७ वैशाख २०८१ शुक्रबार
राजनीति

गोरखामा छ दलले चुनाव लड्न नपाउने


गोरखा - जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । 

दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो । 

जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । 

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए। 

निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार १५५ जना कर्मचारी खटाउने गृहकार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा कार्यालय खोल्ने बताइएको छ । 

मतदाता शिक्षा दिन सुरु गरिएको छ । मतदाता परिचयपत्र मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन हुनुपूर्व बाँड्नेछन् । निर्वाचनलाई स्वतन्त्र र भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षाका हिसाबले पनि तयारी सुरु गरिएको प्रजिअ बस्नेतको भनाइ छ । नगर प्रमुख, उपप्रमुखका साथै गाउँपालिका प्रमुख, उपप्रमुखलगायत वडाका विभिन्न पदमा उम्मेदवार क–कसलाई बनाउने भन्ने गृहकार्यमा दलहरु लागिपरेका छन् । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App