८ वैशाख २०८१ शनिबार
समाज

नारायणगढ-मुग्लिन सडक खण्डको पहाड विस्फोट गर्न माग

मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको पहिरो

चितवन—नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ।

सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ।

मुग्लिनबाट नारायणगढ सडक निर्माणकको काम हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। समयमै काम नसकिँदा दुई पटक समय थप भइसकेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो। खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड छ।

त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ। सो क्षेत्रमा सडक ५ दशमलव ५० मि चौडा मात्रै रहेको छ। जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ। परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्नेछ।

खनालका अनुसार विस्फोट आफैँमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत अध्ययन गरेपछि मात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताए। विस्फोट गर्नुपर्दा पूरै पहाड खस्न सक्ने, पछि पनि फेरि पहिरो खसिरहन सक्ने, लामो समयसम्म सडक बन्द हुने जस्ता समस्या आउन सक्ने देखिएको छ।

यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ। सोअन्तर्गत ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ। सो क्षेत्रमा एक दशमलव ५ मि सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ।

मुग्लिनबाट नारायणगढ सडक निर्माणकको काम हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। समयमै काम नसकिँदा दुई पटक समय थप भइसकेको छ।

सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ। आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन। दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किमीमा तीन सय मिटर तथा घुमाउनेमा दुई सय मिटर सडक चौडा गर्नुपर्ने हुन्छ। हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ जसलाई ११ मि फराकिलो बनाउनुपर्ने हुन्छ।

करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए।

त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ ठाउँमा गरी पाँच सय मि सडक चौडा गर्नुपर्ने हुन्छ। खनालका अनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशत मात्र काम भएको छ।

कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मिटर मात्र सडक फराकिलो छ जसलाई नौ मिटर फराकिलो पुर्‍याउनु पर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ।

तीन खण्ड बनाएर विस्तार थालिएको सो सडक खण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ। सोअनुरुप आँपटारीदेखि दासढङ्गासम्मको पहिलो खण्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ।

दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा आगामी मङ्सिर १२ गते सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो। विसं २०७१ चैत २६ गतेदेखि काम थालिएको हो।

तेत्तिस किमी सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन्। रासस

प्रकाशित: ३ वैशाख २०७४ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App