coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नववर्ष रौनक : बिहानैदेखि वाग्द्वारमा स्नान मेला

काठमाडौँ – प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्ने वाग्मती नदीको उद्गमस्थल वाग्द्वारमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नव वर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको प्रा डा ऋषिराम पोखरेल बताउँछन् । 

“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यही भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उनले भने – “वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको हो ।” 

वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गरेको बूढानीलकण्ठका स्थानीय नरप्रसाद धिताल बताउँछन् । 

शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवम् दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको संस्कृति विषयमा विद्यावारिधि गर्नुभएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन बताउँछन् । 

यसैले वैशाख महिनामा चोभारदेखि सुन्दरीजलसम्मको वाग्मती किनारका विभिन्न तीर्थमा वाग्मती स्नान मेला लाग्ने गर्छ । वाग्मती फोहर बन्दै गएपछि वैशाख महिनामा लाग्ने वाग्मतीको यो मेलामा कमी आएको छ । 

वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुन्जेल अविच्छिन्न रुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल रहेको प्रा डा पोखरेल बताउँछन् । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि उपयुक्त स्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा वर्णन गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध भएका थिए । 

यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यही बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ । 

प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने ललितपुरका श्यामकृष्ण शर्मा आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घन्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न आएको बताउँछन्। 

वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घन्टा र सुन्दरीजलबाट साढे तीन घन्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । 

वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगब्याध नलाग्ने किंवदन्तीसमेत छ । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App