coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विवादास्पद खेलमा आर्मी विजयी

काठमाडौं- विवादित खेलमा त्रिभुवन आर्मी क्लबले साबिक विजेता हेल्प नेपाल क्लबलाई हराउँदै तेस्रो आरबिबी एनभिए पुरुष लिग भलिबलको फाइनल पुगेको छ। सोमबार नेपाल पुलिस र आर्मीले लिगको फाइनल मानिएको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन्। पुलिस यसअघि नै फाइनलमा पुगिसकेको थियो।

आइतबार त्रिपुरेश्वरमा गत वर्षको उपविजेता टोली आर्मीले हेल्प नेपाललाई २५–२३, १९–२५, २५–२१, २०–२५, १७–१५ ले हरायो।

सुरुआतमा आर्मी र हेल्प नेपालले समान २ सेट जितेपछि खेलको निर्णय अन्तिम पाँचौं सेटले गर्ने निश्चित भएको थियो। पाँचांै सेटमा आर्मीले १२–१० ले अग्रता लिइरहेको बेला हेल्प नेपालका विनीत कुमारले साइडबाट शक्तिशाली स्पाइक गरे। विनीतको स्पाइक आउट भएको रेफ्री कपिल जिसीले इसारा गरे। तर हेल्प नेपालका खेलाडीले आर्मीका धनबहादुर भट्टको हातमा लागेर स्पष्ट रूपमा चेकआउट भएको भन्दै निर्णय सच्याउन रेफ्रीलाई दबाब दिए। रेफ्रीले निर्णय परिवर्तन नगरेपछि हेल्प नेपालका कप्तान लक्ष्मण श्रेष्ठसहितका खेलाडीले स्पष्ट रूपमा चेक आउट भन्दै केहीबेर खेल्न मानेनन्।

रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै हेल्प नेपालका खेलाडी करिब ७ मिनेट कोर्टबाहिर उभिएपछि खेल रोकिएको थियो। पछि सहायक रेफ्री विकास गुरुङ र जिसीसँग कुराकानी गरेपछि हेल्प नेपालका खेलाडी कोर्टमा प्रवेश गरेका थिए।

हेल्प नेपालका प्रशिक्षक अरुण श्रेष्ठले रेफ्रीको गलत निर्णयका कारण खेल हार्नुपरेको बताए। ‘क्लबजस्तो महत्वपूर्ण प्रतियोगितामा रेफ्रीका कारण हरेक वर्ष विवाद उत्पन्न भइरहेको छ। संघले रेफ्रीको क्षमता वृद्धि र कारबाहीमा ध्यान दिनुपर्छ। लायन्सम्यानलाई नसोधेर रेफ्रीले हतारमा निर्णय सुनाए। आफूले निर्णय गलत गरेको उनले हामीसँग स्वीकार गरे पनि निर्णय उल्टाउन मानेनन्। तर त्यसको बदलामा आर्मीको एउटा नेगेटिभ अंक लिने आश्वासन दिए। यस्तो आश्वासनले उनको क्षमतामाथि प्रश्न गर्न सकिन्छ, श्रेष्ठले भने, ‘भलिबल विकासमा विभागीय टोली मात्र भए पुग्छ भन्ने आयोजक संघको सोचाइ छ। भलिबल विकासमा पब्लिक टिमको योगदान छ। हामीले आफ्नो खर्चमा भारतीय खेलाडी ल्याएर लिगको स्तर बढाउन सहयोग गरेका छौं। तर संघले पब्लिक टिमलाई निरुत्साहित गरिरहेको छ। यसले नेपाली भलिबललाई फाइदा हुँदैन।'

आर्मीले लिग भलिबलमा हेल्प नेपालसँग गत वर्ष भोगेको हारको पनि बदला लिएको छ। दोस्रो संस्करणमा आर्मीलाई हराउँदै हेल्प नेपाल पहिलो पल्ट क्लब लिग भलिबल च्याम्पियन बनेको थियो।

उत्कृष्ट सुरुआत गरेको आर्मीले पहिलो सेटमा १२–८ ले अग्रता लियो। तर चार भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले १२–१२ को स्थितिमा खेल ल्याएर कम ब्याक गर्‍यो। पहिलो सेटको अन्त्यसम्म आइपुग्दा २३–२० ले अग्रता लिएको हेल्प नेपाल जितनजिक थियो।

तर डिफेन्स र स्पाइकबाट नेगेटिभ अंक दिएपछि हेल्प नेपाल जितनजिक पुगेर पनि पराजित भयो। त्यसको असर हेल्प नेपालले अन्य सेटमा पनि भोग्नुपर्‍यो। हेल्प नेपालको गल्तीलाई सदुपयोग गर्दे ८ राष्ट्रिय टोलीका खेलाडी भएको आर्मीले खेलमा सफलता हासिल गर्‍यो।

आइतबारको खेल हेल्प नेपाल र आर्मी दुवैका लागी ‘गर या मर' थियो। हार्ने टोली उपाधि दौडबाट बाहिरिनुपर्ने थियो।

आर्मीले जारी प्रतियोगितामा नेपाल पुलिसविरुद्ध पनि ५ सेट खेलेको थियो। तर त्यो खेलमा आर्मी सफल भएको थिएन।

आर्मीका कप्तान हरिहजुर थापाले हेल्प नेपालविरुद्ध बनाएको रणनीति सफल भएको बताए।  ‘हेल्प नेपालको बलियो पक्ष ब्लक र स्पाइक थियो। हाम्रा स्पाइकरको उचाइ उनीहरूको भन्दा कम छ। यस्ता अवस्थामा ओपन स्पाइकरले अंक लिने सम्भावना कम थियो। हाम्रो जतिसक्दो साइड र क्विक स्पाइक गर्ने रणनीति थियो। त्यसले ब्लकरलाई झुक्क्याउने गर्छ। हामी त्यसमा सफल भयौं,' हरिहजुरले भने, ‘हाम्रा लागि आज प्रतिष्ठाको खेल थियो। पराजित भए उपाधिदौडबाट बाहिरिने पक्का थियो। उनीहरूको आज डिफेन्स कमजोर देखियो। हामीले पनि उनीहरूलाई फ्री भएर स्पाइक गर्न दिएनौं।'

पुलिसविरुद्धको फाइनलमा गल्तीलाई कम गर्ने थापाले बताए। उनले थपे, ‘सानासाना गल्तीका कारण हामीले लिगमा पुलिससँग हारेका थियौं। त्यसलाई सुधार गरे हामी उपाधि जित्न सक्छौं।'

प्रतियोगिताको महिलातर्फ सोमबार साबिक विजेता न्यु डायमन्ड एकेडेमी एपिएफसँग पराजित भएको छ। पराजित भएपछि डायमन्ड लिगमा दोस्रो र एपिएफ पहिलो टोली बन्दै फाइनलमा पुगेको हो। एपिएफ गत वर्ष डायमन्डसँग पराजित भएपछि लिगको उपविजेता बनेको थियो। आइतबार एपिएफले डायमन्डलाई २५–२३, १४–२५, २५–१६, २५–१९ ले हरायो।

प्रकाशित: ४ वैशाख २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App