८ वैशाख २०८१ शनिबार
खेल

मुम्बईको उत्कृष्ट पुनरागमन

बेङलोर- किरन पोलार्ड र कुनाल पाण्डेले छैटौं विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेपछि मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा रोयल च्यालेन्जर्स बेङलोरमाथि उत्कृष्ट पुनरागमनमा ४ विकेटको जित हासिल गरेको छ।

१ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा अत्यन्तै कमजोर सुरुआतमा सिमित भएको मुम्बईले ७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। सामुइल बद्रीले ह्याटि्रकसहित ४ विकेटमा नाम लेखाउँदा बेङलोरले १ सय ४२ रनको योगफल रक्षा गर्ने संकेत देखाए पनि पोलार्ड र कुनालले मुम्बईलाई जितको बाटोमा डोर्‍याए।

७ रन बनाउँदा दुवै ओपनर पार्थिव पटेल (३) र जोस बट्लर (२) सहित कप्तान रोहित शर्मा र मिचेल म्याकक्लिनाघनलाई सुन्य रनमा गुमाएको मुम्बईको इनिङ सम्हाल्ने क्रममा पोलार्डले नितिश राना (११) सँग पाँचौं विकेटका लागि २६ रनको साझेदारी गरे। त्यसपछि कुनालसँग उनले खेल जिताउने महत्वपूर्ण साझेदारी गरेका थिए। ४७ बल खेलेका पोलार्डले ३ चौका र ५ छक्कासहित ७० रन बनाए भने कुनालले ३० बलमा ३ चौका र १ छक्कासहित ३७ रनको योगदान गरे। म्यान अफ दी म्याच पोलार्ड आउट भएपछि क्रिजमा आएका हार्दिक पाण्डेले विजयी छक्का प्रहार गर्दै १८.५ ओभरमा मुम्बईलाई जित दिलाए।

बेङलोरका लागि बद्रीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर ह्याटि्रकसहित ४ विकेट लिए पनि मुम्बईको विजययात्रा रोक्न त्यो पर्याप्त भएन।

यसअघि कप्तान विराट कोहलीले ६२ रनका साथ जारी सिजनको प्रतियोगितामा प्रभावशाली आगमन गर्दा टस हारेर ब्याटिङलाई निम्त्याइएको बेङलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार गरेको थियो। ४७ बलमा कोहलीले ५ चौका र २ छक्का प्रहार गरेका थिए। कोहलीवाहेक बेङलोरका लागि अर्का ओपनर क्रिस गेलले २७ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए भने एबि डी भिलियर्सले १९ तथा पवन नेगीले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

आइपिएलमा अघिल्लो दिन बिहीबार ढिलोगरी सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जावमाथि ८ विकेटको जित हासिल गरेको थियो। पञ्जाबले दिएको १ सय ७१ रनको लक्ष्य कप्तान गौतम गाम्भिरको ७२ रनप्रेरित कोलकाताले १६.३ ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो।

प्रकाशित: २ वैशाख २०७४ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App