coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

परमाणु बमले जवाफ फर्काउने उत्तर कोरियाको चेतावनी

सोल– कोरियाली प्रायद्विपमा उत्तेजनात्मक भूमिका नगर्न चेतावनी दिदैं अमेरिकाले कुनै पनि कारबाही गरे परमाणु हतियारले प्रतिवाद गर्न तयार रहेको उत्तर कोरियाले बताएको छ।

उत्तर कोरियाली संस्थापक राष्ट्रपति किम इल–सङको १०५औं जन्मजयन्ती मनाउने क्रममा अमेरिकालाई उक्त चेतवानी दिइएको बिबिसीले जनाएको छ । संस्थापक नेताको जन्मदिनको अवसर पारेर शनिबार राजधानी प्योङयाङमा सैन्य शक्ति प्रस्तुत गर्ने क्रममा उत्तरले आफ्नो सेना, ट्याङ्क तथा सैन्य सामाग्रीसहितको परेड आयोजना गरेको छ।

१०५ वर्षअघि जन्मिएका उत्तर कोरियाली संस्थापक नेता किम इल सङको निधन भएको धेरै वर्ष बिते पनि उत्तर कोरियाको संविधान अनुसार अझै पनि उनी उक्त पदमा रहिरहेका छन्।

उत्तर कोरियाली संस्थापक नेता सङका नाति वर्तमान उत्तर कोरियाली शासक किम जोङ उनले नयाँ परमाणु परीक्षणको आदेश दिने अड्कलबाजी भईरहेकै बेला राजधानी प्योङयाङमा बृहत्त शक्ति प्रदशर्न गरिएको बिबिसीले जनाएको छ।

उत्तर कोरिया कुनै पनि पूर्ण प्रकृतिको युद्धलाई त्यसै अनुसारको जवाफ दिन तयार रहेको तथा परमाणु आक्रमणको जवाफ आफ्नै शैलीको परमाणु हमलाबाट दिन तयार रहेको उत्तर कोरियाली सैनिक अधिकारी चोइ योङ हेइको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिकासँगको चुलिँदो तनावले द्वन्द्व निम्त्याउन सक्ने चिन्ता व्यक्त भइरहँदा शनिबार उत्तरले गरेको कार्यक्रममा भव्य रुपमा सैन्य शक्ति प्रदर्शन गरिएको थियो।

प्योङयाङ सहरको केन्द्रमा रहेको किम इल–सङ स्क्वायरमा सैनिकहरुले कवाज र ‘मार्च पास’ प्रदर्शन गरेका थिए। प्रदर्शनीमा पहिलोपटक पनडुबीबाट मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र पनि देखाइएको थियो। उक्त क्षेप्यास्त्रको क्षमता अभिवृद्धि गरी त्यसलाई विश्वको कुनै पनि निशानमा मार हान्न सक्ने बनाउन सकिने उत्तर कोरियाले बताएको छ।

उत्तर कोरियाले सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढाउँदै गइरहेको छ भन्ने चिन्ता विश्वभर भईरहेका बेला शनिबारको प्रदर्शनीलाई उत्तरले आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरेको बताइएको छ।

अमेरिकाबाट निरन्तर परमाणु कार्यक्रम अन्त्य गर्न दबाब खेपिरहेको उत्तर कोरियाका लागि उसका कार्यक्रमको महत्व पछिल्लो सैन्य प्रदर्शनीले पनि स्पष्ट पारेको बिबिसीले जनाएको छ।

हालै अमेरिकी सेनाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ । उत्तर कोरियाले पाँचवटा परमाणु परीक्षणका साथै श्रृंखलाबद्ध रुपमा क्षेप्यास्त्रहरुको पनि परीक्षण गरिरहेको छ।

उत्तरले शनिबार शक्ति प्रदर्शन गर्नुपूर्व शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि समयमा द्वन्द्व शुरु हुन सक्ने भन्दै त्यस्तो अवस्थामा कसैले नजित्ने टिप्पणी गरेका थिए।

पछिल्ला दिनमा एकतर्फ अमेरिका र दक्षिण कोरिया अनि अर्कोतर्फ उत्तर कोरियाबीच तनाव देखिएको र जुनसुकै पनि बेला पनि द्वन्द्व सुरु हुनसक्ने ठानिएकाले अहिलेको अवस्थामा सबै सरोकारवाला पक्ष एकदमै सावधान हुनुपर्ने विदेशमन्त्री वाङले बताएका थिए।

उत्तर कोरियाको छिमेकी र एकमात्र साझेदार देश चीनले कुनै पनि द्वन्द्वले त्यहाँ सत्ता परिवर्तन गराउन सक्ने र आफ्नो सीमा क्षेत्रमा समस्या निम्त्याउन सक्ने आंकलन गर्दै सीमानामा आफ्नो सेनालाई तयारी अवस्थामा राखेको बताइएको छ।

अघिल्लो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयमा चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरियाविरुद्ध कदम चाल्ने चेतावनी दिएका थिए।

अमेरिका र उत्तर कोरियाबीचको तनावमा चिनियाँ चासोलाई बुझेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरको समस्यामा ध्यान दिइने प्रतिक्रिया व्यक्त गरेका थिए। पछिल्लो समय उत्तर कोरियालाई सहमतिमा ल्याउन पनि अमेरिकाले सिरिया र अफ्गानिस्तानमा हमला गरेको विश्लेषण गरिएका छन्।

१०५ वर्षअघि जन्मिएका उत्तर कोरियाली संस्थापक नेता किम इल सङको निधन भएको धेरै वर्ष बिते पनि उत्तर कोरियाको संविधान अनुसार अझै पनि उनी उक्त पदमा रहिरहेका छन्।

कोरियाली प्रायद्वीपको तनाव उच्च विन्दुमा पुगेको जस्तो देखिएका बेला शनिबार प्योङयाङमा मनाइएको संस्थापक नेताको जन्मजयन्ती समारोहले विश्वको ध्यान खिचेको छ । 

उत्तर कोरियाको हतियार भण्डार नै उसको सबैभन्दा ठूलो शक्ति बनेको देखिएको छ । दक्षिण कोरियासँग सीमाना जोडिएकाले उसले केही मिनेटमा नै दक्षिण कोरियाली राजधानी सोलमा धनजनको ठूलो क्षति गराउनसक्ने विश्लेषण गरिएका छन् ।

विभिन्न नाकाबन्दी खेपिरहेको र विश्वबाट अलग भएपनि उत्तर कोरियाले हालैका वर्षमा सबै निर्वाचित अमेरिकी राष्ट्रपतिहरुको ध्यान आफूतर्फ तानिरहेको छ ।

आफूले पदभार ग्रहण गरे लगत्तै उत्तरले श्रृखंलावद्ध रुपमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतको जस्तै असफल वार्ताहरुलाई निरन्तरता दिने या अन्य कुनै नाटकीय विकल्प रोज्ने भन्नेबारे विचार गरिरहेको बताइएको छ ।

अमेरिकाले उत्तर कोरियालाई सुरक्षित महसुस हुने गरी विकल्प नदिएसम्म परमाणु कार्यक्रमसम्बन्धी वार्ताहरु असफल भइरहने बिबिसीले जनाएको छ ।

प्रकाशित: ३ वैशाख २०७४ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App