coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

शिलान्यासको एकवर्षमा देखिनेकाम भएन

पोखरा- पोहोर वैशाख १ गते सरकारले राष्ट्रिय गौरवका आयोजना भन्दै प्राथमिकतामा राखेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास सरकारलाई 'रेकर्ड राख्न' का लागि नभई तत्काल निर्माण कार्य अघि बढाउने आश्वासन दिएका थिए।

मुख्य राजनीतिक दलका शीर्ष नेता सहभागीभएर प्रधानमन्त्रीले रेकर्ड राख्नका लागि मात्र शिलान्यास नगरेको बताउँदा पोखरेली जनता विमानस्थल निर्माणले तत्काल गति लिन्छ भन्नेमा विश्वस्त थिए। एकवर्षभित्र विमानस्थलमा धेरै नै पूर्वाधार बनिसक्ने पोखरेलीको अपेक्षा थियो। त्यो अपेक्षा एकवर्षमा पूरा हुन सकेन।

विमानस्थलको 'रन–वेमा शिलान्यास गरिएकोले यो वर्ष विकासे कामको गति रन–वेमा जहाज कुँदेजस्तै' तीव्र हुने पोहोर प्रधानमन्त्री ओलीले बताएका थिए। तर, ओली र अन्य शीर्ष नेताले बोलेजस्तो विकासले गति लिएको पोखरेलीले देख्न पाएनन्। केही कागजी र पूर्वाधारका सामान्य कामबाहेक विमानस्थलमा देखिनेगरी ठूलो भौतिक परिवर्तन भएको छैन। त्यसले पोखरेलीमा विमानस्थल नबन्ने पो हो कि भन्ने त्रास छाएको छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे एकवर्षको अवधिमा देखिनेगरी कुनैपनि काम हुन नसकेको बताउँछन्। 'मैले व्यक्तिगत रुपमा पनि एकवर्षमा कम्तीमा रन–वेमा केही देखिने काम हुन्छ भन्ने सोचेको थिएँ,' उनले भने, 'तर, अहिलेसम्म केही देखेको छैन। कागजी काम धेरै भएका हुन सक्छन्। तर, जनता कागजी नभई भौतिक काम हेर्न चाहन्छन्।' शिलान्यास गरेको एकवर्ष पुगेको उपलक्ष्यमा बधाई दिने बेला मात्र भएको उनले बताए।

प्रधानमन्त्रीले नै शिलान्यास गरेर पनि काम थालनी नहुनु हाँस्यास्पद रहेको उनले बताए। 'यो विगतदेखि वर्तमान सरकारसम्मको अदुरदर्शिता हो। ४० वर्षसम्म पोखरेलीले कुरेको विमानस्थल निर्माण कुनैबेला पैसा नभएर रोकियो,' पालिखेले भने, 'अहिले पैसा र जग्गा हुँदा पनि काम देखिएन। यस्तो गतिलाई विकासको मोडालिटी मान्न सकिन्न।' पोखराको यो विमानस्थलको कामले नेपालमा कुन गतिमा विकासका काम अघि बढ्छ भन्ने देखाउने उनले बताए। 'दुई देशबीच हुनुपर्ने सबै सम्झौता भइसकेको छ। तर, काम अघि बढेको छैन,' उनले भने, 'यसले पोखरेलीलाई सन्तोष दिँदैन।'

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष भरतराज पराजुली पनि शिलान्यासमा राजनीतिक दलका शीर्ष नेता सहभागी हुँदा काम अघि बढ्छ भन्ने लागेपनि त्यसपछि रोकिँदा निराश बनाएको बताउँछन्। 'यो अवधिमा कम्तीमा प्राविधिक र निर्माण टिम खटिइसक्नुपर्ने हो। अहिलेसम्म केही काम देखिएको छैन,' उनले भने, 'अविलम्ब होस् भन्ने चाहेका हौं। राजनीतिक अस्थिरता र वर्तमान सरकारले चिनियाँ सरकारसँग गतिलो सम्बन्ध राख्न नसकेको अनुभव भएको छ।'

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारी एकवर्षे अवधिमा देखिनेगरी भौतिक काम नभएपनि धेरै कागजी प्रक्रिया पूराभएको बताउँछन्। भौतिक पूर्वाधार बन्नुमात्रै विमानस्थल निर्माणले गति लिएको भन्न नमिल्ने उनी बताउँछन्। 'हामीसँग जग्गाबाहेक केही थिएन। एकवर्ष अवधिमा धेरै कागजी काम भए। जग्गाले मात्र विमानस्थल बन्ने होइन त्यसका धेरै प्रक्रिया हुन्छन्,' अधिकारीले भने, 'यो अवधिमा तिनै कागजी प्रक्रिया पूरा भए। देखिने गरी भौतिक पूर्वाधार बन्न अब सुरु हुन्छ।'

अधिकारीका अनुसार शिलान्यासपछि विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहायक ऋण सम्झौता भएको छ। ब्याजदरमा कुरा नमिल्दा लामो समयदेखि यो सम्झौता हुन सकेको थिएन। अर्थ मन्त्रालयले पाँच प्रतिशत ब्याजदरमा प्राधिकरणलाई ऋण उपलब्ध गराउने सहमति यो अवधिमा भएको छ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भएको थियो। प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्नेे छ। उनका अनुसार सुरुका सात वर्षलाई 'ग्रेस पिरियड' मानिएको छ। त्यसैले प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ। वर्षमा दुई किस्ताका दरले २६ किस्ता (१३ वर्ष) मा ऋण चुक्ता गर्नेगरी सम्झौता भएको अधिकारीले बताए।

त्यस्तै विमानस्थल बनाउन पाँच सय २१ रोपनी जग्गा अधिग्रहण सकिएको छ। विमास्थल वरिपरि करिब पाँच किलोमिटर लम्बाइको १० मिटर चौडा सडक बनाउनका लागि थप ५० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। डिजाइनको रिभ्यू र स्वीकृतिका लागि प्राधिकरणले आवश्यक परामर्शदाता छनौटको काम गरेको छ। ती बाहेक ढलको निकास, पहिरो नियन्त्रण, कार्यालयसम्म जाने सडक कालोपत्रे पनि सकिएको छ। 'सबैगरी अहिलेसम्म करिब साढे पाँच अर्ब रुपैयाँ रकम खर्च भइसकेको छ। यो खर्च विमानस्थल बनाउन लाग्ने लागतभन्दा थप हो,' उनले भने, 'यतिधेरै रकम खर्च भइसक्दा अब विमानस्थल बन्दैन कि भनेर आशंका गर्नुपर्दैन।'

अधिकारीका अनुसार भौतिक पूर्वाधारका काम सुरु नहुनुमा ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्ने प्रक्रियाको ढिलाइले हो। यो प्रक्रिया अन्तिमचरणमा आइसकेको उनले बताए। अधिकारीका अनुसार ऋण भुक्तानीका लागि खोलिने खातालाई 'स्क्रो खाता भनिन्छ। स्क्रो खाता दुईप्रकारको हुन्छ। एउटा स्क्रो रेभिन्यू र अर्काे स्क्रो डिपोजिट हुन्छ। विमानस्थल सञ्चालनमा आएपछिको आम्दानी स्क्रो रेभिन्यूमा जम्मा हुन्छ र किस्ता तिर्ने बेला स्क्रो डिपोजिट खातामा संकलन हुन्छ। 'त्यही स्क्रो खाता खोल्नढिलाइ भएको हो। त्यसमा आशंका गर्न जरुरी छैन,' उनले भने, 'नेपाल सरकारका तर्फबाट सबै प्रक्रिया पूरा भएर स्क्रो खाता खोल्नका लागि प्रक्रिया अघि बढाउन भन्दै एक्जिम बैंकलाई पत्राचार गरिएको छ। एक्जिम बैंकसँगको प्रक्रियामा ढिलाइ भएको हो। अब करिब टुंगिएको छ।'

एक्जिम बैंकले पछिल्लो समय पोखरासहित नेपालका सबै विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा गर्नुपर्ने माग गरेको थियो। पोखरा विमानस्थल बाहेक अन्य विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा गर्न नसक्ने भन्दै सरकारले एक्जिम बैंकलाई जवाफ पठाएको थियो। 'सबै विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा हुनुपर्छ भन्ने एक्जिम बैंकको माग थियो। तर, सरकारले त्यो सर्तअस्वीकार गरेको छ,' उनले भने, 'अन्तिममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछिको आम्दानी मात्र खातामा जम्मा गर्न एक्जिम बैंक राजी भयो। अब कुरा मिलिसकेको छ।' एक्जिम बैंकको नीतिगत समस्याले ढिलिएको उनले बताए।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो। प्राधिकरण र सिएएमसिइ बीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार 'फोरडी' मोडलमा विमानस्थल बनाउने उल्लेख छ।

इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चारवर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ। सन् २०२० जुलाईभित्र विमानस्थल बनिसक्ने सरकारले बताउँदै आएको छ। चारदशकअघि पोखरा–१४, १५ र १८ वडाको तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप पाँचसय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। आयोजना प्रमुख अधिकारीले स्क्रो एकाउन्ट खोल्ने सहमति नजिक रहेकाले तत्काल काम अघि बढ्ने बताए। 'भौतिक पूर्वाधार बन्ने काम अब छिटै सुरु हुन्छ,' उनले भने।

प्रकाशित: ३ वैशाख २०७४ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App