coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोखरामा कविता कन्सर्ट

पोखरा- सामान्यतया कविताको सिर्जना एवं वाचन स्वेच्छिक र अवैतनिक हुन्छ। ठीक उल्टो संगीत भने आम्दानी गर्ने बलियो माध्यम बन्दै गएको छ। तर संगीत र कविता दुवै सुन्नका लागि आइतबार पोखरेलीले धक फुकाएर खर्च गरे। पोखरामा आयोजना भएको ‘कविता कन्सर्ट–२'मा कविता र संगीत एकसाथ सुनिए तर सशुल्क। पोखराका साहित्यिक पारखीका लागि कविता वाचनसँगै चर्चित गायकगायिकाबाट गीत प्रस्तुत गरिँदा यहाँको माहौल नै रमाइलो बन्यो।

गएको वर्ष कविता कन्सर्ट गरिए पनि यो पटकचाहिँ आयोजकले गायन र वाचनको नयाँ सुत्र अपनाए। जसलाई पोखरेली साहित्यकारले नयाँ आयाम माने। कविता कन्सर्टको सुरुवात कवि उपेन्द्र सुब्बाले ‘सायद' शीर्षकको कविताबाट गरे। वजनदार र मौलिकतालाई कवितामा उन्ने उपेन्द्रले कवितामा गम्भीरता आवश्यक नरहेको औंल्याए।

कार्यक्रमको बीच–बीचमा हाँसठट्टा गर्दै उनले अर्को कविता ‘ख्यालीमा हारेको धुव्र' सुनाए। अन्त्यमा आमा समर्पित ‘मेरो आमाको नाम' सुनाए र बिट मारे। कवि मोमिलाले लगातार ‘पे्रम, पीडा प्यास र पानी, तिमी’ र म र ‘भीमसेन थापाको सुसाइट नोट' वाचन गरिन। कवि विप्लब ढकाललाई स्वरले साथ नदिए पनि कविता सुनाउन कस्सिए। ‘एक्कासी आवाज हराएको छ, सक्दो सुनाउने प्रयास गर्नेछु,' भन्दै उनले ‘दोभानमा भेट भएपछि' शीर्षकको पहिलो कविता सुनाए। बेलाबेलामा मन तातो पानीको सहारा लिएर घाँटीलाई खुलाउँदै उनले अर्को कविता ‘भ्यागुताको बिहे' सुनाए। यो कवितामा थोरै राजनीतिक गन्ध र पर्यावरणका कुरा थिए।

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै उनले ‘कोटको टाँक' शीर्षकको कविता प्रस्तुत गरे। ‘चुनाव आउँदै छ। कवितामा राजनीतिक व्यंग्य गर्न खोजेको छु।' कविता सुनाएपछि विप्लवले भने। उनले ‘सिलिकन सुन्दरी' कविता सुनाएपछि आफ्नो कविता वाचनलाई सकाए।

पब्लिक इभेन्टले लायन्स क्लब अफ पोखराको टुरिजम सिटीसँग सहकार्य गर्दै आयोजना गरिएको कन्सर्टमा कविता गायनलाई पनि उत्तिकै रुचाइयो। गायिका इतु जोजीजुले पहिलो पटक आयोजना भएको कविता कन्सर्ट हेर्न आएको सम्झँदै यो पटक सहभागी हुन पाउँदा खुशी लागेको बताइन्। उनले आदिकवि भानुभक्तको कविता ‘घाँसी' र श्रवण मुकारूङको ‘ल्याम्पपोस्ट' कवितालाई गाएर सुनाइन्।

गायक कर्णदासले कविताका लागि आफू बालक भएको बताए। ‘कविता बुझ्छु, पढ्छु, बच्चाजस्तै रमाउँछु तर कविताको अर्थ चाहिँ बुझ्दिनँ,' उनले भने। उनले लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री' र तीर्थ श्रेष्ठको  ‘आमा' कविता गाए। लामो समयदेखि कविता गायनमा क्रियशील गायिका लोचन भट्टराईले शिरोमणि लेखनाथ पौडेलको ‘पिँजडाको सुगा' कवितालाई गाएर सुनाइन्। उनले उक्त कविता बालक हुँदादेखि नै अत्यन्त मन परेको खुलाइन्। लोचनले २०६१ सालमा आफ्नै एल्बममा यो कवितालाई गीतमा समावेश गरेकी थिइन्। कविताले १९९३ तिरको राणाकालीन समयको चित्रण गरेको खुलाउँदै भिमनिधि तिवारीको ‘दागबत्ती' कवितालाई गाएर विदा मागिन्।

कार्यक्रम संयोजक उपेन्› पौडेलले कविता कन्सर्ट गर्दैछौ भन्दा पहिलो पटक सबै छक्क परेको स्मरण गरे। ‘यो पटक भने कविता कन्सर्टको खोजी भएको पाएँ,' उनले भने, ‘कवितालाई गायनमा प्रस्तुत गरिएको हुँदा यो कविता उत्सव हो।' कविता सुन्नका लागि ५ सय र १ हजारको टिकट राखिएको थियो। कन्सर्टमा पोखरेली कविता पारखी तथा साहित्यकारको बाक्लो उपस्थित थियो।

प्रकाशित: ४ वैशाख २०७४ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App