४ वैशाख २०८१ मंगलबार
समाज

आज वर्षको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ – आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । 

यस अवसरमा शुक्रबार बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । 

इतिहासकार प्राडा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यवहारमा इस्वी संवत चलेको छ”–उनले भने । 

विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उनले दिए । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताए । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । “सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उनले भने । 

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइन्छ । 

नयाँ वर्षका अवसरमा काठमाडौँको उत्तरी भेगस्थित बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (वागमती नदीको उद्गमस्थल) मा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ । 

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जन विश्वास छ । 

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास रहेको छ । 

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एकसाता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App