७ वैशाख २०८१ शुक्रबार
विचार

अमेरिका रिटर्न

चैत २५ का छापाहरूमा आएको एउटा समाचार यस्तो थियो- (हिजो) ललितपुर, कुमारीपाटीको ‘नो पार्किङ' क्षेत्रमा रोकिराखेको एउटा कारका कारण सडकमा ट्राफिक जाम भएपछि त्यहाँ ड्युटीमा तैनाथ ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेले सिठ्ठी बजाउँदै सो कार हटाउन चालकलाई आग्रह गरे। चालकले नटेरेपछि घिमिरेले कारको कागजात मागे। चालकले कार नयाँ भएकाले बिलबुक नबनिसकेको बताएपछि घिमिरेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मागे। चालकले लाइसेन्स पनि छैन भनेपछि लाइसेन्स नभई चलाउन पाइँदैन, ल हिँड्नूस् ट्राफिक प्रहरी कार्यालय जाउलाखेल भने र कारमा बसे। कुमारीपाटी हुँदै जाउलाखेल आइरहँदा चालकले एक्कासि लगनखेलतर्फ कार फनक्क घुमाए र घिमिरेलाई कारबाट ओर्लन भने। त्यत्तिकैमा पछाडि बसेकी महिलाले पछाडिबाट घिमिरेको घाँटी अँठ्याइन् र लछार्दै निकालेर फुटपाथमा पछारिन्। त्यसपछि आफू कारमा गएर बसिन्। बर्दीमै प्रहरी कुटिएको देखेर एकजना मोटरसाइकल चालकले कार अगाडि बढ्न नसक्नेगरी बाइक रोके। चालक ब्याक गरेर भाग्न खोजे। ड्युटीमा रहेको प्रहरीलाई कुट्ने भन्दै अरु सर्वसाधारणले पनि उनीहरूलाई घेरे, भाग्न दिएनन्। अन्ततः बानेश्वरकी कार्की थरकी ती महिला र नुवाकोटका राई थरका ती चालक दुवैलाई प्रहरीले भ्यानमा हालेर लग्यो। अमेरिकी राहदानीबाहक ती महिला आफन्त भेट्न नेपाल आएकी रहिछन्। हातपातको सिकार भएका प्रहरी जवान घिमिरेको भनाइसमेत राखेर यो समाचार भोलि/पर्सिपल्टका छापाहरूमा पनि आइरहे। 

घाम-पानी, धुलो-धुवाँ, जाडो-गर्मी, हावा-हुरी केही नभनी सडकमा ड्युटी गरिरहेको गरिब प्रहरी जवानलाई रिसमा घाँटी अँठ्याएर लछारपछार गर्र्ने उनले अमेरिकामा जस्तो सजिलै बन्दूक, पेस्तोल पाइने भए त मारी नै हाल्ने रहिछन्। 

अमेरिका : जीवनकै ध्येय

कतिपय विकसित मुलुकका नागरिकका लागि समेत संयुक्त राज्य अमेरिका ‘ड्रिम' गन्तव्य हो– पढाइ, रोजगार, व्यवसाय, बसोबास हरकोणबाट। यहाँभन्दा पनि नराम्रो त के होला र भन्दै युद्ध र आतंकवादको चपेटामा परेका मुलुकमा समेत रोजगारीका लागि जाने नेपालीलाई त विकसित देश, त्यसमा पनि अमेरिकै जान पाए अरु के चाहन्थ्यो? धेरै कमाइ हुने दुःखको काम गर्नपरे पनि, महिनांैसम्म ‘होमसिकनेस' र वर्षौंसम्म ‘कल्चरल सक्'बाट गुजि्रनु परे पनि गरिब देशका दुःखी नेपालीका लागि त अमेरिका मर्त्यलोकको स्वर्गै भैगो। संसारकै सबभन्दा ठूलो अर्थतन्त्र, अवसरहरूको खानी र अंग्रेजी भाषाको सजिलोका कारण नेपालीलाई काम पाउन र बस्न सुविधा। उच्च शिक्षा/सिपयुक्त हुन् कि डिभीवाल, शरणार्थी हुन् कि भूकम्पपीडित, आप्रवासीप्रति राज्य, समाज र व्यावसायिक जगत कसैले पनि भेदभाव नगर्ने, अवैध आप्रवासीलाई समेत खासै कडाइ नगर्ने। यिनै कारणले गरेर नेपालीको, त्यसमा पनि खास गरेर नयाँ पुस्ताको अमेरिका मोह अति उच्च छ। कैंयौं वर्षदेखि जनसंख्याको अनुपातमा संसारकै सबभन्दा धेरै डिभी भिसाको आवेदन गर्ने मुलुक हो नेपाल। सर्वसाधारणका के कुरा, यहाँका उच्च ओहदाधारी सरकारी कर्मचारी, ‘सेलेब्रिटी', राजनीतिज्ञ त्यसमा पनि सधँै अमेरिकालाई साम्राज्यवादी भन्दै गाली गरेर नथाक्ने कम्युनिस्टसमेत पाए आफैं जान नपाए छोराछोरीलाई अमेरिका पठाउन मरिहत्ते गर्छन्। नगरुन् पनि किन, आखिर उनीहरू स्वदेशमा त न वर्तमानमा राम्रो केही छ, न भविष्यमा हुनेवाला छ भनेर अरुले भन्दा राम्ररी बुझ्ने वर्ग जो परे।

भिसा पाए सहजै छिरेर, नपाए अवैध, अनिश्चित, खर्चिलो र कष्टकर उपाय र बाटो अजमाएर भए पनि अमेरिका पुग्न चाहने नेपाली थुप्रै छन्। कोही मानव तस्करहरूलाई पचासौं लाख बुझाएर जान्छन्। जसमध्ये कतिपय बीच बाटोमा अलपत्र पारिन्छन् त कति महिनौं लामो नारकीय यात्राको यातना खप्न नसकेर बाटैमा मर्छन्। कोही नेपालमा आफू गिरफ्तारीमा पर्नसक्ने, मारिने जस्ता झुटा कुरा गरेर शरणार्थी हुन आवेदन दिन्छन्। कुनै जमानामा वासिंगटनको नेपाली दूतावासमा दरबन्दी रहेको सुब्बा पदमा परराष्ट्र मन्त्रालयबाट पोस्टिङ भएर जानेहरू जानुपूर्व आफ्ना जायजेथा सबै बेचेर जान्थे। किनकि उनीहरू पोस्टिङ अवधि सकिएपछि अमेरिकै बस्ने, नेपाल नफर्कने अठोट गरेरै गएका हुन्थे। यो एउटा ‘ओपेन सिक्रेट' थियो, दरबारदेखि परराष्ट्रका अधिकारी सबैलाई ज्ञात भएको। त्यसैले यो पोस्टिङ परराष्ट्र मन्त्रालयमै पनि विशेष आकर्षणको पोस्टिङ मानिन्थ्यो, पाउन ठूलै सोर्सफोर्स चाहिने। अमेरिकीहरू पनि ती सुब्बासाहेबलाई सहजै आप्रवासी भिसा दिन्थे त्यसताका। देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउँंदै गएपछि सुब्बाभन्दा माथिका पदका पनि त्यसरी पलायन हुनेमा थपिए। यद्यपि अचेल अमेरिकाले उनीहरूलाई सजिलै भिसा दिँदैन। अहलेका राष्ट्रपति ट्रम्प आप्रवासनलाई अनुदार बनाउने चुनावी वाचासाथ सत्तामा आएका छन्। उन्को कदमको असर, खासगरी त्यहाँका नेपालीउपर के कस्तो हुनेछ हेर्न केही समय पर्खनुपर्नेछ। यहाँ शिक्षा मन्त्रालयमा भने विद्यार्थी भिसामा अमेरिका जानका लागि ‘नो अब्जेक्सन लेटर' लिन खोज्ने युवाको संख्या ह्वात्तै घटेको छ। किनकि उनीहरूले पहिले जस्तो सुरुमा विद्यार्थी भिसामा गएर अन्ततोगत्वा स्थायी आप्रवासीको हैसियत पाउन ट्रम्पोत्तर अमेरिकामा गाह्रो हुने देखे। स्मरणीय छ, नेपालीलगायत प्रायः हरेक समुदायका अमेरिकी आप्रवासीमा सुरुमा विद्यार्थी भिसामा जाने नै सबभन्दा धेरै हुन्छन् ¬।

बदलिन नसकेको संस्कार

जुनसुकै बाटो वा प्रक्रियाबाट अमेरिका पुगेर त्यहाँको राहदानी लिएको भए पनि माथि उल्लिखित महिला बहुसंख्यक नेपालीभन्दा भाग्यमानी हुन्। मन लागेको बेलामा नेपाल–अमेरिका आउजाउ गर्नसक्ने, आउँदा ‘सोफर ड्रिबेन' आलिशान कारमा यात्रा गर्नसक्ने। हजारौं नेपाली विचरा यस्ता छन् जो अमेरिका फर्किने भिसाको सुनिश्चितता नभएकाले बाबुआमा मर्दा पनि बरु कल्पिंँदै, रुँदै उतै जसोतसो किरिया बस्छन्, नेपाल आउँदैनन्। तर भाग्य, सफलता र शक्तिले मान्छेलाई मत्याउँदो रहेछ। त्यसरी मात्तिएको मति र खाइ मोटाएको ज्यानको ‘कम्बिनेसन' बडो खतरनाक हुन्छ, जस्तो ती महिलाको भयो। घाम–पानी, धुलो–धुवाँ, जाडो–गर्मी, हावा–हुरी केही नभनी सडकमा ड्युटी गरिरहेको गरिब प्रहरी जवानलाई रिसमा घाँटी अँठ्याएर लछारपछार गर्र्ने उनले अमेरिकामा जस्तो सजिलै बन्दूक, पेस्तोल पाइने भए त मारी नै हाल्ने रहिछन्। हो, नोबेल पुरस्कार पाउने आप्रबासी र ‘नेचुरलाइज्ड' अमेरिकी नागरिक पनि छन् र ती थुप्रै छन्। तिनको ठूलो योगदान छ अमेरिकालाई आजको अमेरिका बनाउनेमा। तर तिनको अनुपातमा धेरै त ती महिला जस्तै पृथ्वीका भार नै होलान्, तब न वाक्क भएर उदार आप्रवासन नीतिका पक्षधर अमेरिकी जनताले पनि ट्रम्पलाई भोट दिए। हुन त अमेरिकामा भए त्यो गुण्डागर्दी उनले पनि पक्कै गर्दिन थिइन् किनकि त्यहाँ कानुनको शासन छ। नेेपालमा जस्तो अराजकता छैन। सन् असीको दशकको प्रारम्भमा यो पंक्तिकार लस एन्जेलसमा विद्यार्थी छँदा क्यालिफोर्नियाका विश्व प्रसिद्ध ‘फ्रिवे' (राजमार्ग) हरूमा त्यसबखत अधिकतम गति सीमा ५५ माइल प्रतिघन्टा निर्धारित थियो। तैपनि मानिस साठी सत्तरीसम्म पुर्‍याइहाल्थे। तर पछाडि हेर्ने ऐनामा झिपझिप नीलो रातो बत्ती बाल्दै आइरहेको हाइवे प्याट्रोलको गाडीलाई उति पर देख्नेबित्तिकै सयकडौं गाडीको गति एकैचोटि पचासभन्दा तल आउँथ्यो। त्यहाँको पुलिस यहाँको कमलप्रसाद घिमिरे जस्तो हतियार र साधनबिनाको निरीह पनि हुँदैनथ्यो अपराधीकै गाडीमा जाउँ पुलिस चौकी भन्नपर्ने। आफैं गल्ती गर्दै अझ बहस पनि गर्न थाल्यो भने त उसले पेस्तोल ताकिहाल्थ्यो र हत्कडी लगाइहाल्थ्यो। उसलाई कुट्ने कुराको त चालक, यात्रु कसैले कल्पनै गर्दैनथ्यो।

गुणात्मकभन्दा संख्यात्मक

एकिन तथ्यांक उपलब्ध नभए पनि वैध/अवैध सबै किसिमका गरेर नेपाली आप्रवासीहरूको संख्या अमेरिकामा अहिले दुई लाखको हाराहारीमा रहेेको अनुमान छ अर्थात देशकै कुल जनसंख्याको झण्डै १ प्रतिशत। हुन त उक्त संख्यामा विद्यार्थी भिसामा रहेका पनि पर्छन् तर एकाध अपवादबाहेक, अमेरिका/अस्ट्रेलिया जस्ता देशमा जाने विद्यार्थी भनेका अहिलेका नभए पनि भविष्यका आप्रवासी नै हुन्। सन् १९८० को दशकसम्म वर्षमा एक सयभन्दा कमको दरमा अमेरिकाको नागरिकता वा स्थायी आप्रवासन (ग्रिनकार्ड) प्राप्त गरिरहेका नेपालीको संख्या पछिका वर्षमा ह्वात्तै बढेको हो। विशेषतः माओवादीको १० वर्ष लामो हिंसात्मक विद्रोह, अनि त्यसपछि एकपछि अर्को गरी भएका राजनीतिक आन्दोलनले पीडित, आजित र निराश बनेका नेपालीको विदेश पलायन निरन्तर बढ्दो छ। अमेरिकामा त हाम्रोभन्दा धेरै जनसंख्या भएका देशबाट हामीभन्दा पहिले पुगेका चीन, भारत, फिलिपिन्स, कोरिया, जापान, पाकिस्तान, बंगलादेश र नजिकको छिमेकी मेक्सिकोका डायस्पोरामात्रै अब नेपाली डायस्पोराभन्दा ठूला छन्। सन् साठी वा सत्तरीको दशकसम्म ज्यादै थोरै नेपाली त्यो पनि प्रायः सरकारी कर्मचारीमात्र हुन्थे अमेरिका जाने। फर्केर आएपछि उनीहरूको अमेरिकाको वर्णन सुन्न गाउं टोलका भद्रभलाद्मी पनि लालायित हुन्थे। हामी स्कुल/कजेजका विद्यार्थीलाई उनीहरूले दिने गफचाहिँ कस्तो हुन्थ्यो भने अमेरिकामा त कारखानामा एकातिरबाट जिउँदा गाई हालिदिएपछि अर्कोतिरका विभिन्न आउटपुट बेल्टहरू कुनैमा फल मासु नै फल मासु, कुनैमा साइज साइजका टांक (सिङबाट) र कुनैमा विभिन्न डिजाइन, रङ र साइजका जुत्तैजुत्ता निस्कन्छन्, जसलाई हामी पत्याउँथ्यौंँ पनि।

नेपाली डायस्पोरामा माथि उल्लिखित डायस्पोराका जत्तिका पैसावाल, सफल उद्यमी/व्यवसायी वा उच्च पदीय/वर्गीय हैसियतका व्यक्ति कमै छन्। विभिन्न जातीय/राष्ट्रिय समुदायबीचको औसत प्रतिव्यक्ति आय वार्षिक करिब २६ हजार डलर रहेकामा नेपाली समुदायको प्रतिव्यक्ति आय त्योभन्दा कम करिब १८ हजार डलरमात्र रहेको ‘फ्याक्ट फाइन्डर सेन्सस–२०१४' ले देखाएको छ। समुदायगत प्रतिव्यक्ति आयको ‘र्‍याङ्किङ' का हिसाबले पुछारबाट पाचौँं स्थानमात्र माथि रहेका नेपाली धेरैजसो श्रम बजारको तल्लो पंक्तिमा पर्छन्। जो संघर्ष गर्दै, बिस्तारै ‘सेटल' हुँदैछन्। अमेरिकी समाजका विविध समुदाय र मूलधारका मानिससँग भन्दा मिलेसम्म आफ्नै समुदायका वा नेपालीसँग मात्रै सामाजिकीकरण गर्न, हेलमेल गर्न रुचाउने हुँदा पनि सफलता प्राप्ति र अमेरिकी समाजमा एकीकरणतर्फको उनीहरूको यात्रा सुस्त छ। तर अमेरिकामै जन्मेको दोस्रो पुस्तामा यो समस्या छैन। उनीहरू स्कुल जीवनदेखि नै त्यहाँको समाजसँग एकीकृत हुँदै जान्छन्। त्यसो त आफ्नै समुदायसँग मात्र घुलमिल गर्नुमा नराम्रो केही थिएन। त्यसले त झन् आफ्नो जरा र जन्मभूमिबाट टाढा हुन दिँदैनथ्यो भौतिकरूपमा टाढा भए पनि। तर अमेरिका गएर, बसेर पनि त्यहाँबाट खासै केही नसिक्ने र नेपालदेखि सँगै लगेका सामाजिक दुर्गुणहरूमै संधँै रमाउने प्रवृत्ति भने उनीहरूले छाडे हुन्थ्यो। भौतिक र आर्थिक उन्नतिमा मात्र माथि होइन, विज्ञान, व्यवस्थापन र अरु विविध विधाका ज्ञानको पनि संसारकै खानी हो अमेरिका। त्यसैले नेपालमा सिक्न नमिलेका, नपाइएका धेरै ज्ञान, संस्कार, पद्धति, विधि व्यवहार र सभ्यताका कुरा उनीहरूले त्यहाँ सिक्न सक्छन्। उदाहरणका लागि विधिको शासनप्रतिको बेवास्ता, अरुको गोपनीयता (प्राइबेसी)को बेवास्ता वा लाम मिच्ने कार्य (क्यु जम्पिङ) नेपालमा समान्य कुरा होलान् तर अमेरिकामा ती सामान्य र क्षम्य त्रुटि मानिँदैनन्। साना जस्तो देखिए पनि वास्तवमा सिक्नु र जीवनमा उतार्नुपर्ने यी र यस्तै कुरा हुन् जसले हामीलाई सभ्य र सुसंस्कृत बनाउँछन् र समृद्ध पनि। नसिक्ने र ती महिला जस्तै सधैँ ‘नेफोली' नै भइरहने हो भने बेग्लै कुरा।

प्रकाशित: ४ वैशाख २०७४ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App