७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोर्चालाई 'अप्रिय' निर्णय नलिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- मधेसी मोर्चालाई चुनावी प्रक्रियाभन्दा बाहिर जान नदिन सरकारले अन्तिम समयसम्म पनि वार्ता र संवाद गर्ने भएको छ। संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै चुनाव बहिष्कार गर्ने र आन्दोलनमा जाने घोषणा गरेको मोर्चाका नेताहरूलाई टेलिफोन गरी प्रधानमन्त्री पुष्पकमल दाहालले वार्तामा आउन आग्रह गरिरहेका छन्।

प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूलाई 'अप्रिय' निर्णय नलिइहाल्न आग्रह गरेको मोर्चानिकट स्रोतको भनाइ छ। स्रोतका अनुसार मोर्चासँग वार्ता र संवाद गर्दै जाने र  सँगसँगै चुनाव तयारी पनि अघि बढाउने सरकारी तयारी छ।

चुनाव बहिस्कार गरी आन्दोलनमा जाने निर्णय गरेको भोलिपल्टै बिहीबारदेखि प्रधानमन्त्रीले मोर्चाका नेताहरूलाई टेलिफोन गरी वार्तामा आउन आग्रह गरिरहेका छन्। शुक्रबार पनि मोर्चाका शीर्ष नेताहरूको बैठक भइरहेका बेला प्रधानमन्त्रीले फोन गरेर चुनाव अस्वीकार नगर्न आग्रह गरेको स्रोतको भनाइ छ । मोर्चाका नेताहरूले  आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी गरेका छन।

कानुनमन्त्री अजय शंकर नायकले सरकारले मधेसी मोर्चासँग  अन्तिम समयसम्म वार्ता र संवाद जारी राख्ने बताए।  'मधेसी मोर्चालाई सहमतिमा ल्याउन सरकारले अन्तिम समयसम्म संवाद र छलफल जारी राख्छ', नायकले भने, 'तर चुनाव तयारीलाई पनि सरकारले अघि बढाउँछ।' प्रधानमन्त्रीले मोर्चाका नेतालाई निरन्तर सम्पर्क गरी छलफलमा आउन आग्रह गरेेको उनले बताए। 'वार्ता र संवाद गर्न प्रधानमन्त्रीज्यूले उहाँहरू (मोर्चाका नेता) सँग निरन्तर सम्पर्क गरिरहनु भएको छ,' उनले भने।

यसैगरी शुक्रबार प्रधानमन्त्री निवास बालुबटारमा बसेको सत्तारूढ दलहरूको बैठकले चुनाव बहिस्कार गरी आन्दोलनमा जाने घोषणा गरेको मधेसी मोर्चालाई पुनर्विर्चार गर्न आग्रह गर्ने निर्णय गरेको थियो। तर चुनाव भने नरोक्ने सत्तारूढ दलका नेताहरूले बताएका छन्।

मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक शनिबार पनि बस्यो। बैठकले वैशाख ३१ ग्ाते चुनाव हुन नदिने गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। बैठक आइतबार बिहान पुन बस्ने छ। आइतबार बस्ने बैठकले आन्दोलका कार्यक्रम तय गरी घोषणा गर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

मोर्चाका शीर्ष नेताहरूको शनिबार बैठक चलिरहेकै समयमा नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सो दलका दुई नम्बर प्रदेशका नेताहरूको बैठक बसिरहेको थियो। कांग्रेस बैठकले गर्न सक्ने निर्णयबारे मोर्चा बैठकमा चासो राखिएको स्रोतको भनाइ छ। कांग्रेस दुई नम्बर प्रदेशका जिल्ला सभापतिहरूको बैठकले मोर्चालाई सहभागी गराएर चुनाव गर्नुपर्ने भनी दिएको सुझाव आफूहरूका लागि अनुकूल भएको मोर्चाका नेताहरूको विश्लेषण छ।

प्रकाशित: ३ वैशाख २०७४ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App