मन्जु काँचुली
काठमाडौँकी छोरी
म हुर्केकी हुँ न त हिमालको चुचुरोमा
न त तराईको समथर पाइतालमा
म हुर्केकी हुँ कुमालेले बनाएकोे माटोका बिट मिलेको
उपत्यकाको भिउँटमा परी
खाल्डोको माटो मलाई आमाको गर्भझैँ माया लाग्यो
जब चिहाएर हेरेँ त्यसको डिलबाट, देखेँ परपरसम्म
माटोको संसार, पानीको संसार
वायु, अग्नि र ठूलो आकाशको संसार
एकले अर्कालाई मायाले हेरेको, अनि निल्न मुख बाएको
बोलीले समसुमाएको, अँगालो मारेको, छिड्की हानेको,
दाह्रा किटेर दनदनाएको, स्थानीय र आयातीत
धेरै महिषासुरहरूको सामूहिक नृत्यको संसार
सहमति नै सहमतिको, असहमति नै असहमतिको
धूलो, पानी र हावाको सामूहिक मूर्च्छनाझैँ
पहेँला समाचार र फुस्राा सन्देशहरू
जमिन, पानी र हावाकै अखबारहरूमा
छरिइँदै दन्किन्छन् यिनै सडक र गल्लीहरूमा
मानिसका मुटुहरूभित्रका गोप्य कविता
मांसपेशीका लहरका हरफहरफमा चिच्च्याउन थाल्छन्
निसासिइनिसासिइ
रगतको गहिराइ नाघेर
पानीको सतह नाघेर
जमिन र हिमालको चुचुरोसम्म
ती सामूहिक गीतहरू धार छोडेर, धार रोजेर
उल्टा, सीधा बग्न थाल्छन्
अनि धूलो पहाड भएर जम्छ माथितिर
पानी हिउँ भएर जम्छ अझ माथितिर
अनि सुस्केरालाई अँगालो मारेर
हिँड्नुपरेका गीतका पातहरू, हात मिलाएर
त्यसैत्यसै सुकेर, पेटीभरि हावाले उडाएर
कतै नालीमा कुहिएर
सिकुटे बिजोग भोग्नुपर्ने
सहकार्य र असहकार्यको कूटनीतिक याचना गरेर
म हुर्केकी हुँ भावनाको अलिकति भिरालो
र, विचारको अलिकति उकालो परेको ठाउँमा
कहीँकतै विद्रोहका सानासाना डाँडाहरू पनि देखिने ठाउँमा
पालैपालो गरी शीत, असिना, हिउँ, पानी र हुरी भेला हुने ठाउँमा
न तब तराईको विभाजित सपाट उग्र तापमा
न त हिउँको ठाडो चिसो डाँडामा
हुर्केकी हुँ यही खाल्डोको माटोको रूख बनेर
यिनै आमाको बाटुलो गर्भमा
त्यसैले उडेर गुडेर लामो...फर्कनेबित्तिकै
मलाई भन्न मन लाग्छ
धेरै भयो
आगोको नदीलाई मैले भेटेकोे छैन
धेरै भयो
कठ्यांग्रिएको पानीको शिखर
मैले देखेको छैन।
उन्मादपछि
सबै प्रकारका भयलाई खुट्टाले थिचेर
गोडाका औलाहरूले पुस्तौनी जरालाई अँठ्याएर
उन्मादले प्याला उठाउँदै
कमजोर सोचिएका अस्तित्वलाई घृणाको आँखाले लत्याउँदै
ओहो! कति ठूलो अभिलाषा हो त्यो सानो जिन्दगीको धरतीमा
ओहो! कति धेरै मधुशाला
अनेकथरी ज्वालाहरूमा वैभव गन्दै
गन्दागन्दै भन्दाभन्दै
टल्कने शीतका थोपाझैँ ढल्कने पातमा
उषाकाललको ताराझैँ घोप्टो परेको आकाशमा
ऐना फुटेझैँ जब फुट्छ एकएक गरी संग्रहको विग्रह सबै
पूर्वउन्मादका गीतले अर्कै गति लिन्छ
थोपाथोपा कमजोर आँसुमा
एउटा सङ्घर्षहीन माटोको त्यो फुस्रो डल्लो
टोलाएर हेर्न थाल्छ आफ्नै शरीर धरतीको
परिश्रमहीन ऐयासी शोषक जिन्दगानी
देख्छ त केवल असीम कुरूपताभित्र
दनदनाएका उत्तेजनाभरि संघर्ष मरुभूमिको
जर्जरता जिएको जिन्दगी आफ्नै
कालान्तरको
रहन्छ त केवल बचेखुचेको अलिकति
अर्थहीन व्याकुलता
अलिकति अभिलेखालयभित्र
खुसी र पीडा सजाइएको संग्रह लयभित्र
जिन्दगीको निस्सारता
लाखौँ कमजोरीभित्र
अनि बाँच्नुको निरर्थकता!
आन्तरिक पर्यटन!
सपनाका सुरुङहरूमा
अजन्ताका गुफामा
दिलदिमागको खतहरूको फोटो खिच्दै
मभित्रको एउटा पर्यटक आफ्नो धरतीमा यात्रा गर्दैछ
कहिले डक्टरझैँ एक्सरे, सिटिस्क्यान, एन्डोस्कोपी
कोलोनस्कोपी, अल्ट्रासाउन्ड एमआरआईको रिपोर्ट हेर्दै
कहिले इन्जिनियरझैँ पार्टपुर्जा, नक्सा चेक गर्दै
भक्तपुरका भित्रैभित्रका चोकमा झैँ
चीनका प्राचीन पत्रे चोकमा झैँ
विकसित भूमिका कलाकक्षहरूझैँ
आफैभित्रको धरतीको क्रसर घुमाउँदै
सर्च, क्लिक, सेभ, जुम, सेरमा भर्चुअल यात्रा गर्दै छ
मभित्रको धरती फाटेको मुटुको अनुहार
पोखरीका आँखा, झाडीको कपाल
मभित्रकै सहारा मरुभूमिको बालुवा
चेरापुन्जीको वर्षा, आल्पस पहाड
म्युजियम, जर्जियाको सहर
मिसिसिपी, टि्वन टावर भूमि
हिरोसिमा, नागासाकी र बालउद्यान
अरू कति हो कति!
अरे ओ पर्यटक!
इजाजत लिएका छौ?
कि कतै मेरो अन्तर्सामग्रीको चोरी(पाइरेसी) पो गर्दै छौ कि?
के गर्छौ? छाप्छौ?
त्यसो भए शब्दमा कि चित्रमा?
अधुरै रहनेछ तिम्रो प्रयत्न
ती मौलिक पीडा र खुसी
कुन रङ र शब्दले व्यक्त गर्छौ?
शब्द देखिनेछ, अधुरो बन्नेछ
रङ लतपतिनेछ, अस्पष्ट बन्नेछ
क्यामराका रिल र प्लेट सिद्धिनेछन्
भो रहन देऊ त्यसै तिनीहरूलाई
मभित्रका
युद्धका घाउ र उद्यानका फूलहरूलाई
यो पृथ्वीको आयुमा
भो! फेरि अर्को घाउ नलगाऊ!
प्रकाशित: २ वैशाख २०७४ ०५:४० शनिबार