८ वैशाख २०८१ शनिबार
समाज

सुवर्णपुरबासीले ५२ वर्षपछि पाए ‘लालपूर्जा’

जग्गाधनीपूर्जाविहीन सुवर्णपुर गाउँ। तस्बिरः रितेश त्रिपाठी

वीरगंज– पर्साको साबिक सुवर्णपुर गाबिसका बासिन्दाहरु पाँच दशकपछि आफूहरुले भोगचलन गरिरहेका जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएका छन् । ५२ वर्षअघि सरकारद्वारा चितवनबाट सारेर पर्सामा बसाईं गराइएका परिवारका तेस्रो पुस्ता पूर्जाको लागि संघर्ष गरिरहेको थियो ।

‘पाँच दशकभन्दा लामो र कठिन संघर्षपछि हामीले जग्गाधनी पूर्जा पाएका छौं, आजको तिथी ऐतिहासिक भयो,’ तत्कालिनन सुवर्णपुर गाविसका पूर्वअध्यक्ष जरी लामाले भने, ‘यसमा सहयोग गर्ने सबैप्रति हामी गाउँबासी आभारी भयौं ।’ एक हजार ३ सय बढी परिवार, बसोबस गर्ने घडेरी र उनीहरुको खेतबारीको प्रमाणपूर्जा नहुँदा बिच्चलीमा थिए । २०२१ सालमा चितवनबाट सारेर पर्सामा बसाइएका सुवर्णपुरबासीले जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । ‘आज हाम्रो लागि खुसीको दिनको हो, गाउँमा साँझ दिपावली मनाउँदै छौं,’ स्थानीय रमेशराज थिङले प्रतिक्रिया दिए।

झण्डै ५ दशकदेखि थाती रहेको ‘पूर्जा बितरण’का लागि समिति बनाउन २०६८ असोजमा सरकारले निर्देशिका जारी गरे अनुसार गठन भई २०७२ चैतदेखि काम थालेको ‘सट्टाभर्ना जग्गा दर्ता समिति’ले पूर्जा बितरण सुरु गरेको हो। समितिका अध्यक्ष रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अगुवाईमा एउटा औपचारिक कार्यक्रम गरी सुवर्णपूरवासीलाई पूर्जा बितरण गरिएको हो ।

‘२ कट्ठादेखि एक बिगहासम्मका ७२ वटा पूर्जा पहिलो दिन बितरण भएको छ,’ मालपोत कार्यालय पर्साको टोली सदस्य सुबेदार यादवले भने, ‘प्रमाणिकरण भइसकेका सबै जग्गाको पूर्जा यसपाली लागातर बितरण भइसक्ने छ।’ मालपोत पर्साका प्रमुख सनदकुमार द्विवेदी, अधिकृत हरिनारायण मिश्र, पर्सा नापी कार्यालयका प्रमुख दुर्गादास महर्जन, सर्वेक्षक विनोद चौधरी, प्रहरी उपरीक्षक गोविन्दकुमार साहलगायत प्रमाणपूर्जा वितरणको पहिलो दिन गरिएको कार्यक्रममा सहभागी थिए।


 

प्रकाशित: ३१ चैत्र २०७३ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App