coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवारको टुंगो गाउँबाटै

दोलखा- स्थानीय तहको निर्वाचनमा जुटेका दलहरू उम्मेदवारको टुंगो लगाउन र आकांक्षी व्यवस्थापन गर्न व्यस्त छन्। सात गाउँपालिका र दुई नगरपालिका रहेको दोलखामा स्थानीय तहको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

तीनै दलका तल्लो तहका कमिटीले उम्मेदवार चयन सकभर सर्वसम्मत र नसके जिल्ला कमिटीलाई सिफारिस गर्न थालेका छन्।

कांग्रेसले तामाकोसी गाउँपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ। एमालेले गौरीशंकर गाउँपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा गरेको छ। कांग्रेस र एमालेले केही वडामा अध्यक्षका उम्मेदवार टुंग्याएका छन्। एमालेका तल्लो तहका सबै कमिटीले जिल्ला समितिमा उम्मेदवार सिफारिस गरेका छन्।

तामाकोसी गाउँपालिकामा कांग्रेसले भवेन्द्र कार्कीलाई प्रमुख र सिर्जना सुवेदीलाई उपप्रमुखका रूपमा अघि सारेको छ। ट्रेड युनियन कांग्रेसका पूर्व जिल्ला अध्यक्ष एवं पार्टीको जिल्ला संगठन विभाग प्रमुख कार्की कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको गाउँ झुलेका हुन्। पूर्व महासमिति सदस्य सहरे गाउँकी सुवेदी महिला अधिकार आन्दोलनमा सक्रिय छिन्।

एमालेले गौरीशंकर गाउँपालिका प्रमुखमा स्वयंबहादुर खड्का र उपप्रमुखमा उर्मिला थामीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ। हलेश्वर मावि सुरीका शिक्षक खड्का राजीनामा दिएर चुनाव लड्न लागेका हुन्। पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष थामी जुगु गाउँकी हुन्।

कालिञ्चोक गाउँपालिकामा कांग्रेसबाट ३ र ४ नम्बर वडा लामिडाँडामा बालानन्द शिवाकोटी र लोकराज पाठक, ५ र ६ लापिलाङमा सहदेव खड्का र मानबहादुर बस्नेत, ७ र ८ सुनखानीमा तीर्थ शिवाकोटी र संग्रामबहादुर आचार्य र ९ सुन्द्रावतीमा रामप्रसाद मैनाली वडाध्यक्षका उम्मेदवार भएका छन्। यस्तै सोही गाउँपालिकामा एमालेबाट ३ नम्बर वडामा निसान बुढाथोकी, ५ मा सुवास थामी र ९ मा घनश्याम सेढाईं उम्मेदवार बनेका छन्।

यस्तै बिगु गाउँपालिका ९ खोपाचागुमा कांग्रेसका खेमबहादुर खड्का वडाध्यक्ष उम्मेदवार बनेका छन्। सोही गाउँपालिकाको ६ नम्बर वडा आलम्पुमा पदमबहादुर धामी उम्मेदवार बनेका छन्। गौरीशंकर गाउँपालिका ९ मा एमालेका छिरिङ शेर्पा र ८ मा उमेश गुरुङ उम्मेदवार बनेका छन्।

भीमेश्वर नगरपालिका १ क्षमावतीमा कांग्रेसबाट भक्तसिंह थामी र एमालेबाट वीरबहादुर थामी वडाध्यक्ष उम्मेदवार बनेका छन्। नगरको ३ नम्बर वडा चरीकोटमा कांग्रेसका हरिशरण शिवाकोटी, ६ नम्बर चरिकोटमै युवराज थापा (राजु) सर्वसम्मत उम्मेदवार बनेका छन्।

सैलुङ गाउँपालिकामा एमालेले दुई वडाध्यक्ष टुंग्याएको छ। मागापौवाको तल्लो क्षेत्र समेटिने सैलुङ गाउँपालिकाको वडा नं ४ मा भरतप्रसाद ढुंगेल र फस्कुको माथ्लो भाग समेटिने ६ नम्बर वडामा राजु खड्का वडाध्यक्षका उम्मेदवार बनेका छन्। मेलुङ गाउँपालिकामा कांग्रेसले वडा नम्बर ७ नम्बर वडामा कुमार कार्की र एमालेले २ र ३ नम्बर वडामा क्रमशः जितबहादुर भण्डारी र विदुर शर्मालाई उम्मेदवार बनाएको छ। 

तामाकोसी गाउँपालिकाको वडा नम्बर १ भीभरकोटमा कांग्रेसले महेश काफ्ले र एमालेले ज्ञानेन्द्रराज केसीलाई उम्मेदवार बनाएको छ। यस्तै एमालेले सोही गाउँपालिकाको ६ नम्बर वडा च्यामामा झनकबहादुर खत्री र ५ नम्बर वडा सहरेमा राजकुमार रोकाहालाई अध्यक्ष उम्मेदवार चयन गरेको छ। जिरी नगरपालिका ३ मा कांग्रेसबाट अशोक केसी वडाध्यक्षका उम्मेदवार बनेका छन्।

एमालेलाई सकस

जिल्लामा क्रियाशील दलमध्ये सबैभन्दा बढी आकांक्षी एमालेमा छन्। एउटै वडामा ४३ जना सम्म उम्मेदवार सिफारिस भएका छन्। एमाले दोलखाका अनुसार भीमेश्वर नगरपालिका ५ बाट १९ जना वडाध्यक्षसहित ४३ जना उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ।

यस्तै वैत्येश्वरबाट प्रमुखमा १० जनाको नाम सिफारिस भएको छ। जिरी नगरपालिकाबाट ९,  सैलुङबाट ९, तामाकोसीबाट ९, कालिञ्चोकबाट ७, बिगुबाट ४, मेलुङबाट ३ जना गाउँपालिका प्रमुखको उम्मेदवारका लागि सिफारिस भएको एमालेले जनाएको छ।

एमाले जिल्ला सचिव भरत दुलालले आकांक्षीलाई माथिल्लो तहले निर्णय गर्ने भएकाले विवाद नहुने दाबी गरे। 'माथिल्लो तहले विवेकपूर्ण निर्णय गर्छ भनेर आकांक्षीहरू प्रतिबद्ध भएकाले हामीभित्र कुनै विवाद रहँदैन', उनले भने, 'आगामी साता बस्ने बैठकले सकभर प्रदेश कमिटीमा नपठाउनुपर्ने गरी सबै टुंग्याउँछौं'।

माओवादी भित्रभित्रै तयारी

माओवादी केन्द्रले उम्मेदवारबारे भित्रभित्रै तयारी गरिरहेको छ। 'हाम्रो तल्लो स्तरका कमिटीले तयारी गरिरहेका छन्', जिल्ला सचिव कुलबहादुर बुढाथोकीले भने, 'जिल्ला कमिटी बैठकले मागेलगत्तै सिफारिसअनुसार उम्मेदवार तोक्नेछौं।'

प्रकाशित: ३ वैशाख २०७४ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App