८ वैशाख २०८१ शनिबार
खेल

रुपन्देही शीर्ष स्थानमा, चौराहको हार निरन्तर

धनगढी- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उनको नेतृत्वमा रहेको धनगढी टिम चौराहको कमजोर प्रदर्शनले धनगढी प्रिमियर लिग (डिपिएल) मा शुक्रबार तेस्रो खेलसम्म निरन्तरता पाउँदा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स भने सतप्रतिसत नतिजायात्रालाई कायम राख्न सफल भएको छ।

अघिल्ला दुई खेलमा विराटनगर किंग्ससँग २३ रन तथा कन्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको पारसको टिम चौराहले शुक्रबार प्रतियोगिताको तेस्रो खेलमा सिवाइसी अत्तरियालाई ४० रनको नतिजा सुम्पियो।

शुक्रबारसम्म सम्पन्न सबै तीन खेलमा पराजित चौराह कुनै अंक जोड्न नसकी अंकतालिकाको पुछारमा थन्किएको छ। तीन खेलसम्म सबै खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा कायम रुपन्देहीको प्लेअफ चरण पुग्ने सम्भावना बलियो बन्दा पारसको चौराह भने पहिलो चरणबाटै वाहिरिने खतरानजिक पुगेको छ।

चार खेल खेलेका काठमाडौं गोल्डेन्स र अत्तरिया तथा ३ खेल खेलेको विराटनगर किंग्सको खातामा समान ४ अंक छ भने कन्चनपुर आइकोनिकले ३ खेलमा २ अंक जोडेको छ। ६ टोलीबीच जारी प्रतियोगितामा सबैले एक–अर्कासँग राउन्ड रोबिन पद्धतिमा खेलेपछि शीर्ष चार टोली प्लेअफलाई छानिन्छन्। पुछारका दुई टोली समूह चरणबाटै वाहिरिन्छन्।

महबुब आलम र सुरेन्द्र चन्दले तीन/तीन विकेट लिएपछि अत्तरियाविरुद्ध १ सय ४३ रनको लक्ष्य पछ्याएको चौराहको इनिङ ९–१०२ मा सिमित भएको थियो। सुरेन्द्रले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेटमा नाम लेखाउँदा महबुबले ४ ओभरमा २३ रन दिएका थिए। अत्तरियाका विनोद लामाले थप दुई विकेट लिए भने योगेन्द्रसिंह कार्कीले कुनै विकेट लिन नसके पनि ४ ओभरमा ११ रनमात्र खर्चिए।

पारस खाता खोल्न नपाउँदै महबुबबाट बोल्ड भएको चौराहको इनिङमा रामनरेश गिरीले सर्वाधिक ३९ रनको योगदान गरे भने सुसन भारीले २३ तथा ओपनर अनिलकुमार मण्डलले १९ रन बनाए।

यसअघि करण केसी र योगेन्द्रसिंहले पाँचौं विकेटका लागि अविजित ४७ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार गरेको थियो। 

१७औं ओभरमा ९५ रन बनाउँदा चार विकेट गुमाएको अत्तरियाको इनिङ उकास्ने क्रममा योगेन्द्रसिंहले ११ बलमा ६ चौकासहित २७ रनको योगदान गरे भने करणले १२ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए। अत्तरियाका लागि ओपनर रोशन नेपालीले सर्बाधिक ३२ रन जोडे। पहिलो विकेटका लागि दीलिप नाथ (१३) सँग ३० रनको साझेदारी गरेका रोशनले दोस्रो विकेटका लागि प्रदीप ऐरीसँग ४६ रन जोडे। ४४ बल खेलेका रोशनले ३ चौका प्रहार गरेका थिए। प्रदीपले ३१ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाए। अत्तरियाको इनिङमा मेहबुबले बनाएको ७ रन सबभन्दा सानो स्कोर थियो।

चौराहका सौरव खनालले २ विकेट लिए भने सुसन भारी र आरिफ शेखले एक/एक विकेटमा नाम लेखाए।

डिपिएलमा लगातार जितको यात्रालाई निरन्तरता दिने क्रममा शक्तिको रुपन्देहीले शुक्रबार काठमाडौं गोल्डेन्सलाई १५ रनको नतिजामा हरायो। नुरधोज सेनले ३७ तथा पुश्प थापाले ३६ रनको योगदान गरेपछि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको रुपन्देहीले काठमाडौंलाई ९–१२० मा रोक्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको थियो।

ओपनर हरिशंकर शाहलाई सुन्य रनमा गुमाए पनि त्यसपछि शंकर राना र नुरधोजले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै रुपन्देहीको इनिङ सम्हालेका थिए। शंकरले ३६ बलमा २ चौकासहित १६ रन बनाए भने नुरधोजले ३७ रन बनाउँन २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसैगरी तेस्रो विकेटका लागि शंकरसँग २६, चौथो विकेटका लागि राजेश पुलामी मगर (२)सँग १५, तथा पाँचौं विकेटका लागि प्रकाश केसी (१२)सँग २२ रन थपेका पुश्पले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंका सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै २१ रुन खर्चेर ४ विकेट लिए भने मन्जित श्रेष्ठ, वशन्त रेग्मी र सन्तोष भट्टले १/१ विकेट लिए।

जवाफमा १ सय ३६ रनको लक्ष्य लिएर आएको काठमाडौंलाई १ सय २० रनमा रोक्ने क्रममा शक्तिले ४ ओभरमा २६ रन खर्चिँदै ३ विकेट लिए भने विक्रम सोब र कृष्ण कार्कीले २/२ तथा पुश्प र शाहब आलमले १/१ विकेटमा नाम लेखाए।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २७ रन जोडे भने सुवेन्दु पाण्डे र रोहितकुमार पौडेलले समान २० तथा हरिकृष्ण झाले १४ रन बनाउनुवाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

प्रकाशित: २ वैशाख २०७४ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App