८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आङ खस्ने रोग

प्रा. डा. सुनीलमणि पोखरेल, वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ, भरतपुर अस्पताल, प्रसूति विभाग प्रमुख

आङ किन खस्छ?

पाठेघर खस्नुलाई नै आङ खस्ने भनिन्छ। बच्चा जन्माएपछि स्याहारको कमी भएका महिलामा आङ खस्ने समस्या देखिन सक्छ। खासगरी धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुने, आरामको कमी र बढी काम, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा आङ खस्ने प्रबल सम्भावना हुन्छ । नेपालमा अझै पनि ६० प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। तालिम प्राप्त घरमै सुत्केरी हुने महिला ४० प्रतिशत छन्। घरमा सुत्केरी गराउँदा तालिम प्राप्त नर्स पुगेका हुँदैनन्। सुँडेनी वा छरछिमेकको सहयोगले जबर्जस्ती पेटमा थिच्ने, बल गर्न लगाउने गर्दा सानो पेटमै गम्भीर असर पर्छ।

निजी तवरमा आङ खसेको अपरेसन गर्दा ५० हजार रुपैयाँदेखि एक–डेढ लाखसम्म खर्च हुन्छ। नेपाल सरकारले भने सबै महिलाका लागि यो अपरेसन निःशुल्क व्यवस्था गरेको छ।

एउटा बच्चा जन्मेपछि ६ महिनामै अर्को गर्भ बोकेर फेरि बच्चा जन्माउँदा पनि आङ खस्ने समस्या बढ्छ।

महिलाको उमेर ५० वर्ष पुगेपछि प्रजनन् क्षमता तन्दुरुस्त राख्ने स्ट्रोजन हर्मोनको कमी हुन्छ। जसकारण पाठेघर असुरक्षित बन्न पुग्छ। 

आङ खसेपछि पाठेघर मात्र बाहिर आउँदैन, पिसाब थैली र दिसा थैली पनि तल खस्छ। त्यसले महिलामा थप समस्या सिर्जना हुन्छ। हालै नेपालमा भएको चिकित्सकीय अध्ययनले ६ प्रतिशत महिलामा आङ खस्ने समस्या देखाएको छ। नेपालको पहाडी भेगका महिलामा सबैभन्दा बढी आङ खस्ने समस्या पाइन्छ। हिमालमा कम जनसंख्या भए पनि त्यहाँ यो समस्या विकराल नै छ। सुत्केरी अवस्थामै उकाली–ओरालीका काम बढी गर्नाले उनीहरुमा यो समस्या बढी भएको हो।

तराईका सहरी क्षेत्रभन्दा गाउँघरमा आङ खस्ने महिलाको संख्या बढी पाइएको छ। ग्रामीण तराईका महिलामा पोषणयुक्त खानाको अभावमा यो समस्या बढी देखिन्छ। सुक्खा खाना खाने, सागपात र हरिया, पहेँला फलफूल नखाने सुत्केरीलाई कुपोषण हुन्छ। त्यही कमजोरीले आङ खस्छ।

कसरी जोगिने?

सबभन्दा पहिले आङ खस्ने समस्याबारे महिला नै जानकार हुनुपर्छ। यो समस्याबाट जोगिन सानै उमेरमा बच्चा जन्माउनु हुँदैन। २० वर्ष उमेर पुगेपछि पनि दुईभन्दा बढी बच्चा जन्माउनु हुँदैन। गर्भावस्थामा महिलालाई पर्याप्त पोषण खुवाउनुपर्छ, जसले महिलामा बच्चा जन्माउने शक्ति मिलोस्। सुत्केरी तालिम लिएको नर्स वा स्वास्थ्यकर्मीको  सहयोगमा अस्पताल वा स्वास्थ्यचौकीमा बच्चा जन्माउनुपर्छ। सुत्केरी भएपछि कम्तीमा ६ महिना आराम गर्नुपर्छ, घर–परिवार मिलेर उनको स्याहार गर्नुपर्छ। सुत्केरीपछि वर्षको कम्तीमा दुईपटक र त्यसपछि वर्षको एकपटक पाठेघर जँचाउनुपर्छ। सामान्य झरेको छ वा छैन भनेर आफैँ पनि हेक्का राख्नुपर्छ।

नेपालमा कामदार सुत्केरी महिलाले दुई महिना मात्र बिदा पाउँछन्।  विदेशमा दुई वर्षसम्म बिदा दिने चलन छ। डेनमार्क सरकारले दुई वर्ष र अमेरिकी सरकारले ६ महिना बिदा दिन्छ। नेपालमा सुत्केरीमै काम लगाउने चलन सरकारले पनि फेर्न सकेको छैन।

उपचार

आङ खसेपछि त्यसको तीन चरण हुन्छन्। पहिलो चरणको आङ खस्ने समस्या बढी देखिन्छ। दोस्रो र तेस्रो चरणको समस्या पहिलोको तुलनामा बढी जोखिमपूर्ण हुन्छन्।

पहिलो चरणको समस्यामा औषधि खानुपर्दैन। सामान्य रुपमा मांसपेशी बलियो बनाउने अभ्यास गरे निको हुन्छ। दोस्रो चरणमा  अपरेसन नगरी रिङ हालेर उपचार गर्ने गरिन्छ, बढी उमेरका महिलामा यसको प्रयोग गरिन्छ। अपरेसनको समय कुर्नुपर्ने अवस्थामा पनि रिङ हालिन्छ। यो हरेक तीन–तीन महिनामा फेर्नुपर्छ।

अन्तिम चरणको आङ खस्ने समस्यामा पाठेघरको अपरेसन गरिन्छ। यो मेजर अपरेसन हो, जसमा महिलाको पाठेघर फालिन्छ।

योसँगै तल झरेको दिसा र पिसाब थैलीलाई आफ्नो ठाउँमा राखिन्छ।

पाठेघर खसेका महिला बढी उमेरका हुनाले उनीहरुको शारीरिक अवस्था कमजोर हुन्छ, अन्य रोगले पनि च्याप्दै लगेको हुन सक्छ। त्यसैले अपरेसन सुविधासम्पन्न ठाउँमा गर्नु राम्रो हुन्छ। स्त्रीरोग विशेषज्ञ र आइसियुसहितका आधुनिक सुविधा भएको ठाउँमा अपरेसन गर्नुपर्छ। नत्र बिरामी महिला जोखिममा पर्न सक्छन्।

अपरेसन गरेपछि पोषण र सरसफाइमा बढी ध्यान दिनुपर्छ। तीन महिनादेखि ६ महिनासम्म आराम गर्नैपर्छ। निजी तवरमा आङ खसेको अपरेसन गर्दा ५० हजार रुपैयाँदेखि एक–डेढ लाखसम्म खर्च हुन्छ। नेपाल सरकारले भने सबै महिलाका लागि यो अपरेसन निःशुल्क व्यवस्था गरेको छ। सुविधासम्पन्न सरकारी अस्पतालमा यो सेवा लिन सकिन्छ। 

(चाँदनी हमालसँगको कुराकानीमा आधारित)

प्रकाशित: २ वैशाख २०७४ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App