४ वैशाख २०८१ मंगलबार
समाज

सामाजिक व्यक्तित्व आकांक्षी

गोरखा- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू  कुन तहमा कसलाई उम्मेदवार बनाउने भन्नेमा सक्रिय छन्। दलहरू गाउँपालिका र नगरपालिकाका वडा सदस्य, अध्यक्ष, प्रमुख–उपप्रमुखमा जित्ने उम्मेदवारको छनोटमा जुटिरहेका बेला गोरखामा विभिन्न संघसंस्थाका व्यक्तित्व र शिक्षकले पनि चुनाव लड्ने आकांक्षा देखाएका छन्।

उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्रवणकुमार जोशी गोरखा नगरपालिका ६ मा कांग्रेसतर्फबाट वडा अध्यक्षका दाबेदार छन्। पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरका लागि दाबी गरेका छन्। त्यस्तै शिक्षक संघका पूर्वअध्यक्ष तयाराज गुरुङ अजिरकोट गाउँपालिकामा अध्यक्षको दाबेदार छन्। महालक्ष्मी मावि ताप्लेका प्रधानाध्यापक रहमतुल्ला मियाँले वडा अध्यक्षको उम्मेदवार बन्ने अकांक्षा देखाएका छन्। गोरखा नगरपालिकाको वडा अध्यक्षका लागि सरकारी सेवाबाट अवकाश पाएका शरदबाबु श्रेष्ठ, शिक्षक कृष्ण खत्री, बलराम थापालगायतको नाम चर्चामा छ। सिंहदरबारमा रहेको अधिकार गाउँमा दिएकाले स्थानीय तहमा सामाजिक व्यक्तित्वको आकांक्षा बढेको कांग्रेसका कार्यवाहक जिल्ला सभापति नन्दप्रसाद न्यौपाने बताउँछन्। 'स्थानीय तहमा प्रत्यायोजन गरेको अधिकार प्रयोग गरेर केही गरौं भन्ने चाहनाले उम्मेदवारको आकांक्षा राखेका  हुन सक्छन्', उनले भने। स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्दा आफूले गर्दै आएको सामाजिक कामलाई टेवा पुग्ने अपेक्षाले चुनाव लड्नेे इच्छा देखाएको हुन सक्ने उनी बताउँछन्।

एमालेबाट पनि वडा अध्यक्ष र सदस्यका उम्मेदवार आकांक्षीमा सामाजिक व्यक्तित्व धेरै रहेको जिल्ला उपाध्यक्ष यादव बस्नेत बताउँछन्। 'सामाजिक व्यक्तित्वलाई उम्मेदवार बनाउँदा जित्ने सम्भावना हुन्छ। अधिकार र कर्तव्य बुझेका कारण उनीहरूले जागिर छाडेर चुनाव लड्ने योजना बनाएका छन्', बस्नेतले भने।

'स्थानीय चुनाव लड्ने इच्छा छ, पार्टीले टिकट दियो भने जागिर छाडेर लागिन्छ', शिक्षक तयाराज गुरुङले भने। गाउँको सबै वस्तुस्थिति शिक्षकलाई थाहा हुने, मतदाता अभिभावकसँग खिको सामीप्यलगायतका कारणले शिक्षकले चुनाव लड्नु दलका लागि पनि राम्रो अवसर भएको उनको भनाइ छ।

माओवादी केन्द्रबाट भने राजनीतिमा खटिएका कार्यकर्ताबाटै निर्वाचनमा उठाउने तयारी भइरहेको केन्द्रीय सदस्य अकुर तिमल्सिनाले बताए। उनले भने, 'अहिलेसम्म बहालवाला कर्मचारी र सामाजिक संघसंस्थाका व्यक्तिको अपेक्षा आएको छैन।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव सुदीप ढकाल पार्टीबाट कर्मचारी र शिक्षकले पनि चुनाव लड्ने दाबी गर्छन्। 'धेरै सामाजिक व्यक्तिहरूले अपेक्षा गरेका छन्', उनले भने। नयाँ शक्ति नेपाल गोरखाका जिल्ला संयोजक रमेश पोखरेलले पनि पूर्वशिक्षक, कर्मचारी, प्राध्यापक र सामाजिक व्यक्तित्वले आफ्नो पार्टीका तर्फबाट चुनाव लड्ने बताए।

प्रकाशित: ३ वैशाख २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App