coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय तीर्थयात्रीद्वारा साढे दुई घण्टा विमनस्थल अवरुद्ध

सुर्खेत-कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीले रनवेमा अवरोध पुर्याउँदा सुर्खेत विमानस्थल शुक्रबार साढे दुई घण्टा ठप्प भएको छ। हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै मानासरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेका थिए।
भारतीय तीर्थयात्रुका कारण हुम्ला जाने र त्यहाँबाट आउने छ वटा उडान अवरुद्ध भए। रनवेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्नु पर्यो। सो क्रममा एक महिला प्रहरीसहित दुई तीर्थालु घाइते भए।
शुक्रबार विहान हुम्लाको सिमीकोटबाट नेपालगञ्जका लागि भारतीय तीर्थयात्रु बोकेर उडेका गोमा एयरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको थियो। ‘हामीलाई ट्राभल एजेन्ट र एयरलाइन्सको मिलेमतोमा नेपालगञ्जको बोडिङ पास दिएर सुर्खेत ल्याइयो’ भारत आग्राका तीर्थयात्रु डा. समिर कुमारले भने, ‘जहाँको बोडिङ पास दिइएको हो, त्यही पुर्याउनु पर्यो भन्ने हाम्रो माग हो।’
भारतीय तीर्थयात्रुका अनुसार गोमा एयरले सिमीकोट विमानस्थलमा नेपालगञ्जसम्म पुर्याउने भन्दै बोडिङ पास दिएको थियो। ‘हाम्रो ग्रुपमा ३७ जना यात्रुहरु छौं, सबैलाई दुई वटा विमानमार्फत नेपालगञ्ज पुर्याउँछौं भनिएको थियो’ समिरले भने, ‘नेपालगञ्जको सट्टा सुर्खेत ल्याएर अलपत्र पारिएपछि हामी आन्दोलित भएका छौं।’
भारतीय तीर्थयात्रुहरुले विमानस्थलको रनवे अवरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा प्रहरी जवान पार्तवी मल्ल घाइते भएकी थिइन्। यस्तै केही तीर्थयात्रीहरु पनि घाइते भएका थिए। रनवेमै सुतेका तीर्थयात्रीहरुलाई प्रहरीले उचालेर बाहिर पठाएको थियो।
नागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका निमित्त निर्देशक छवीसिंह ठकुल्लाले एजेण्ट र एयरलाइन्सको कमजोरीले विमानस्थल अवरुद्ध हुन पुगेको बताए। ‘नेपालगञ्ज पुर्याउँछौं भनेर बोडिङ पास दिइसकेपछि गन्तव्यमा पुर्याउनु एयरलाइन्सको कर्तव्य हो’ उनले भने, ‘यसरी बीचैमा कसैलाई पनि अलपत्र पारिनु हुँदैन्।’ उनले रनवेमै सुतेर उडान अवरुद्ध भएपछि बल प्रयोग गर्नु परेको बताए।
गोमा एयरका अपरेशन म्यानेजर शिवराम थापाले सिमीकोटदेखि नेपालगञ्जको बोडिङ पास दिनु आफूहरुको गल्ती भएको बताए। ‘बोडिङ पास हामीले बिहीबार नै दिएका थियौं, शुक्रबार विहान ट्राभल्र्स एजेण्टले फोन गरेर सुर्खेतमा झार्नु भनेकाले हामीले यहाँ ल्याएका हौं’ उनले भने, ‘हाम्रो यात्रुसँग ‘डिल’ हुँदैन्, एजेण्टले भने अनुसार सुर्खेतमा झारेका हौं।’
विमानस्थलमा सुरक्षाकर्मी र भारतीय तीर्थयात्रुबीच विवाद बढ्दै गएपछि नेपाली एजेण्ट प्रचण्ड मानन्धरलाई हुम्लाबाट सुर्खेत ल्याइएको थियो । सर्वे ट्राभल्स एण्ड ट्रेकिङका सञ्चालकसमेत रहेका प्रचण्ड र तीर्थयात्रुहरुबीच भएको छलफलपछि ३७ मध्ये नौ जना गोमा एयरबाट र बाँकी बसबाट नेपालगञ्ज गएका थिए।
तीर्थ सकेर फर्केका यात्रुहरुको अवरोधका कारण नेपालगञ्जबाट सुर्खेत हुँदै मानासरोवर जान हिँडेका ६५ जना तीर्थयात्री भने अलपत्र परेका छन्। ‘उहाँहरु आजै (शुक्रबार) चीनको बोर्डर पुग्नुपर्ने थियो, तीर्थबाट फर्केका यात्रुहरुको अवरोधका कारण एक दिन सुर्खेतमै बस्नुपर्ने भयो’ गोमा एयरका थापाले भने, ‘हामीले पनि छ वटा उडान भर्न पाएनौं।’

 

प्रकाशित: ३ असार २०७३ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App