७ वैशाख २०८१ शुक्रबार
खेल

मैत्रीपूर्ण पहिलो खेलमा नेपाल विजयी

काठमाडौं- मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार भ्रमणको पहिलो मैत्रीपूर्ण खेलमा विजय हासिल गरेको छ।

लन्डनस्थित इन्डियन जिमखाना मैदानमा भएको पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकीय इनिङ खेलेपछि नेपाली टोलीले स्थानीय फ्री फोरेस्टर क्लबविरुद्ध १ सय २९ रनको फराकिलो जित पाएको थियो।

ओपनर अनिल मण्डल सस्तैमा आउट भए पनि ब्याटिङमा ज्ञानेन्द्र र शरद जमेपछि नेपालले ४० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रनको योगफल तयार गरेको थियो। नेपालका लागि अनिलसँगै इनिङ सुरुआत गरेका ज्ञानेन्द्रले सर्वाधिक ७३ रनको योगदान गरे भने शरदले ५० रन जोडे। टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालका कप्तान पारस खड्काले ४० रन थप्दा सागर पुनले २१ तथा राजेश पुलामीले ११ रन बनाए।

जवाफमा आएको फ्री फोरेस्टरलाई १ सय ६ रनमा रोक्दै नेपालले फराकिलो जित हासिल गरेको हो। विक्रम सोबले ४ तथा सन्दिप लामिछानेले ३ विकेट लिएपछि नेपालले विपक्षीको इनिङ २६.४ ओभरमा सीमित गरेको थियो। नेपालका लागि करण केसी र शक्ति गौचनले एक/एक विकेट थपे।

बेलायत भ्रमणपछि नेपालले अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्ससँग दुई खेल खेल्नेछ। नेपालले नेदरल्यान्ड्सविरुद्धका दुवै खेल अगस्ट १३ र १५ मा विपक्षीको मैदान एबेरडिनमा खेल्नेछ। नेपाली टोली बेलायतबाट नेपाल फर्केर विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेदरल्यान्ड्सतिर लाग्नेछ।

प्रकाशित: ३० असार २०७३ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App