coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसी आफ्नै अस्पतालमा पराइ

काठमाडौं- साँघुरो कोठाको अधिकांश भाग कबाडीबाट ल्याइएका 'बेड'ले ढाकिएको छ। थोरै बचेको ठाउँमा भेट्न आएका र नजिकका सहयोगी बस्न एउटा कुर्सी छ, दुइटा चकटी भुइँमा ओछ्याइएको छ। खुट्टातिर एउटा टेबल फ्यान छ।

नाडी र मुटुको चाल देखाउने सामान्य खालको मोनिटरसमेत राख्ने ठाउँ नभएर बेडमुनि राखिएको छ। बेडको मुनि नै छन् केही मास्क, पानीको बोतल र केही पुराना पत्रिका। बेडमा पल्टिरहेका छन् डा. गोविन्द केसी।

छेउछाउमा बसेका आफन्त र केही विद्यार्थी घरी मोनिटर हेर्छन् त घरी डा. केसीको अनुहारको संकेत (फेसियल एक्सप्रेसन)। आमरण अनशनको चौथो दिन। स्वास्थ्य सूचकहरुले माग गरेअनुसार उपचार प्रबन्धसमेत गर्न नसकेकोमा उनीहरुमा एकप्रकारका छटपटी छ। डा. केसीलाई भेट्न पुगेका अधिकारकर्मी, राजनीतिकर्मी र पत्रकारसँग समेत उनीहरु फराकिलो कोठासहित उपचारका लागि चिकित्सक टोली र उपकरण व्यवस्था गर्न पहल गरिदिन आग्रह गरिरहेका देखिन्थे।

'अहिले मुटुको सम्पूर्ण चाल, अक्सिजनको लेभलको निरन्तर मोनिटर गर्ने कार्डिया मोनिटर र अक्सिजन नै जोड्नुपर्ने अवस्था हो,' नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्षसमेत रहेका डा.  लिजन महर्जनले दिउँसो २ बजे नागरिकसँग भने।

चार दिनदेखि केही नखाएका ६० वर्षे डा. केसीको स्वास्थ्यमा तेस्रो दिनदेखि नै समस्या देखिन थाले पनि अस्पताल प्रशासनको असहयोगले जोखिम थपिएको विद्यार्थीहरुको भनाइ छ। मंगलबार जलवियोजन भए पनि नसा खोल्नका लागि नर्स बोलाउन जाँदा नर्सले समेत अस्पताल प्रशासनले अनशन स्थलमा नजान निर्देशन दिएको बताएका थिए। मंगलबार स्लाइन, अक्सिजनसहित अन्य उपकरणसमेत उपलब्ध गराइएन। आवासीय चिकित्सक एवं विद्यार्थीले मंगलबारै उपचारमा सघाउन र अनशनका लागि फराकिलो कोठा उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निवेदन दिएका थिए।

अपराह्न राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अवलोकन र अनुसन्धानपछि अस्पतालले आवश्यक उपचार सेवा उपलब्ध नगराएको जनाएपछि अस्पताल प्रशासनले एउटा मोनिटर र अक्सिजन उपलब्ध गराएको थियो। तर उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली खटाएको छैन। कतिपय चिकित्सकले अनशन स्थलमा आउन नसक्ने भन्दै टेलिफोनबाटै रेजिडेन्टमार्फत् रिपोर्ट हेरेर अवस्था पहिचान गराइरहेका छन्।

चिकित्सकका अनुसार डा. केसीले पानीको सट्टा नर्मल स्लाइनबाहेक कुनै औषधि लिन नमान्ने भएकाले अक्सिजन र क्लोज मोनिटरका भरमा जोखिम आकलन गरिरहनुपर्छ। पछिल्लो रिपोर्टअनुसार डा. केसीको क्रियाटिनन घट्नुका साथै पिसाबमा किटोन बडीको मात्रा बढ्दै गएको छ। 'सबैभन्दा समस्या मुटुको चालमा अस्थिरता बढ्दै गएको छ, रगतमा अक्सिजनको मात्रा घट्न थालेको छ,' अर्का रेजिडेन्ट डा. सचित रुपाखेतीले भने, 'केही समय बोल्नासाथ अक्सिजन घटेर स्वाँस्वाँ सुरु हुन्छ।' चिकित्सकका अनुसार नर्मल अवस्थामा ७२ प्रतिमिनेट हुनुपर्ने मुटुको धड्कन बढेर १०० सम्म पुग्ने गरेको छ। १०० हाराहारी हुनुपर्ने अक्सिजनको मात्रा ९० हाराहारीमा खस्कने गरेको छ।

विद्यार्थी चिकित्सकहरुले तयार पारेको डा. केसीको हेल्थ बुलेटिनमा यसअघि धेरै दिनपछि देखिने लक्षण यसपटक तेस्रो दिनदेखि नै देखिन थालेको उल्लेख छ। डा. सचित शर्माद्वारा जारी विज्ञप्तिमा डा. केसीको धड्कन तेज हुने, शरीरमा सुगरको मात्रा न्यून देखिएको उल्लेख छ। विज्ञप्तिमा रक्तचाप निगरानी गर्ने उपकरण जोड्नुपर्ने अवस्था आएको र उपचारमा विशेष प्रवन्ध गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि अस्पताल प्रशासनसँग आग्रहसमेत गरिएको छ।

यसअघिका अनशनमा सुरुमा अस्पतालमा अनशन नबस्न पत्राचार गर्ने गरे पनि अस्पताल प्रशासनले स्वास्थ्य समस्या देखिएपछि उपचार व्यवस्था बेलैमा गर्ने गरेको थियो। त्यसका लागि आवश्यक परेको अवस्थामा सार्ने गरी आइसियुसमेत खाली राखेर विभिन्न रोगका विशेषज्ञले नियमित अनुगमन गर्ने गरेका थिए। त्योबाहेक नर्सिङ स्टाफको समेत व्यवस्था गर्ने गरिएको थियो। यसपटक त्यस्तो कुनै व्यवस्था गरेको छैन।

सबैजसो अनशनमा स्वास्थ्य उपचारको नेतृत्व गरेकी वरिष्ठ चिकित्सक डा. दिव्यसिंह शाहले समेत अस्पताल प्रशासनले पत्र दिएर पठाएमात्रै उपचारमा संलग्न हुने बताएकी छन्। त्यसैगरी, प्रमुख सहयोगीका रुपमा काम गरेका र स्वास्थ्य मोनिटरमा समेत सघाएका डा. वाइपी सिंह लगायत वरिष्ठ चिकित्सकसमेत नजिक परेका छैनन्। 'साथीहरुको मप्रति पूर्ण समर्थन छ, तर उहाँ अख्तियारको आतंकबाट त्रसित हुनुहुन्छ,' डा.केसीले नागरिकसँग भने।

केसीको अवस्था बुझ्न अनशनस्थल पुगेको मानवअधिकार आयोग टोलीका प्रमुख मानवअधिकार अधिकृत दिपेन्द्र सिंहले उपचारमा अस्पताल प्रशासनले चासो नदिएको बताए। 'शान्तिपूर्ण ढंगले माग राखेर आन्दोलन गर्नु व्यक्तिको मानव अधिकार हो,' सिंहले भने, 'माग सम्बोधन गर्ने सरकारको काम भए पनि अस्पताले उपचारनै नदिन मिल्दैन।'

त्यसैगरी, नेपाल मानवअधिकार संगठनले समेत डा. केसीसँग भएका पुराना सम्पूर्ण सम्झौता कार्यान्वयनको माग गरेको छ। संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले विज्ञप्तिमार्फत् डा. केसीको अनशन चिकित्सा क्षेत्र सुधार र विकाससँग समर्पित रहेको भन्दै, चिकित्सा शिक्षाको विकेन्द्रीकरण र सम्पूर्ण विकृति अन्त्यका लागि भएको लडाइँमा ऐक्यबद्धता जनाएको छ।

'महाअभियोग विना अनशन तोड्दिनँ'

स्वास्थ्य उपचारमा समेत अस्पताल प्रशासन असहयोग गरिरहेको अवस्था डा. केसीले भने आफूलाई अमानवीय व्यवहारले ऊर्जा मिलेको बताएका छन्। उनले शिक्षण अस्पतालका चिकित्सक र अख्तियारको त्रासमा बसेका आम जनतालाई डराएर नबस्नसमेत आग्रह गरे। 'अहिले साथीहरु डराएर बसे र हामीले हार्‍यौं भने साथीहरुले झन् नसोचेको अवस्था आउँछ,' उनले भने।

अपराह्न नागरिकसँग कुरा गर्दै डा. केसीले 'लोकतान्त्रिक भनिएको देशमा लोकमानतन्त्रको छाया मडारिएको र त्यसले अस्पतालभर त्रास फैलाएको' टिप्पणी गरे। 'सात पटकसम्म अनशन बस्दा सबै पदाधिकारी र चिकित्सक कोअपरेटिभ थिए,' उनले भने, 'यसपटक सबैलाई त्रासमा पारेका छन्।' उनले आफूले सरकार परिवर्तनका विषयमा थाहा पाएको भन्दै महाअभियोगको विषय संसद्ले सल्टाउने भएकाले यसले असर नपार्ने बताए। 'लोकतान्त्रिक देशका सार्वभौम जनताका सभासद् त्यति काँतर होलान् भन्ने मलाई लागेको छैन,' उनले दोहोर्‍याए, 'सभासद्ले नआँटे जनता जाग्छन्।'

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहित, मनमोहन मेडिकल कलेजसम्बन्धी संसद्मा विचाराधीन विधेयक फिर्ता हुनुपर्ने, सरकारले संसद्मा लान तयार गरेको चिकित्सा शिक्षासम्बन्धी विधेयकमा परिमार्जन, वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्ति लगायत माग आगाडि सारेर आइतबारदेखि अनशनमा छन्। उनको अनशनलाई नसघाउन जिल्ला प्रशासन कार्यालय, डिन कार्यालय र अस्पताल निर्देशकले समेत पत्रमार्फत् अस्पतालका सम्पूर्ण चिकित्सक, रेजिडेन्ट, विद्यार्थीलाई चेतावनी दिएको थियो। सो आधारमा वरिष्ठहरु डराएपछि रेजिडेन्ट र विद्यार्थीले प्रशासनको निर्देशनको अवज्ञा गर्दै दोस्रो दिनदेखि नै विभिन्न कार्यक्रममार्फत् अनशनलाई सघाउन थालेका छन्। 

समर्थनमा पठनपाठन छोड्ने

डा. केसीको स्वास्थ्य जोखिममा पर्दासमेत सरकार मौन बसेको भन्दै रेजिडेन्ट डक्टर्सले दोस्रो चरणमा पठनपाठन बहिस्कार गर्ने भएका छन्। अस्पतालमा कार्यरत नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) चिकित्सकले बुधबार कालोपट्टी बाँधेर गतिविधिमा संलग्न भएकोमा बिहीबारदेखि पठनपाठनमा सरिक नहुने निर्णय गरेको एनआरडिएका सचिव डा. सचित रुपाखेतीले बताए। डा. रुपाखेतीले पठनपाठनबाहेक शैक्षिक कार्यअन्तर्गत पर्ने पठनपाठन बाहेक (इमर्जेन्सी, वार्ड, ओटी र ओपिडी) मा भने सहभागी हुने बताए। 'डा. केसीको जीवन रक्षाका लागि बाध्य भएर पठनपाठन छाडेका छौं,' रुपाखेतीले भने, 'अब सरकार र अस्पताल प्रशासनको रवैयाका आधारमा हाम्रा कार्यक्रम तय हुँदै जान्छन्।'

प्रकाशित: ३० असार २०७३ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App