८ वैशाख २०८१ शनिबार
समाज

चक्रपथ सफाइ अभियान सुरु, २३ मेट्रिक टन फोहर निकालियाे

काठमाडौं– वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ।

वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गरेकाे १० बुँदे घोषणा पत्र बमोजिम आजदेखि घर, टोल सफाइ अभियान चक्रपथको ग्रिनसिटी अस्पताल अघिबाट सफाइ अभियान सुरु गरिएको हो ।

सफाइको सुरु गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान सुरु भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताए।

पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजक गरिरहनुभएका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ सुरु गरिएको बताए। सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी उपत्यकाका प्रमुख नदीबाट पनि आज १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइको २०५ औँ हप्तामा आज बुद्धनगरमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परेपनि सफाइमा ३०० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए।

रुद्रमती सफाइको १६४ औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरियो। त्यस अवसरमा बाटाको फोहर समेत सफाइ गरिएको थियो। यहाँबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ।

विष्णुमती सफाइको एक सय ३६ औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुलमा जनचेतनामूलक घरदैलो अभियान चलाइयो। गुह्येश्वरमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजले गरेको एक सय ६६ औँ हप्ताको सफाइमा पनि एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो।

तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको एक सय १३ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रासस

प्रकाशित: २ वैशाख २०७४ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App