काठमाडौं- चर्चित फुटबलर नवयुग श्रेष्ठ पल्सर स्पोर्टस अवार्ड २०७२ को मुख्य विधा वर्षको उत्कृष्ट पुरुष खेलाडीतर्फ पनि मनोनयनमा परेका छन्। साउन ६ गते हुने स्पोर्टस अवार्डका लागि नवयुग यसअघि पिपुल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए। पिपुल्स च्वाइसका अर्का प्रतिस्पर्धी क्रिकेटर सन्दिप लामिछाने पनि युवा विधाको मनोनयनमा परेका छन्।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच अवार्डको चार विधाको मनोनयन सार्वजनिक गर्दा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सफलता पाउने खेलाडीले वर्चस्व जमाएका छन्।
बंगबन्धु गोल्डकप र १२ औं साग खेलकुदमा गतिलो प्रदर्शन गरेका आर्मी क्लबका स्ट्राइकर नवयुगसँग पुरुष वर्ष खेलाडीमा उनकै क्लब सहकर्मी गोलकिपर विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा मनोनयनमा परेका छन्। विकेश पनि बंगबन्धु र सागमा गरेको प्रदर्शनका आधारमा मनोनयनमा पर्दा विकास, राजेश र वीरबहादुर तीनै जनाले सागमा रजत पदक जितेका थिए।
१२ औं सागमा नेपालले जितेको तीनमध्ये दुई स्वर्ण जित्ने जुडोकी फुपुल्हामु खत्री र उसुकी निमा घर्तीमगर महिला वर्ष खेलाडीको मनोनयनमा परेका छन्। उनीहरूसँगै पौडीकी गौरिका सिंह, ट्रायथोलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की छन्। उनीहरू सबै सागका पदकधारी हुन्। फुपुले २१ वर्षपछि जुडोबाट नेपाललाई सागको स्वर्ण दिलाउँदा निमा १२ औं सागमा देशका लागि पहिलो स्वर्ण जित्ने खेलाडी हुन्। सागमा गौरिकाले ऐतिहासिक रूपमा नेपाली पौडीका लागि रजतसहित चार पदक जितेकी थिइन्। व्यक्तिगततर्फ पौडीबाट सागमा पदक जित्ने उनी पहिलो नेपाली पौडीवाज हुन्।
पहिलोपल्ट सागमा समावेश ट्रायथोलनबाट रोजाले १ रजत र १ कांस्य जित्दा तेक्वान्दोकी रेजिनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामै रजत पदक जितेकी थिइन्।
फुपु र गौरिकाले आसन्न रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। फुपु हंगेरीमा विशेष प्रशिक्षण लिइरहेकी छन्।
महिलातर्फका दुई प्रतिस्पर्धी निमा र गौरिका उत्कृष्ट युवाको मनोनयनमा पनि परेका छन्। उनीहरूसँगै क्रिकेटर सन्दीप, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अञ्जन विष्ट छन्। सन्दीपले बंगलादेशमा सम्पन्न आइसिसी यु–१९ विश्वकपका ६ खेलमा १४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन दिएका थिए भने मनिताले सागमा रजत जितेकी थिइन्। घरेलु प्रतियोगिताहरूमा स्वर्ण जितेकी मनिताले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै सागबाट रजत ल्याएकी हुन्। एपिएफ क्लबका १८ वर्षे अञ्जन भने बंगबन्धु, १२ औं साग र साफ यु–१९ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्।
मञ्चको खेलाडी छनोट समितिका संयोजक तथा सचिव राजु घिसिङले २०७२ सालभर गरेको प्रदर्शनका आधारमा सबै विधामा ५–५ उत्कृष्ट खेलाडी मनोनयन गरिएको बताए।
तिनै खेलाडीलाई प्रशिक्षण गराउने उत्कृष्ट प्रशिक्षकका लागि उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलका राजुकाजी शाक्य र बालगोपाल महर्जन तथा क्रिकेटका जगत टमाटा मनोनयनमा परेका छन्। प्रकाशको प्रशिक्षणमा सागबाट थाउलोका सात खेलाडी सबैले पदक जिताएका थिए। महिला प्रशिक्षक दलबहादुरले नेतृत्वमा जुडोको कुल ९ पदकमध्ये ६ महिला खेलाडीले जितेका थिए। त्यस्तै राजुकाजीको प्रशिक्षणमा नेपाली फुटबलले साग खेलकुदमा २३ वर्षपछि स्वर्ण जित्दा बालगोपालले पनि सागभन्दा एकमहिनाअघि मात्र बंगबन्धुको ट्रफी दिलाएका थिए। जुन नेपालले २३ वर्षपछि जितेको उपाधि थियो। राष्ट्रिय क्रिकेट प्रशिक्षक टमाटाको नेतृत्वमा भने नेपाली यु–१९ टोली आइसिसी यु–१९ ग्लोबल वर्ल्डकप क्लालिफायरमा विजेता र एसिसी यु–१९ एलिटमा उपविजेता भएको थियो।
पिपुल्स च्वाइस विधाको मनोनयन भने एक साताअघि नै भएको थियो। नवयुग र सन्दीपसँग पिपुल्स च्वाइसका प्रतिस्पर्धीमा टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन र भलिबलकी प्रतिभा माली छन्।
विजेता घोषणा भने स्पोर्टस अवार्डको कार्यक्रमकै दिन साउन ६ मा हुनेछ। पुरुष, महिला र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरबाइक पुरस्कार पाउँदा अन्य विधाका विजेताले नगद ५० हजार पाउने छन्। आठ विधामा दिइने पुरस्कार दिइने अवार्डमा उत्कृष्ट पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट विधाको घोषणा भने सोझै कार्यक्रममै हुने आयोजक मञ्चले जनाएको छ।
प्रकाशित: ३० असार २०७३ ०४:०८ बिहीबार