coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव बिथोल्ने मोर्चाको घोषणा

काठमाडौं- सहमतिका लागि सरकारले पटकपटक राखेका प्रस्ताव लत्याउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनाव विरोधी कार्यक्रम सार्वजनिक गरेको छ। वैशाख ३१ गतेका लागि तोकिएको चुनाव बिथोल्ने गरी गठबन्धनले देशव्यापी हड्तालसहितका कार्यक्रम आइतबार घोषणा गरेको हो।

चुनाव विरोधी कार्यक्रम सार्वजनिक गर्नुअघि बसेको गठबन्धन बैठकले आन्दोलन  सशक्त बनाउने निर्णय गरेको थियो। सकेसम्म स्थानीय चुनाव स्थगित गराउने, स्थगित गराउन नसके  तराईमधेसमा हुन नदिने रणनीति गठबन्धनले बनाएको छ। 

उम्मेदवारी मनोनयनमै अवरोध गर्न गठबन्धनले १६ गते नेपाल बन्द आह्वान गरेको छ। त्यस दिन उम्मेदवारी मनोनयन कार्यक्रम छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने दिन १९ गते पनि मतदान केन्द्रहरूमा लाठी जुलुस निकाल्ने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ। उसले २७ देखि ३१ गतेसम्म अनिश्चितकालीन आमहड्ताल र नेपाल बन्द कार्यक्रम घोषणा गरेको छ। मतदानमा अवरोध गर्न गठबन्धनले अनिश्चितकालीन आमहड्ताल कार्यक्रम सार्वजनिक गरेको हो। 

यसैगरी गठबन्धनले ५ गते जिल्ल्ाा सदरमुकाममा मसाल जुलुस, ७ गते जिल्ल्ााका प्रमुख स्थाननमा लाठी र सिट्ठी जुलुस, ९ गते जनकपुर, वीरगञ्ज, उदयपुर र काभ्रेमा आमसभा, ११ गते नेपालगन्ज, बिर्तामोड र काठमाडौंमा आमसभा, १३ गते धनगढी, धरान र पोखरामा आमसभा तथा लाठी जुलुस, १५ गते मधेस, थरुहट र लिम्वुवान क्षेत्र बन्द गर्ने कार्यक्रम तय गरेको छ। उसले २६ गते  जिल्ला सदरमुकाममा  मसाल जुलुस निकाल्ने जनाएको छ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले विरोधका कार्यक्रम सशक्त हुने दाबी गरे। उनले सरकारले आफूहरूलाई धोका दिएका आरोप लगाए। प्रधानमन्त्रीले छलफलमा गरेको प्रतिबद्धताविपरीत संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको आरोप यादवको छ। ‘हामीसँग प्रधानमन्त्रीले गरेको सम्झौताविपरीत संसद्मा संशोधन विधेयक दर्ता भएको छ,' यादवले भने, ‘प्रधानमन्त्रीले धोका दिनुभयो।'

पत्रकार सम्मेलनमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति थियो। मधेसी मोर्चाका शीर्ष नेताले शनिबार साँझ सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बैठक गरी  स्थानीय चुनाव बिथोल्ने निर्णय गरेका थिए। आन्दोलनका कार्यक्रम भने आइतबार बिहान तय गरिएको थियो।

पत्रकार सम्मेलनमा यादवले संविधानअनुसार स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा नगरिएकाले अहिले स्थानीय चुनाव हुन नसक्ने ठोकुवा गरे।

प्रकाशित: ४ वैशाख २०७४ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App