१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतीय फुटसलमा गिग्स

नयाँ दिल्ली- वेल्स फुटबलका पूर्व सुपरस्टार रायन गिग्सले खेलाडीका रूपमा मैदानमा पुनरागमन जनाउने भएका छन्। म्यानचेस्टर युनाइटेडका महान खेलाडी एवं पूर्व सहायक प्रशिक्षक गिग्स भारतमा यसै साता सुरु हुने प्रिमियर फुटसलको पहिलो संस्करणमा खेलाडी हुँदै मैदान उत्रने आयोजकहरूले बुधबार जनाएका छन्।

चेन्नईमा शुक्रबार सुरु प्रतियोगिताका लागि ब्राजिलका पूर्व स्टार रोनाल्डिन्हो र एसी मिलानका पूर्व स्ट्राइकर हर्नान क्रेस्पोले पनि सम्झौता गरेको बताइएको छ।

इङ्लिस प्रिमियर लिगको महारथी युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोजे माउरिन्होलाई नियुक्त गरेपछि ४२ वर्षे गिग्स ओल्ड ट्राफोर्डमा सहायक प्रशिक्षकको भूमिकाबाट टाढिनुपरेको थियो।

पूर्व खेलाडीहरूको भूमिकाबाट असन्तुष्ट माउरिन्होले गिग्सलाई सहायक प्रशिक्षकमा नस्वीकारेपछि पूर्व विंगरले राजीनामा दिएका थिए। माउरिन्होले विगतमा लुइस भान हाल तथा डेविड मोयेजको कालमा टोली संकटमा पर्दा गिग्स, पाउल स्कोल्स लगायतका पूर्व खेलाडीले सार्वजनिक रूपमा प्रशिक्षकहरूको समर्थन नगरेको भन्दै आलोचना गरेका थिए। विश्वासको संकट देखाउँदै माउरिन्होले गिग्सको भूमिका क्लबमा सिनियर र जुनियर टोलीबीचको पुलका रूपमा मात्र सीमित गरेपछि दुबईमा बिदा मनाइरहेका उनले राजीनामा दिएका थिए। युनाइटेडसँगको लामो समयदेखिको सम्बन्धमा निराशाजनक ढंगमा पूर्णविराम लगाएपछि गिग्सको भविष्यप्रति विभिन्न खाले चर्चा चल्न थालेका थिए। गिग्सले युरोपकै कुनै क्लबमा प्रशिक्षकमा करिअर सुरु गर्ने चर्चा चलिरहेका थिए तर उनले खेलाडीका रूपमा फुटसलतिर समय कटाउने मेलो सुरु गरेर धेरैलाई आश्चर्यमा पारेका छन्।

'सुनौलो इतिहास लेखाइको पर्खाइमा छ। रायन गिग्स, रोनाल्डिन्हो र हर्नान क्रेस्पो प्रिमियर फुटसल परिवारको सदस्य भएका छन्,' आयोजकले बुधबार टि्वट गरेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट, इन्डियन सुपर लिग फुटबल लगायतका प्रतियोगिताको भव्य सफलतापछि भारतमा हुन लागेको यो अर्को मुख्य व्यावसायिक प्रतियोगिता हो। तर भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसनको मान्यता यो प्रतियोगिताले पाएको छैन।

फुटबल संघले यसलाई एउटा निजी प्रतियोगिता मान्दै यसमा सहभागिता नजनाउन भारतीय खेलाडीलाई सूचित गरेको छ।

इन्डोर हलमा हुने फुटबलमा भारतका ६ टोली सहभागी हुनेछन्।

गिग्सले मुम्बई टोलीको नेतृत्व गर्नेछन् भने युनाइटेडका उनका पूर्व सहयात्री इङ्ल्यान्डका पूर्व स्टार पाउल स्कोल्सले बेङ्लोर टोलीमा सम्झौता गरिसकेका छन्। गिग्सले १९९० देखि २०१४ सम्म युनाइटेडबाट शीर्ष स्तरको व्यावसायिक फुटबल खेल्ने क्रममा ९ सय ६३ खेल खेल्दै १ सय ६८ गोल गरेका थिए।

प्रकाशित: ३० असार २०७३ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App