coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव वैशाख ३१ मै : माओवादी

काठमाडौं- सरकारको नेतृत्वकर्तासमेत रहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले घोषित मितिमै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

सरकारले मंगलबार संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेको अवस्थामा माओवादी केन्द्रको निर्णय आएको हो।

माओवादीले मोर्चा र गठबन्धनसँग निर्वाचन वातावरण बनाउन छलफल भने जारी राख्ने भएको छ। यसको जिम्मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको प्रवक्ता पम्फा भुसालले बताइन्। 'मोर्चा र गठबन्धनलाई पनि मनाएर लैजान अन्तिमसम्म माओवादी केन्द्रले प्रयास गर्नेछ', भुसालले नागरिकसँग भनिन्, 'त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षलाई सुम्पेका छौं।' उनका अनुसार संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने मोर्चा र गठबन्धनको निर्णय आश्चर्यजनक भएको निष्कर्ष पनि बैठकले निकालेको छ।

माओवादी केन्द्रले वैशाख ९ गतेसम्ममा पार्टीका तर्फबाट सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका उम्मेदवार चयन गरिसक्ने निर्णय पनि गरेको छ। 'आजको बैठकबाट वैशाख ९ गते सबै उम्मेदवार तय गर्ने निर्णय भएको छ,' प्रवक्ता भुसालले भनिन्, 'सोही दिन नै सबै ७ सय ४४ स्थानीय तहमा चुनावी सभा गर्ने निर्णय पनि गरिएको छ।' बैठकले 'माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहरदरबार' भन्ने नारा तय गरेको उनले जानकारी दिइन्।

यसअघि माओवादीले मातहतका कमिटीलाई चैत २५ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको थियो तर सो मितिसम्ममा काम भने हुन सकेन।

प्रकाशित: २ वैशाख २०७४ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App