१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ वर्षमा पर्यटकीयस्थल भरिभराउ

नयाँ वर्षमा पर्यटकीयस्थल रुपाकोट पुगेका स्थानीय । तस्बिर : दमन राई

खोटाङ – नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । जिल्लाको रुपाकोट, मझुवागढी, ट्याम्के, मैयुँ, हलेसी, भुम्जुडाँडा लगायतका पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने स्थानीयको भीड लागेको हो । 

केही वर्ष यता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थलमा गएर सामूहिकरुपमा पिकनिक खाँदै रमाइलो गर्ने र शुभकामना आदानप्रदान गर्ने प्रचलन सुरु भएको हो । वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरी हर्ष र खुसी मिल्ने बिश्वासमा स्थानीयले नयाँ वर्षलाई बिशेष महत्व दिने गरेका छन् । 

घण्टौं पैदल यात्रापछि पर्यटकीयस्थल पुगेर स्थानीयले सामूहिकरुपमा पिकनिक खाँदै, नाचगान र रमाइलो गर्दै नयाँ वर्ष मनाइरहेका छन् । खसी, सुँगुर, भाले, चामल, चिउरा तथा पेयपदार्थ सहित पर्यटकीय स्थल पुगेका उनीहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै र एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । रमणीय पर्यटकीयस्थलमा स्थानीय बाहेक कर्मचारी, संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, युगल जोडी समेतको बाक्लो उपस्थिति देखिन्छ । कतिपय स्थानीय रिजर्भ गरिएका गाडी, मोटरसाइकलबाट पर्यटकीय स्थलहरुमा नयाँ वर्ष मनाउन पुगेका छन् । नयाँ वर्ष मनाउन गएका कारण सदरमुकाम दिक्तेलका पशलहरु कम खुलेका छन् । बजार सुनसानजस्तै बनेको छ । पछिल्लो समय अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने स्थानीयको भीड लाग्न थालेको छ । 

सदरमुकाम दिक्तेल नजिक रहेको रुपाकोट र मझुवागढीमा शुक्रबार बिहानदेखि सर्वसाधारणको बाक्लो भीड लागेको छ । रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ लगायका बुढापाका, युवायुवती र केटाकेटीको भीड लागेको छ । मासु, चामल र पेय पदार्थ लगायतका बन्दोबस्तीका सामान सहित रुपाकोटमा पुगेका नजिकका गाबिसका स्थानीय रुपाकोटडाँडामा दुई÷तीन दिन बास समेत बस्ने गरेका छन् । 

परिवारका सदस्य, साथीभाई र आफन्तसहित रमणीयस्थलमा पुगेका सर्वसाधारण साउण्ड सिस्टममा बजाइएको गीतको सुरमा रमाइलो गरिरहेका छन् । 

नयाँ वर्षकै अवशरमा रुपाकोटमझुवागढी नगरपालिकामा पर्ने रुपाकोट र खोटाङ र भोजपुरको सिमानामा पर्ने मैयूँ डाँडामा मैयूँ हाँसपोखरी महोत्सव हुँदैछ । 

 

प्रकाशित: १ वैशाख २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App