८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी कन्टेनर रेलबाट

वीरगन्ज- तेस्रो मुलुकबाट आउने मालसामानका लागि भारतीय रेल्वेले नेपाली कन्टेनर ट्रान्जिटका लागि रेलको वैकल्पिक मार्ग प्रयोगमा ल्याएको छ। यसले गर्दा व्यापार छिटोछरितो हुन थालेपछि मासिक लाखौं डलर बराबरको नेपाली मुद्रा नोक्सानी हुनबाट जोगिन थालेको व्यापारी बताउँछन्।

'नेपाली कार्गो बोकेर वीरगन्ज आइसिडी (इनल्यान्ड कन्टेनर डिपो)मा आउने रेललाई विशेष प्राथमिकतासाथ पासिङदिने सूचना कोलकता–रक्सौल–वीरगन्ज सुक्खा बन्दरगाह रुटमा पर्ने हरेक रेल्वे स्टेसनलाई छ,' वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, 'रेल्वे ट्राफिकमा बढी जाम हुने रुटका विकल्पमा तीन रुट प्रयोगमा ल्याइएको छ।'

उनका अनुसार प्रयोगमा आएका तीन वैकल्पिकमार्गमध्ये समस्तिपुरयताको एउटा नयाँ मार्ग २०७२ जेठदेखि नै अपनाइएको हो। उता कोलकता–समस्तिपुरबीचमा दुइटा फरक रेलमार्ग हालसालै भारतीय रेल्वेले नेपाली कार्गो ओसार्नलाई प्रयोगमा ल्याएको हो। रेल्वे ट्राफिकबाट नेपाली कार्गो जोगिँदा बाटोमा लाग्ने समय बच्ने मात्र होइन डेमरेज, डिटेन्सनमा जाने पैसा पनि जोगिएको हो। 'यो स्वागतयोग्य कदमहो, हाम्रो कार्गोका लागि जति छिटो हुने गरी विकल्प दियो त्यत्ति नै फाइदा हुन्छ।डिटेन्सन र डेमरेजबाटजोगिन्छौं,' वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, 'रेलमार्गबाट कार्गो मगाउँदा पहिलेभन्दा छिटोछरितो भएको छ।'

२०५५ को 'नेपाल भारत पारवहन सन्धि' अनुसार भारतीय सडकमार्ग र २०६१ को 'नेपाल भारत रेल सेवा सम्झौता' अनुसार भारतीय रेलमार्ग नेपालको आयात र निर्यातका लागि प्रयोगमा छ। यसअघि भारतीय भूमिमा नेपाली कार्गो ढुवानीमा रहेका जटिलता हटाउन र त्यसलाई सहज तथा छिटोछरितो बताउन उद्योगी व्यापारीले माग गर्दै आएका थिए।

कोलकता भएर विदेशबाट हुने आयातको विषय प्रमुख हो। कोलकता पोर्ट ट्रष्टका अनुसार ताजा अवस्थामा नेपालका लागि वर्षमा करिब ५० हजार 'टियुएस' (२० फिटको एकाइ) कन्टेनर आउने गरेका छन्। यसमध्ये करिब ६० प्रतिशत रेलमार्गबाट वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुग्छ। आर्थिक वर्ष २०७२/०७३ मा सुक्खा बन्दरगाहमा २९ हजार १ सय ८८ कन्टेनर भित्रिए। रेलमार्गबाट भित्रिने यिनै कन्टेनरको हकमा रेल्वेमा ढुवानी गर्दा विकल्पमार्ग अपनाइदा नेपाललाई फाइदा पुगेको हो।

यस्तो छ रुट

पहिले बन्दरगाहबाट छुटेका मालवाहक ट्रेन निश्चित गरिएको एकमात्र रेलमार्ग कोलकता, आसनसोल, किउल, समस्तीपुर, मुजफरपुर, सुगौली, रक्सोल र त्यहाँदेखी सिर्सिया सुक्खा बन्दरगाह आइपुग्थ्यो। रक्सोल आउन सुगौलीमा रेलको 'पावर' (गाडी तान्ने इन्जिन) आगाडिबाट छुटाएर अर्कोतिर जोड्नुपर्ने हुन्छ। त्यहाँ अंग्रेजीको अक्षर 'भी' आकारमा गाडीलाई घुमाउन 'पावर' (इन्जिन) एकातिरबाट निकाली अर्कोतिर जोड्ने बाध्यता थियो। सुगौली भएर आउँदा रक्सोलबाट वीरगन्ज आइसिडीमा ट्रेन लैजान पनि 'भी' आकारमा घुमाउनुपर्ने भएर फेरि यहाँ पनि 'पावर' छुटाएर अर्कोतिर जोड्नुपर्ने हुन्थ्यो। दुई पटक इन्जिन छुटाएर जोड्ने समयले गर्दा ट्रेनलाई निकै विलम्ब हुने गरेको थियो। त्यस्तै यो रुटमा यात्रुबाहक रेल पनि बढी भएकोले विलम्ब हुने गरेको थियो।

पहिलो विकल्प बनाइएको समस्तिपुरयता सितामढी हुँदै रक्सोल र त्यहाँबाटवीरगन्ज आइसीडिमा कन्टेनर बोकेका ट्रेन आउन थाल्यो। यसमा 'पावर' फेरबदलको आवश्यकता रहँदैन, मालवाहक ट्रेन सिधै वीरगन्ज आइसीडिमा प्रवेश गर्ने गर्छ। यसलेगर्दा निकै राहत भएपनि समस्तिपुरभन्दा उता कोलकतासम्मको रेलमार्ग भारतको बढी व्यस्तरुट हो। अहिले दुई विकल्प रेलमार्ग दिएर त्यसैको समाधान निकालिएको हो। नयाँ रुटमा आसनसोलबाट हिँडेपछि किउलबाट नेपाली कन्टेनरबाहक रेल उतरी लिकमा मोडिन्छ र कटिहार जक्सन हुँदै अर्कोतिरबाट आएर फेरि समस्तिपुरमा जोडिन्छ। त्यस्तै मुँगेरस्थित नदीमा रेल्वे पुल बनेपछि आसनसोलबाट माल्दाटाउन भएर नयाँ रुट चालू भएको छ। आसनसोलबाट माल्दाटाउन र किउल हुँदै आउने सो रुट पनि दैनिकजसो अहिले नेपाली मालवाहक रेलको लागि प्रयोगमा आइहेको छ।

रेलबाट आउने कन्टेनर बढे

रेलबाट ढुवानी भाडा कम भए पनि समय बढी लाग्ने भएपछि डेमरेज डिटेन्सनबापत सिपिङ कम्पनीलाई भारी रकम तिर्नुपर्ने समस्या र व्यापारमा विलम्बबाट बच्न सडकमार्ग भएर कन्टेनर मगाउने व्यापारी अब रेलतिर नै आकर्षित छन्। त्यसकारण सुक्खा बन्दरगाह भएर आउने कन्टेनरको संख्या औसतमा मासिक रूपमा २ सय ५४ बढेको छ। अघिल्लो वर्ष महिनामा औसत २ हजार ४ सय ३२ कन्टेर सुक्खा बन्दरगाहमा आएका थिए। यो वर्ष त्यो अनुपात प्रतिमहिना २ हजार ६ सय ८६ छ। 'अहिले सुक्खा बन्दरगाहमा कन्टेनर मगाउदा अतिरिक्त समय लागि रहेको छैन, त्यसले गर्दा व्यापार लागत घटेको छ र नेपाललाई आर्थिक रूपमा पनि फाइदा छ,' वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले भने, 'धेरै सुधार र राहत भएको छ।'

प्रकाशित: १ वैशाख २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App