब्याज बढाउने बैंकले घट्दा भने घटाउन आनाकानी गर्ने गरेको बताउँछन्।

उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएको भन्दै बैंकहरुले कर्जाको ब्याज बढाइरहेका छन्। बैंकहरुले १४ प्रतिशतसम्ममा कर्जा लगानी गरिरहेका छन्।

बैंकहरुले पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत पत्र पठाएर कर्जाको ब्याजदर बढाएको जानकारी दिएका छन्।

जसका कारण ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योगी, व्यवसायीले यसबाट लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनी दिएका छन्।

केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेडदर) पाँच प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ। तोकिएको स्प्रेड दरभित्र रहेर बैंकहरुले कर्जा लगानी गनर्ुुपर्ने बाध्यात्मक स्थिति छ। 

प्रकाशित: ४ वैशाख २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App