coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौंको आकाशमा ट्राफिक जाम, यात्रुलाई सास्ती

काठमाडौंको आकाशमा ट्राफिक जाम, खराब मौसमले हवाई उडान रद्द र समय हेरफेर हुँदा सयौं यात्रु समस्यामा परेका छन्। हङकङबाट आएका अली गुरुङले काठमाडौं–पोखरा उडानका लागि शुक्रबार दिउँसो २:१० बजेका लागि बुद्ध एयरको टिकट लिएका थिए। जहाज समयमै उड्ला भन्ठानेर उनी आफू बसेको होटलबाट सीधै त्रिभुवन विमानस्थल पुगे।

'उडान रद्द भएको थाहा पाएपछि तनाव बढ्यो। करिब ४०–५० किलो सामानको झोला बोकेर फेरि होटल खोज्दै भौंतारिनुपर्‍यो,'

त्यहाँ पुग्दा गुरुङले थाहा पाए– काठमाडौंको आकाशमा अधिक ट्राफिक जाम भएकाले उडान साढे ४ बजेका लागि सरेको छ। बेलुकीसम्म पक्कै घर पुगिन्छ भन्नेमा उनी ढुक्क थिए। तर, साढे ४ बजे उनले अर्काे सूचना पाए, पोखराका सबै उडान रद्द भए।

'उडान रद्द भएको थाहा पाएपछि तनाव बढ्यो। करिब ४०–५० किलो सामानको झोला बोकेर फेरि होटल खोज्दै भौंतारिनुपर्‍यो,' गुरुङले  भने, 'अघिल्लो दिन बसेको होटलमा फर्कन मन लागेन। अर्कैमा गएर रात कटाएँ।' उडान रद्दका कारण होटल आउजाउ, खान–बस्न गरी ७–८ हजार रुपैयाँभन्दा बढी खर्च भएको उनले जानकारी दिए। शनिबार बिहान जसोतसो टिकट मिलाएर उनी पोखरा आए।

गुरुङ एक प्रतिनिधि पात्र हुन्। काठमाडौंको आकाशमा हुने ट्राफिक जामले उडान रद्द तथा समय हेरफेर हुँदा पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवालगायत आन्तरिक विमानस्थलमा सयौं यात्रुले सास्ती खेप्दै आएका छन्। लामो समय कुरेपछि बल्ल उडान रद्द भएको जानकारी पाउने, विमानस्थलमै घन्टौं कुर्नुपर्नेलगायत समस्या यात्रुले भोग्दै आएका छन्। उडान रद्द हुँदा होटल फर्कनुपर्ने समस्या एकातिर छ भने 'कनेक्टिङ फ्लाइट' हुने विदेशी पर्यटकले हतारमा सवारीसाधन रिजर्भ गरेर राजधानी आउजाउ गर्नुुपर्ने बाध्यता छ। 

शुक्रबार उडान रद्द भएपछि कुनै पनि हालतमा शनिबार बिहानसम्म काठमाडांै पुग्नुपर्ने ४२ विदेशी पर्यटक हतारहतार पोखराबाट तीनवटा सवारीसाधन रिजर्भ गरेर जानुपर्‍यो। 'यतिबेला हवाई यात्रुले निकै दुःख पाएका छन्। स्थलमार्गमा झन्झट हुने भनेर हवाईयात्रा रोजेका यात्रुको यात्रा निश्चित छैन,' नेपाल एसोसिएनसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, 'यात्रा निश्चित नहुँदा यात्रुलाई हैरानी छ।'

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बराल काठमाडौंको खराब मौसम र ट्राफिक जामले समस्या आएको बताए। 'मौसमसँग केही गनर्ैै सकिन्न। ट्राफिक जाम व्यवस्थापन काठमाडौंले हेर्ने हो,' उनले भने, 'हामीलाई व्यवस्थापनमा हम्मेहम्मे भएको छ।' सामान्यतया उडान ढिलो हुँदा आन्तरिक यात्रुलाई 'रिफ्रेसमेन्ट' गराउनेबाहेक बसोबासको व्यवस्था नरहेको उनले जानकारी दिए।

पोखरा विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईंले खराब मौसम समस्या रहेको बताए। 'यात्रुले उडान रद्दबारे समयमै सूचना पाउनुपर्छ,' उनले भने, 'उडान  ढिलो हुनेबित्तिकै यात्रुलाई जानकारी गराउने व्यवस्था मिलाउन प्रयासरत छौं।'

पौने घन्टाको यात्रामा पाँच घन्टा सकस

 नेपालगन्जबाट काठमाडौं जान लागेका निर्माण व्यवसायी दीपबहादुर महताराको उडान समय शुक्रबार साँझ ७ बजे थियो। तर, उनले करिब तीन घन्टा नेपालगन्ज एयरपोर्टमै कुर्नुपर्‍यो। बल्लतल्ल राति सबा १० बजे उडान भयो।

 काठमाडौंको आकाशमा अर्को झमेला आइलाग्यो। 'एयर ट्राफिक' भएको भन्दै १५ मिनेट जति उनी चढेको सौर्य एयरको जहाज आकाशमै 'होल्ड' गरियो। 'यस्तो झमेला त कहिल्यै हुन्थेन, कोठामा पुग्दा मध्यरात भइसकेको थियो,' उनले भने।

नेपालगन्ज–काठमाडौं करिब पौने घन्टाको यात्रामा करिब पाँच घन्टा झमेला झेल्ने महतारा एक्लो यात्रु होइनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने 'एयर ट्राफिक' र अन्य विभिन्न कारणले उडान ढिलो हुँदा उनीजस्ता यात्रुले दैनिकजसो सास्ती खेप्नुपरेको छ। पछिल्लो समय यो रुटमा आधादेखि तीन घन्टासम्म उडान ढिला हुने गरेको छ। 'मुख्यतः काठमाडौं एयरपोर्टमा हुने एयर ट्राफिकका कारणले उडान ढिला हुने गरेको छ,' सौर्य एयरका नेपालगन्ज प्रमुख भोजराज शाही भन्छन्, 'यसले यात्रुलाई समस्या भएको छ।'

 उनका अनुसार यात्रुलाई सास्ती बढेपछि साँझ ७ बजेको काठमाडौं उडान सौर्यले दिउँसो ४ः४० मा सारेको  छ। दिउँसो उडान राख्दा उच्च तापक्रमका कारण क्षमताअनुसार यात्रु राख्न नपाइए पनि सास्ती भने भोग्नुनपर्ने उनले बताए।

उडान ढिलो हुँदा यात्रुले भोग्ने सबैभन्दा ठूलो समस्या हो– मानसिक पीडा। कार्यतालिका बोकेर हिँडेका यात्रुलाई समयमै गन्तव्यमा नपुग्ने चिन्ताले सताउँछ। यसले गर्दा महŒवपूर्ण कामसमेत प्रभावित हुन्छ। शुक्रबार दिउँसो २ः५० को बुद्ध एयरको टिकट लिएका लक्ष्मी बैंक, सुर्खेतका म्यानेजर विनीत सिजापति 'जहाज छुटिहाल्ला कि' भन्ने चिन्ताले हतारहतार सुर्खेतबाट आए। उनीसँग सानो बच्चा पनि थियो।

नेपालगन्ज आएपछि भने साढे दुई घन्टा जहाजको प्रतीक्षा गर्नुपर्‍यो। 'साथमा बच्चा भएकाले दिउँसै काठमाडौं पुग्दा सजिलो हुन्छ भनेर दिउँसोको टिकट लिएको थिएँ,' उनले भने, 'आखिर साँझै पुगियो, जहाज ढिलो हुँदा बच्चालाई भुल्याउन उत्तिकै मुस्किल पनि भयो।'

बुद्ध एयरका नेपालगन्ज प्रमुख विनीत शाह जहाजको आफ्नो समस्याभन्दा पनि काठमाडौं विमानस्थलमा हुने ढिलाइले यात्रुले सास्ती भोग्नपरेको बताउँछन्। 'यहाँ हाम्रो कारणले उडान 'डिले' हुँदैन, यो सबै उतै (काठमाडौं) बाट हुने गरेको छ,' उनले भने, 'यसको मारमा यात्रु परिरहेका छन्।'

 साँझको उडान ढिलो हुँदा यात्रुले आर्थिक भारसमेत उत्तिकै व्यहोर्नुपर्छ। राति काठमाडौं पुगेका यात्रुलाई ट्याक्सीले महँगो भाडा असुल्छन्, त्रास पनि थपिन्छ। बच्चासहित काठमाडौं एयरपोर्टमा उत्रिएकी नेपालगन्जकी सरस्वती केसीले शुक्रबार राति यस्तै पीडा भोग्नुपर्‍यो। यसअघि दिउँसोको समय चार–पाँच सय रुपैयाँ तिरेर गन्तव्य पुग्ने उनले राति एक हजार पाँच सय रुपैयाँ तिरिन्। 'रातिको समय जति ट्याक्सी चाहारे पनि त्योभन्दा कममा हिँड्नै मानेनन्,' उनले भनिन्, 'आखिर जति पैसा भने पनि तिरेर चढ्नुको विकल्पै रहेन।'

दुई–तीन घन्टा ढिलो गरेर काठमाडौंबाट नेपालगन्ज एयरपोर्ट पुगेका यात्रुलाई सवारीसाधन (अटो रिक्सा) पाउनै मुस्किल हुन्छ। पाइहाले पनि अटोरिक्साले मनपरी भाडा लिन्छ। नेपालगन्ज बजार पुग्न दिउँसो ५० देखि सय रुपैयाँ तिर्ने यात्रुले राति तीन सय रुपैयाँसम्म तिर्नुपर्छ।

एयरपोर्टबाट सीधै सुर्खेत, दाङ, बर्दिया, दैलेख, जाजरकोटलगायत जाने  योजना बनाएर आएका यात्रु थप मारमा पर्छन्। ती जिल्लामा जाने सवारीसाधन नपाइँदा नेपालगन्जमै बास बस्नुपर्ने बाध्यता आइलाग्छ। सुर्खेतका गोविन्द आरसीले एक साताअघि यस्तै अवस्था भोग्नुपर्‍यो। बुद्ध एयरको सस्तो टिकटमा काठमाडौंबाट नेपालगन्ज आएका उनी साँझ ७ बजे एयरपोर्ट झरे। 'त्यतिबेलासम्म सुर्खेत जाने गाडी सबै छुटिसकेका थिए,' उनले भने, 'त्यसपछि नेपालगन्जमै होटलमा बसें, सस्तो भाडा भनेर साँझ आउँदा दुई हजार थप खर्च भयो।'

नेपालगन्ज–काठमाडौं रुटमा बुद्ध, सौर्य र यति एयरलाइन्सले दैनिक सात उडान गर्दै आएका छन्। यी उडानमा करिब आठ सय यात्रु आउजाउ गर्छन्। यसका साथै मध्य तथा सुदूरपश्चिमका हवाई गन्तव्यमा दैनिक सरदर एक दर्जन उडान हुन्छन्।

मध्य तथा सुदूरपश्चिमको 'हब' मानिने नेपालगन्ज एयरपोर्टमा केही वर्षयता रात्रिकालीन सेवा सुरु हुँदा समस्या धेरै हदसम्म कम भएको छ। 'यस्तो अवस्थामा 'नाइट अपरेसन' नभइदिएको भए त निकै समस्या हुन्थ्यो,' नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले भने, 'यसले गर्दा जति ढिलो भए पनि उडान हुने गरेका छन्, रद्द हुने समस्या टरेको छ।'

जहाज कुर्नेको ताँती

 त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप बढेकाले तीन दिनदेखि विराटनगर एयरपोर्टबाट आन्तरिक उडान ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। शनिबार बिहान एयरपोर्ट ट्रमिनल भवनमा जहाज कुर्ने यात्रुको ताँती थियो। नेपाल नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले त्रिभुवन विमानस्थलमा ट्राफिक समस्या भएकाले जहाज अवतरण र उडानमा ढिलो भइरहेको बताए। ‘तीन दिनदेखि जहाज अवतरण र उडान २ देखि ५ घन्टासम्म ढिलो हुँदै आएको छ,’   सिंहले भने, ‘यो हाम्रो समस्या होइन, काठमाडौं एयरपोर्टको समस्या हो।’

 काठमाडौंको आकाशमा एकैपटक धेरै जहाज अवतरण गर्न आउने, रनवे खाली नहुँदा तथा पार्किङ  समस्याले जहाज उडान र अवतरणमा ढिलाइ भइरहेको उनको भनाइ छ। विराटनगरबाट उडान गर्ने बुद्ध, यति, सौर्य र नेपाल एयरलायन्सको उडान ढिलो हुँदा यात्रु सकसमा परेका छन् ।

सन्तोष पोखरेल/पोखरा, कलेन्द्र सेजुवाल/नेपालगन्ज र अजित तिवारी/विराटनगर को सहयोगमा

प्रकाशित: ३ वैशाख २०७४ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App