coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

रौतहट– नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ। यसै अवसरमा पर्ने सिरुवा जुडशीतल पर्वलाई पनि यहाँका समुदायले भिन्नभिन्न तरिकाले मनाउने गरेका छन्।

केही समयदायले आँपको चिचिला कूल देवतालाई चढाउने चलन छ। वैशाखको दोस्रो दिन एकअर्काको जिउमा पानी छम्केर जुडशीतल मनाउने परम्परा रहेको छ। यसो गर्नाले शरीरलाई शीतलता प्राप्त हुने विश्वास छ । यस पर्वअन्तर्गत सतुवानको राति घरमा करी र बरी विशेष प्रकारको खाना पकाउने र त्यसैबाट निकालेर केही राखिन्छ। तामा वा पित्तलको भाँडोमा बासी पानी राखिन्छ । वैशाख २ गते जूडशीतलका दिन एकाबिहानै बासी भात, करी, बरी, सख्खरलगायतका सामग्री घरको मूल ढोकामा चढाउने र बासी पानी अलिकति खन्याएर मानिस, पशुधन, रुख, खेत, विभिन्न अन्नबाली, भकारी सबैतिर छम्केर जूडशीतल मनाउने परम्परा रहेको पण्डित श्री नारायण झाको भनाइ छ।

पोखरी, इनार, जलाशय, नाला लगायतको पानीको मुहानलाई सफा गरी हिलोयुक्त पानी सडक र वृक्षमा फाल्ने चलन रहेकोले मुख्यरुपमा पानीको महत्व दर्शाउने पर्वको रुपमा जूडशीतल रहेको पत्रकार चन्द्रकिशोर बताउँछन्। लोकसंस्कृतिको निकै महत्वपूर्ण पर्वको रुपमा रहेको सतुवान र जूडशीतलको महत्व आधुनिक युगमा झन् प्रस्टिएको चन्द्रकिशोरको भनाइ छ।

तराई मधेसमा आधुनिक रुपमा नयाँ वर्ष मनाउने प्रचलन बढे पनि परम्परालाई भने ग्रामीण समुदायले नबिर्सेको संस्कृतिसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ। बज्जिका भाषा तथा संस्कृतिमाथि कलम चलाउने साहित्यकार श्याम सहनी “चन्द्रांशु”ले तराई मधेसको लोकजीवनमा नयाँ वर्षलाई मौलिक रुपमै मनाउने चलन रहेको बताउँछन्।

बज्जिका लोकजीवनमा विक्रम सम्वतमा आधारित तीनवटा पर्वमात्र प्रचलनको शिक्षासेवी शिवचन्द्रप्रसाद साहको भनाइ छ। “वैशाख १ गते सतुवान, २ गते जूडशीतल, असोज १ गते विश्वकर्मा पूजा र माघ १ गते तीलासक्रातको आ–आफ्नै विशिष्टता रहेको छ।” तीन चार महिनाको फरकमा मानिने संक्रान्ति पर्वको लोकजीवनमा ठूलो महत्व रहेको साह बताउँछन्।

नयाँ वर्षको पहिलो दिन बिहानदेखि रौतहटको शिवनगर, राजदेवी मन्दिर, सुन्दरपुरको गढीमाई, औरैयाको ईशनाथ मन्दिर, कटहरियाको बौद्धिमाई, नजरपुरको कृष्ण मन्दिर, मत्सरीको दुर्गा मन्दिर लगायतको स्थानमा हजारौँले पूजा गरेका छन्।
नयाँ वर्षको दिन रौतहटको विभिन्न स्थानमा पिकनिक मनाउनेको ठूलो घुँइचो देखिएको छ। रौतहटको जंगलसैयामा रहेको पशुपति मन्दिर, बागमतीको नूनथर, चन्द्रपुरको सहिद पार्क र गौरको बरहवा तालमा पिकनिक मनाउनेको भीडभाड देखिएको छ ।

नव संस्कृतिले आधुनिक युवा पुस्तालाई निकै आकर्षित गरेको साह बताउँछन्।

 

प्रकाशित: २ वैशाख २०७४ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App