६ वैशाख २०८१ बिहीबार
समाज

बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !

इटहरी–इटहरी–२६ आपगाछीको मुलघरबाट अलग भएर बरगाछीमा बजगाई थरका दम्पती केही महिनाअघिदेखि डेरा लिएर बस्दै आएका थिए। बजगाईं दम्पतीका नौ वर्षका छोरा छन्। परिवारिक जीवन हाँसीखुसी थियो। तर, तीन दिनअघि एक्कासी बजगाईंकी २७ वर्षीया पत्नी घरबाट बजारपछि फर्किनन्।

पत्नी हराएपछि पती खोज्दाखोज्दा हैरान भए। अन्ततः अर्कै पुरुषसँग विवाह गरेको पत्ता लाग्यो।  बजगाईं दम्पतीबीच सम्बन्ध राम्रो थियो। बजगाईं दम्पतीका स–साना व्यक्तिगत समस्याका कुरा कहिल्यै बाहिर आउँदैन्थे। तर, एक्कासी पत्नी हिडेपछि बजगाई पुरुष अचम्भित भए। बजगाईं परिवारलाई बारम्बार नौ वर्षीय बालकले ममी खोइ? भनेर सोध्दा दिने जवाफको अभाव छ।

इटहरी–७ कै राजकुमार चौधरी साउदी अरबमा बस्दा सवै पैसा पत्नीलाई पठाउँथे। उनले घर फर्कने समय निधो गरेर यत्तै केही व्यापार–व्यवसाय गर्ने सपना साचेका थिए। तर, उनका लागि सबै थोक गुम्यो। घर आउँदा उनले न पत्नी भेटे न त उनले पठाएको पैसा नै। घर आउनुभन्दा अगाडि नै चौधरीकी पत्नी अर्कै पुरुषसँग विवाह गरिन्। चौधरीले पत्नी र छोराछोरीका लागि कुनै कुराको अभाव हुन दिएका थिएनन्। तर, विडम्बना ! चौधरीकी पत्नीले दुईवटा छोराछोरी छाडेर अर्कैसँग विवाह गरिन्। उनले पाँच लाख रुपैयाँ नगद र को १४ प ५२६ नम्बरको स्कुटी लिएर हिडेको जानकारी दिइयो।

यहाँका विवाहित महिला श्रृंखलाबद्ध रुपमा हराउने क्रममै इटहरीकै सन्तोष चौधरीसँग विवाह गरेकी झापा लखनपुर–१ की २४ वर्षीय पत्नी पनि केही दिन अघि हराइन्। उनको पनि चार वर्षको छोरा छन्। चौधरीले अर्कैसँग पत्नीले विवाह गरेर गएको पत्ता लगाए।  अनि, इलाका प्रहरी कार्यालय दमकमा उजुरी हालेर चौधरीले पत्नी लानेलाई जिम्मा लिएको कागज गराए।

इटहरी–१० की २९ वर्षीया भट्टराई थरकी महिलाले त तीन जना छोराछोरी त्यागेर हिडेकी छन्। पती विदेशमा भएको बेला ११ लाख रुपैयाँ लिएर ती महिला हिडेकी हुन्। मोरङ सुन्दरदुलारीमा जेठाजुको घरमा तीन जना छोराछोरीलाई छाडेर महिला हिडेकी हुन्। अहिलेसम्म ती महिलाको पत्ता लागि सकेको छैन । घर परिवारका सदस्यले ‘खोजी पाउँ’ भनी उजुरी दिएका छन्।

इटहरीमा बग्रेल्ती महिला आफना छोराछोरी र पती छाडेर अर्कोसँग हिडेका दिनहुँ हिँड्दा छन्। बुधबार मात्र इलाका प्रहरी कार्यालय इटहरीमा पाँच जना विवाहित महिला हराएको उजुरी परेको छ।

२०७२ साउनदेखि २०७३ असार २९ गतेसम्ममा इटहरी क्षेत्रभित्रका ९१ जना विवाहित महिला हराएको प्रहरीसँग रेकर्ड  छ। कतिपय हराएका महिलाको प्रहरीसमक्ष रेकर्ड छैन। धेरै पुरुष र तिनका परिवारलाई प्रतिष्ठाको कुराले रोकेर थुप्रै घटना भने प्रहरी समक्ष पुग्दैनन्।  विशेषगरी, पती विदेशमा भएका महिला हराएको रेकर्डमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले पुरुष पीडित भएर सामाजिक विकृति बढेको देखाएको छ। यही गतिमा विकृति बढ्दा भविष्यमा भयावह स्थितिसमेत सृजना हुन सक्ने देखिएको  छ।

वैदेशिक रोजगारीमा जानेहरुले पत्नी र बालवच्चालाई शहरमा ल्याएर डेरामा राख्ने भरपर्दो आफन्त नहुँदा पीडित हुने पुरुषको संख्या बढेको प्रहरीले जनाएको छ। हुन त महिलाविरुद्धपनि समाजमा हिंसाका घटना छन तर वैदेशिक रोजगारीमा गएका पुरुषका पत्नीको नियतीले पीडित पुरुषको संख्या बढदो  छ।

कानुनी रुपमा पुरुषभन्दा महिलालाई सहज छ । जसले गर्दा पनि पुरुष पीडित हुने क्रम बढन थालेको हो ।  विदेशमा पती हुँदा घरको हरेक गतिविधिबारे जानकारी लिन पतीले फेसबुक, भिडियो च्याट राख्न लगाउने र नयाँ पुरुषसँग सम्बन्ध क्रमश बढेर गाढा हुँदा महिला हराउने क्रम बढेको इटहरीका डिएसपी ओम अधिकारीले बताए ।

‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने,  ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो  छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार हराएका अधिकतर महिलाले विवाहित पुरुषसँग दोस्रो पत्नी भएर जाने गरेका छन् । प्रहरीको अनुसन्धान अनुसार अविवाहित केटा हतपत्त फसेको पाइदैन् ।

 

प्रकाशित: ३० असार २०७३ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App