५ वैशाख २०८१ बुधबार
अर्थ

नेपाल टेलिकमको पल्स अवधि घट्यो

काठमाडौं- नेपाल टेलिकमका मोबाइल ग्राहकले नयाँ वर्षको दिनबाट १० सेकेन्डको एक पल्सको सुविधा पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार वैशाख १ गतेदेखि नै टेलिकमले पल्सको अवधि घटाउने लागेको हो।

२० सेकेन्ड रहेको नेपाल टेलिकमको मोबाइल पल्स अवधि १० सेकेन्ड

'हामीले भोलिदेखि नै (वैशाख १) पल्सको अवधिलाई घटाउन तयारी अवस्थामा छौं,' टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभणडरीले बिहीबार नागरिकसँग भनिन्, 'प्राधिकरणको निर्देशन अनुसार सबै सेवामा पल्सको अवधि घटाउँछौं।' प्राधिकरणले एक महिनाअघि वैशाख १ गतेदेखि मोबाइलको पल्स १० सेकेन्ड र कात्तिक १ देखि एक सेकेन्ड राख्न सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको थियो। सोही अनुसार तयारी अवस्थामा रहेको उनले जानकारी गराइन्।

मुलुकको अर्को ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भने पल्स घटाउने विषयमा बिहीबारसम्म कुनै जानकारी नगराएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। मुलुकमा ६ वटा दूरसञ्चार कम्पनी रहे पनि नेपाल टेलिकम र एनसेल दुवैको जोड्दा बजार हिस्सा झन्डै ९९ प्रतिशत छ।

प्राधिकरणले पहिलो चरणमा वैशाख १ गतेदेखि र दोस्रो चरणमा कात्तिक १ देखि लागू गर्न निर्देशन दिएको थियो। यस अनुसार अब नेपाल टेलिकमका ग्राहकले शुक्रबारदेखि मोबाइलको १० सेकेन्ड, पिएसटिएन  (ल्यान्डलाइन) को ६० सेकेन्ड, अर्न्तराष्ट्रिय कलको ३० सेकेन्डको हिसाबले पल्सको सुविधा पाउने छन्। कात्तिक १ देखि भने मोबाइलमा १ सेकेन्ड, अन्तर्राािष्ट्रय कलमा १० सेकेन्डको एक पल्स अवधि हुनेछ। अहिलेसम्म मोबाइल २० सेकेन्ड, अन्तर्राष्ट्रिय कलको निम्ति ६० सेकेन्ड, स्थानीय टेलिफोनका निम्ति प्रत्येक एक २० सेकेन्ड अर्थात दुई मिनेटमा एक पल्स निर्धारण गरिएको थियो।

पल्स भनेको ग्राहकले कुरा गरेको समयको अवधि हो। अहिलेसम्म सेवा प्रदायक कम्पनी अनुसार पल्सको अवधि पनि फरक–फरक रहेको छ। सबैभन्दा धेरै मोबाइल सेवा सञ्चालन गरेका नेपाल टेलिकम र एनसेलले प्रत्येक २० सेकेन्डको एक पल्स बनाएका थिए। यसको अर्थ, ग्राहकले कुरा गर्न सुरु गरेपछि २० सेकेन्डको शुल्क लाग्छ। पाँच सेकेन्ड मै कुरा सकाए पनि २० सेकेन्डै शुल्क तिर्नुपर्ने बाध्यता थियो। कुनै ग्राहकले २१ सेकेन्ड कुरा गरेको छ भने ४० सेकेन्डको शुल्क तिर्नुपर्छ। २१ सेकेन्ड कुरा गर्ने ग्राहकले कुरै नगरी बाँकी १९ सेकेन्डको पैसा तिर्नुपर्छ। यस अनुसार ग्राहकले प्रत्येक २०, ४०, ६० सेकेन्डको पैसा तिर्दै जान्छन्।

अन्तर्राष्ट्रिय प्रचलन, नियम अनुसार पल्सको अवधि घटाउन लागेको प्राधिकरणका प्रवक्ता अर्यालले बताए। उनका अनुसार अब पल्सको अवधि घट्नुको साथै सबै सेवा प्रदायक कम्पनीको पल्स अवधि एउटै हुनेछ। 'ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर हामीले सेवा प्रदायकलाई पल्सको अवधि घटाउन निर्देशन दिएका हौं,' अर्यालले भने।

पहिला कम्प्युटर वा पल्सको हिसाब गर्ने सफ्टवेयरले सेकेन्डको हिसाब निकाल्न नसक्ने भएकाले धेरै अवधिको पल्स राखिएको थियो। संसारभर रहेको यो प्रचलनलाई प्रविधिको सुविधासँगै घटाउँदै लागिएको छ। पछिल्लो समय एक सेकेन्डको पनि हिसाब निकाल्ने प्रविधि आइसकेपछि ग्राहकको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय दूरसञ्चार नियमक निकायहरूले महसुल निर्धारणका लागि एक सेकेन्ड बराबर पल्सको व्यवस्था गरेका छन्।

पछिल्लो समय छिमेकी देशहरूले एक सेकेन्डको एक पल्स निर्धारण गरेका छन्। श्रीलंकामा एक वा ६० सेकेन्डको पल्स (ग्राहकले छान्न सक्ने), पाकिस्तानमा एक, ३० र ६० सेकेन्डको एक पल्स (ग्राहकले छान्न सक्ने), बंगलादेशमा एक र ६० सेकेन्डको पल्स (ग्राहकले छान्न सक्ने) र भारतमा सबै सेवा प्रदायकले एक सेकेन्डको पल्स बनाउनुपर्ने नियम बनाइको छ।

श्रीलंकाले यो व्यवस्था केही वर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छ। भारत, पाकिस्तान र बंगलादेशले हालसालै सुरु गरेका हुन्। अहिले भारतीय नियामक निकाय टिआरएआईले यसलाई अनिवार्य समेत बनाएको छ।

प्रकाशित: १ वैशाख २०७४ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App