coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर २ मा आन्तरिक तयारी तीव्र

मधेसकेन्द्रित दल अधिकार प्राप्तिको आन्दोलन तथा राजनीतिक मुद्दामा अल्भि्कए पनि उनीहरूको  प्रभाव क्षेत्र प्रदेश नम्बर–२ (सप्तरीदेखि पर्सासम्म) मा भने स्थानीय तह निर्वाचनको सरगर्मी बढ्न थालेको छ।

नेपाली कांग्ा्रेस, एमाले र माओवादी–केन्द्रका नेताकार्यकर्ताले आन्तरिक रूपमा विभिन्न नगरपालिकामा आफ्नो उम्मेदवारी दाबी र त्यसका लागि पार्टीमा लबिङ सुरु गरेका छन्। संयुक्त मधेसी मोर्चासम्बद्ध  दलका स्थानीय नेताहरूले भने अन्य दलसरह नगरपालिका नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छैनन्। मधेसका मुद्दालाई समाधान गरेर मात्र स्थानीय तह निर्वाचनमा जानुपर्ने  विश्लेषकहरूको धारणा छ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषा, सिरहा, वीरगन्ज र रौतहटमा नगर नेतृत्वका लागि विभिन्न पार्टीबाट आकांक्षी देखिएका छन् ।

धनुषा

स्थानीय तह निर्वाचनको समय नजिकिएपछि प्रमुख दल आन्तरिक चुनावी छलफलमा लाग्न थालेका छन्। मधेसकेन्द्रित दलले भने चुनावको नामै सुन्न चाहेका छैनन्। 

कांग्रेसको पकड रहेको धनुषामा एमाले र माओवादी केन्द्रले पार्टीभित्र चुनावकेन्द्रित छलफल सुरु गरेका छन्। मधेसी मोर्चाको आन्दोलन प्रभावले उनीहरूले खुलेर चुनावको पक्षमा अझै माहोल बनाउन सकिरहेका छैनन् ।

धनुषामा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रले जिल्लाका १७ वटै एकाइमा चुनावकेन्द्रित छलफल सुरु गरी उम्मेदवार सिफारिस समिति बनाएका छन्। मधेसकेन्द्रित दलका कार्यकर्ता अझै 'पर्ख र हेर' को नीतिमा छन्। मधेसी मोर्चाले भनेजस्तै संविधान संशोधन नभएसम्म चुनावी छलफलमा भाग नलिने अडानमा उनीहरू छन्।

क्षिरेश्वरनाथ नगरपालिका

पूर्वराष्ट्रपति डा.रामवरण यादव निर्वाचित धनुषाको क्षेत्र नम्बर ५ मा पर्छ क्षिरेश्वरनाथ नगरपालिका। नगरको मेयरमा कांग्रेसले क्षेत्रीय सभापति योगेन्द्र पजियार, मोहन माथेमा, सुकदेव यादव र लालबाबु यादवमध्ये एकलाई उम्मेदवार बनाउने देखिन्छ। अहिले चर्चामा रहेकामध्ये पजियारको सम्भावना बढी छ।

माओवादी केन्द्रबाट वाइसिएल नेता श्याम यादव र वीरेन्द्र महतोको नाम चर्चामा छ। एमालेका हरि पौडेल, कमलकिशोर चौधरी र श्याम यादवको नाममा छलफल चलिरहेको छ।

मिथिला नगरपालिका

पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको मेयरमा कांग्रेसले राजकुमार महतो र जोगी महतोको नाममा छलफल गरिरहेको छ। माओवादी केन्द्रबाट पछिल्लो संविधानसभा निर्वाचनमा लडेका रामकुमार महतो र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनीष जर्घामगरको नाम चर्चामा छ। एमालेभित्र पूर्वजिल्ला अध्यक्ष हरिनारायण महतो, टंकप्रसाद बराल र जिल्ला सचिव सोमप्रसाद शर्माले टिकट हात पार्न पहल गरिरहेका छन्।

धनुषाधाम नगरपालिका

कुनैबेला शेरे धनुषाको नामले चर्चित पूर्वमन्त्री हेमबहादुर मल्लको गृहनगर धनुषाधाममा मल्लकी बुहारी प्रेक्षा मल्लको नाम राप्रपाबाट मेयरका रूपमा चर्चामा छ। यद्यपि, प्रेक्षाले मेयर लड्ने मनस्थिति बनाइनसकेको पार्टी स्रोतले बतायो।

माओवादी केन्द्रबाट दीपक यादव, परीक्षण यादव, कांग्रेसबाट विष्णु यादव, बालेश्वर मण्डल तथा रामसत साह र एमालेबाट योगकुमार यादव, रामबाबु यादव, भगवानदत्त साहलगायतको नाम मेयर उम्मेदवारका लागि चर्चामा छ। 

गणेशमान चारनाथ नगरपालिका

गणेशमान चारनाथमा कांग्रेसका रामसुक यादव, रामचरित्र यादव, गणेश जयसवाल, सूर्यनारायण यादव, दीपनारायण यादवलगायतको नाम मेयरमा चर्चामा छ। माओवादीबाट विष्णुदेव यादव र दुर्गा मल्ल चर्चामा छन्। एमालेका राजेश्वर मण्डल, पुरुषोत्तम लामा र सीता कार्कीले आकांक्षा राखेका छन्।

सबैला नगरपालिका

सबैलामा कांग्रेसका जिल्ला कोषाध्यक्ष हरिनारायण साह, पूर्व क्षेत्रीय सभापति श्यामनारायण यादव र नगरसभापति विजयशंकर साहको नाम छलफलमा राखिएको छ। माओवादीबाट रोशन यादव, परशुराम साह र रामबली साहको नाम चर्चामा छ। एमालेबाट राजु गुप्ता, दुर्गा राय र हरिकिशोर यादवलगायतको नाममा छलफल चलिरहेको छ।

सहिदनगर नगरपालिका

पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलनमा इतिहास रचेको यस नगरपालिकाको मेयरका लागि कांग्रेसका शत्रुधन यादव, देवेन्द्र भर्खेर, क्षेत्रीय सभापति नवीन यादव र साधु यादवको नाममा छलफलमा रहेको पार्टीले जनाएको छ। माओवादी केन्द्रबाट अझै खुलेर उम्मेदवार आइनसकेको जिल्ला अध्यक्ष झल्कु यादवले बताए। एमालेबाट रामचन्द्र मण्डल, सुरेशप्रसाद यादव र जयप्रकाश सुनरैत यादवको चर्चा छ।

विदेह नगरपालिका

विदेह नगरको मेयरको टिकट हात पार्न कांग्रेसबाट सत्यनारायण साह, रामचन्द्र मण्डल र प्रेमचन्द्र झाले लबिङ गरिरहेका छन्। माओवादी केन्द्रबाट मेयर उम्मेदवारको टुंगो लागेको छैन। एमालेबाट राजकिशोर सिंह, रामभरोसी राउत र राजकिशोर मण्डलको नाम चर्चामा छ।

नगराइन नगरपालिका

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर रहेको यस नगरपालिकाको मेयर लड्न कांग्रेसबाट क्षेत्रीय सभापति परमेश्वर यादव, श्याम यादव र निधिको नाता पर्ने श्याम निधिले दाबी गरिरहेका छन्। माओवादीबाट प्रमोद राउतको चर्चामा छ। एमालेबाट श्यामसुन्दर चौधरी, वेदकुमारी मण्डल र मोहम्मद कैशको नाममा पार्टीभित्र छलफल चलिरहेको छ।

सिरहा

संविधानमा संशोधन नभएसम्म चुनावमा नजाने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट सिरहामा आकांक्षीको नाम चर्चामा छैन। यहाँ कांग्ा्रेस, एमाले र माओवादी–केन्द्रले आन्तरिक रूपमा चुनावी तयारी तीव्र बनाए पनि सार्वजनिक  सभामार्फत गतिविधि अगाडि बढाएका छैनन्। राजनीतिक सकस नफुक्दा  प्रमुख दलका नेता गाउँ पस्न नसकेका हरकट्टीका पाका नागरिक हर्कनारायण यादव बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म चुनाव नेता कार्यकर्तामा मात्र सीमित छ, जनतासम्म पुग्न सकेको छैन्।’

लहान नगरपालिका

सिरहाका ६ नगरपालिकामध्ये लहान नगरपालिकामा प्रमुख बन्न आकांक्षीबीच प्रतिस्पर्धा छ। लहान नगर प्रमुखमा कांग्रेसबाट अचमितलाल चौधरी, सनिल महतो, रामसुन्दर चौधरी र महेश चौधरीको चर्चा छ। एमालेबाट नगर प्रमुखमा मुनि साहको दाबी छ। साह भर्खरै माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन्। राप्रपाबाट लगनलाल चौधरीको चर्चा छ।

धनगढी नगरपालिका

 धनगढीको प्रमुखमा कांग्रेसबाट पञ्चलाल महतोको चर्चा छ। एमालेबाट उत्तरबहादुर मगर र शिवशंकर सिंहले  दाबी गरेका छन्। माओवादी केन्द्रबाट हरिनारायण चौधरीको चर्चा छ।

गोलबजार नगरपालिका

गोलबजारमा कांग्रेसबाट चन्द्रदेव यादव र लालबाबु साहको चर्चा छ। माओवादी केन्द्रबाट जगत यादव, रामनारायण सिंह र देवनाथ साहको नाम चर्चामा छ। एमालेबाट श्याम श्रेष्ठ, योगेन्द्र सिंह र धर्मनाथ महतोले दाबी गरेका छन्।

सिरहा नगरपालिका

सिरहा नगरको प्रमुखमा कांग्रेसबाट उपेन्द्र यादव र डा. सुभाष यादवको नाम चर्चामा छ। एमालेबाट जिल्ला अध्यक्ष प्रमोद यादवले दाबी गरेका छन्।

मिर्चैया नगरपालिका

 मर्चैया नगर प्रमुखमा कांग्रेसबाट अरुण सिंह, भरतकान्त अर्यालको चर्चा छ। माओवादी केन्द्रबाट दिलीप साह र श्रवण यादव आकांक्षी छन्।

रौतहट

तीन नगरपालिका र १३ गाउँपालिका रहेको रौतहटमा चुनावी सरगर्मी बढेको छ। मधेसी मोर्चा निर्वाचन विरोधमा रहे पनि अन्य पार्टी भने निर्वाचन तयारीमा जुटेका छन् ।

गौर नगरपालिका

रौतहट, सदरमुकाम गौर नगरपालिकामा कांग्रेस र माओवादी–केन्द्रका स्थानीय नेताले उम्मेदवार बन्न लबिङ थालेका छन्। कांग्रेसबाट सजन साह, गौरीशंकर यादव, राजेश साह मेयरको आकांक्षी देखिएका छन्। यादव गौरका पूर्वमेयरसमेत हुन्। माओवादी केन्द्रबाट रामप्रताप यादव, राजेश साह, चन्देश्वर राउत, सत्यनारायण यादव र अवधविहारी साहले आकांक्षा देखाएका छन् । एमालेबाट नवप्रवेशी व्यवसायी शम्भु साहको नाम चर्चामा छ।

गरुडा नगरपालिका

रौतहटको व्यापारिक केन्द्र गरुडामा गरुडामा तीनवटै प्रमुख पार्टीबाट मेयर बन्ने आकांक्षीको संख्या बढी छ। कांग्रेसबाट धर्मनाथ प्रसाद जयसवाल, रामभरोसी यादव, रामकृष्ण चौधरी, सुनील यादव, कन्थमणिप्रसाद जयसवाल मेयरका दाबेदार छन्। एमालेबाट शेख कलिमुल्लाह, मणिलाल सहनी, वीरेन्द्र यादव, ननिपत सहनी, अशोक यादवलगायत मेयरका आकांक्षी छन्। ननिपत सहनी र वीरेन्द्र यादव पूर्व गाविस अध्यक्ष हुन्। माओवादी–केन्द्रबाट बिपिन जयसवाल र चन्दे्रश्वर यादवको नाम चर्चामा छ।

चन्द्रपुर नगरपालिका

चन्द्रपुरमा तुलनात्मक रूपमा निर्वाचनको माहोल तातेको छ। कांग्रेसबाट रमेशहरि भट्टराई, पत्रकार सञ्जय कार्की, रामचन्द्र चौधरी, धनलाल थोकरले मेयरका लागि दाबेदारी गरेका छन्। एमालेबाट भने पूर्व गाविस अध्यक्ष उद्धव रेग्मी, कृष्ण तिमल्सिना, बाबुराम दाहालको दाबी छ। माओवादी केन्द्रबाट समीर भट्टराई, राजु धामी, एकराज थापा र हरि पौडलको नाम चर्चामा छ।

निर्वाचनमिति नजिकिँदै जाँदा मेयरका आकांक्षीको संख्या बढ्दो छ। सद्भावना पार्टीका सहमहासचिव अजय गुप्ताले संविधान संशोधनलगायत मधेस मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग नलिने बताए।

पर्सा

पोखरिया नगरपालिका

पोखरियाको मेयरमा पूर्वसांसदले पनि दाबी गरेका छन्। अन्य दाबेदार भने विभिन्न पार्टीका 'हेभिवेट' र नयाँ अनुहार छन्। कांग्रेसबाट मेयरमा पूर्वसांसद रामेश्वर रौनियार, साबिक मुड्ली गाविसका पूर्वअध्यक्ष राजेन्द्र कुर्मी,  ओमप्रकाश गुप्ता र सकिम मियाँको नाम चर्चामा छ। एमालेबाट पूर्वसांसद् प्रद्युम्न चौहान, पत्रकार अनुप तिवारी र दिनेश कलवारले आकांक्षा देखाएका छन्। संघीय समाजवादी फोरम नेपालबाट दिपु तिवारी, शंकर राउत, बृजेश चौहानले दाबी गरेका छन्।

तराईमधेस लोकतान्त्रिक पार्टीबाट जोगानन्द चौहान, संघीय समाजवादी फोरमबाट दीपनारायण रौनियार (मन्टु) को नाम चर्चामा छ। माओवादी केन्›बाट रामबाबु बैठा, शम्भु पाल, पन्नालाल पटेल आकांक्षी छन्। नयाँ शक्ति पार्टीबाट छठु साहको दाबेदारी छ।

सुरेश यादव/जनकपुर, मिथिलेश यादव/लहान, रितेश त्रिपाठी/वीरगन्ज र मदन ठाकुर/रौतहट को सहयोगमा

प्रकाशित: ३ वैशाख २०७४ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App