७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ वर्षमा गन्तव्य इलाम

इलामको कन्याममा रमाउँदै मायालु जोडी । तस्बिरः भीम चापागाईं

इलाम– सुनसरीका गौरीशंकर यादव हरेक नयाँ वर्ष मनाउन प्रायः भेडेटार र हिले पुग्थे । तर, पोहोरदेखि उनी यो सिजनमा इलामतिर लोभिएका रहेछन् । नयाँवर्ष मनाउन बिहीबार परिवारसहित आइपुगेका गौरी ‘इलामे चिसो’को चर्चा सुनेर गर्मी महिनामा यहाँ आउन थालेका हुन् ।

मौसम छ्यांग उघ्रिएकाले इलामलगायत झापा, सुनसरी, भारतको पश्चिम बंगाल, कोलकाता, सिलिगुडीलगायत क्षेत्रबाट पर्यटक खचाखच आएको सन्दकपुरस्थित शेर्पा च्यालेट होटलले जनाएको छ ।

‘सुनसरी तराईको निकै गर्मी हुने ठाउँ भएकाले यहाँ आउँदा हिमालै पुगेझैं लाग्छ,’ उनले सुनाए, ‘पोहोर म मात्र आएको थिएँ, अहिले चाहिँ २ छोरी र श्रीमतीलाई पनि नयाँ वर्षमा इलाम घुमाउन ल्याएको ।’ यादवले वैशाख १ गते (शुक्रबार) चाहिँ इलाम सदरमुकामभन्दा उचाई (२ हजार १ सय २१ मिटर)को चर्चित पर्यटकीयस्थल माइपोखरीसम्म पुग्ने योजना बनाएका रहेछन् । गर्मी महिना सुरु भएसँगै तराईमा निकै तापक्रम बढेका बेला तराईबासी पाहुना धमाधम घुम्न आइरहेका छन् । अझ, नयाँ वर्ष पनि यही सिजनमा पर्ने भएकाले इलाम घुम्न उनीहरूलाई नयाँ ‘मेन्यु’समेत मिलेको हो ।जिल्लाका सदरमुकामदेखि गाउँसम्मका होटल र होमस्टे अहिले नयाँ वर्ष मनाउन आउने पाहुनाले भरिएका छन् । कन्याम, अन्तु, सन्दकपुर, पशुपतिनगर, माइपोखरी, जौबारी र पाथीभरालगायत पर्यटकीयस्थलमा पर्यटक धुइरिएको स्थानीय व्यवसायीले बताएका छन् । भखैरै बरर्र मुना पलाएको हरियो चियाबारी, हिमाल, डाँडाकाँडा, गाउँले जीवनशैली र कृषिको प्रगति हेर्न जिल्लामा पर्यटक आएका हुन् । यतिबेला नयाँ वर्षको अवसर पनि पारेर पर्यटक इलाममा रमाउँदै छन् ।

जिल्लाको प्रमुख पर्यटकीयस्थल सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई)का होटल यतिबेला आन्तरिक र बाह्य पर्यटकले खचाखच छन् । मौसम छ्यांग उघ्रिएकाले इलामलगायत झापा, सुनसरी, भारतको पश्चिम बंगाल, कोलकाता, सिलिगुडीलगायत क्षेत्रबाट पर्यटक खचाखच आएको सन्दकपुरस्थित शेर्पा च्यालेट होटलले जनाएको छ । ‘अहिले मौसम खुलिरहेको र वैशाख १ गते पनि परेकाले नेपालीमात्र होइन, भारतीय पर्यटकसमेत बाक्लै आइरहेका छन्,’ होटल सञ्चालिका कसी शेर्पाले भनिन्, ‘५० जना अटाउने होटलका लागि बिहीबार (नयाँ वर्षको अघिल्लो दिन) एकैदिन २ सयभन्दा बढीले अर्डर मागेका छन् ।’  

उनले सन्दकपुरमा केही चिसो हुनेबित्तिकै हिउँ झर्ने भएकाले पनि तराईका गर्मी ठाउँबाट पर्यटक आइरहेको बताइन् । ‘३–४ दिनअघिसम्म पानी परेर हिउँ थियो,’ उनले भनिन्, ‘अहिले पनि पानी प¥यो भने हिउँ झरिहाल्छ, गर्मी महिनामा परेको हिउँ खेल्न पर्यटकहरू साह्रै रमाउँछन् ।’ सन्दकपुर भारतबाट सर्वाेच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एकमात्र विन्दु हो । यही थाहा पाएका तेस्रो मुलुक र भारत पश्चिम बंगालका पर्यटक यहाँ भारतकै बाटो भएर बढी आउँछन् । सन्दकपुरमा पर्यटकका लागि नेपालपट्टि एउटामात्रै होटल छ । भारतपट्टि भने दर्जनभन्दा बढी छन् ।नयाँ वर्ष अवसरमा फिक्कल बजारमा आयोजित ‘सूर्याेदय सडक महोत्सव’मा सहभागी झापाको एक विद्यालयका विद्यार्थी ।

सदरमुकामबाट करिब ३५ किलोमिटरमा रहेको सन्दकपुर एकै ठाउँबाट धित मर्नेगरी हिमाल, पहाड र तराईका फाँट पहिल्याउन सकिने थोरै पर्यटकीयस्थलमध्ये पर्छ । प्रायः ठण्डा हावापानी हुने यहाँ चिसो बढेका बेला हिउँ पर्छ । सगरमाथा र कञ्चनजंघासहित नेपाल, भारत, भुटानलगायत देशका ३ दर्जनभन्दा बढी हिमाल यहाँबाट देख्न सकिन्छ । सन्दकपुर सूर्याेदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । बंगाली र नेपाली पर्यटक भने सन्दकपुरबाट पैदलै स्थानीय गाउँ–गाउँसम्म छिरेर ग्रामीण पर्यटनको आनन्द लिन्छन् ।

सूर्याेदयका लागि प्रख्यात अन्तुडाँडामा पनि नयाँ वर्षमा घुम्न आउने पर्यटकको धुइरो छ । स्थानीय होमस्टे सञ्चालक धनकुमार आलेले ३५ जना अटाउने आफ्नो होमस्टेमा बिहीबार मात्रै डेढ सय जनाको अर्डर आएको बताए । ‘दुःखले बढीमा ६० जनासम्म त अटाउँछन्,’ उनले बिहीबार दिउँसो नागरिकसँग भने, ‘आज त गाउँभरका घर खचाखच हुनेगरी अर्डर आएको छ ।’ उनले नयाँ वर्ष मनाउन सुनसरी, झापा, मोरङ, सप्तरी र इलामका पनि विभिन्न गाउँबाट पर्यटक अन्तु पुगेको बताए । ‘अहिले मौसम राम्रो छ, यतिबेला त घाम पनि पहाडबाट झुल्केको देखिन्छ,’ उनले भने, ‘चिया टिप्ने सिजन पनि भएकाले पर्यटकहरू चिसो खान र नयाँ वर्ष मनाउन निकै आएका छन् ।’

बाह्रै महिनाजसो चिसो मौसम हुने अन्तुमा सूर्याेदय, सूर्यास्त, चियाबारी, विभिन्न हिमशृंखला हेर्न पर्यटकको भीड लाग्छ । यहाँ देशकै लोपोन्मुख लाप्चा समुदायको बसोबाससमेत रहेकाले जातीय संस्कृति, इतिहास अध्ययनका लागि पनि देश–विदेशबाट पर्यटक आउँछन् । मेची राजमार्गको कन्यामबाट १४ किलोमिटरमा रहेको अन्तु पुग्न फिक्कल बजारबाट १ सय २० रुपैयाँ गाडी भाडा लाग्छ । यहाँको होमस्टेमा करिब ५ सय रुपैयाँले १ जनालाई एक रात अन्तुमा खान–बस्न पुग्ने आलेले बताए । यहाँका २५ घरमा पर्यटकका लागि होमस्टे व्यवस्था मिलाइएको छ ।

इलाम सदरमुकाममा पनि नयाँ वर्षमा घुम्न आउने पर्यटक खचाखच छन् । नयाँ वर्षमा इलाम हुँदै ताप्लेजुङको पाथीभरा घुम्न जाने झापा, सुनसरी, मोरङ, सप्तरी, धनुषा, सर्लाहीलगायत जिल्लाका पर्यटक पनि बिहीबारको बास यहीं बस्ने गरेको ग्रिन भ्यु होटलका डम्बर सापकोटाले बताए ।  

जिल्लाकै अर्काे मुख्य पर्यटकीयस्थल कन्याम घुम्न आउने पर्यटक पनि नयाँ वर्षको पूर्वसन्ध्यानमा खचाखच छन् । चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अर्गानिक उत्पादनको स्वाद चाख्न कन्याममा बर्सेनि हजारौं पर्यटक आउँछन् । ‘नयाँ वर्षमा जोडी बनाएर आउने युवक–युवतीदेखि वृद्धवृद्धासमेत घुम्न आएका छन्,’ होटल व्यवसायी टीका ओडारीले भने, ‘झापाको उखरमाउलो चिसो छल्न १–२ दिनलाई भएपनि  नयाँ वर्षको निहुँ गरेर यता आउने कति छन् कति ।’ कन्याममा बंगाली र आन्तरिक पर्यटक बढी आउँछन् ।

नयाँ वर्षमा पर्यटक आकर्षित गर्न जिल्लाको सूर्याेदय नगरपालिकामा चैत २९ र ३० गते ‘सूर्याेदय सडक महोत्सव’ आयोजना गरियो । झन्डै लाख पर्यटकले महोत्सव अवलोकन गरेको आयोजक होटल व्यवसायी संघले जनायो । इलाम सदरमुकाममा पनि ३ दिने पर्यटन मेला बिहीबार सुरु भएको छ । स्थानीय महिला उद्यमीहरूले आयोजना गरेको मेलाको उद्देश्य नै ‘इलामलाई पर्यटकीय जिल्लाका रूपमा चिनाउने’ राखिएको आयोजक समिति अध्यक्ष अनुजा सुवेदीले बताइन् ।

झापाबाट इलाम पस्ने किटेनीस्थित पर्यटन सूचना केन्द्रका अनुसार नयाँ वर्षका लागि इलाम आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । केहीदिन अघिसम्म दिनहुँ डेढ–२ सय पर्यटक आउने गरेकामा अहिले त्यो दर हजारभन्दा नाघेको सूचना केन्द्रका गगन घिमिरेले बताए । ‘करिब ३ दिनयता नयाँ वर्षमा इलाम घुम्न र ताप्लेजुङको पाथीभरासम्म पुग्ने भन्दै दिनहुँ हजारभन्दा बढी पर्यटक आइरहेका छन्,’ उनले भने, ‘यो दर केही दिनअघि डेढ सय हाराहारी मात्रै थियो ।’ उनले प्रायः चारचक्के ठूला सवारीमा आउनेको मात्रै रेकर्ड राख्ने गरेपनि झापा, मोरङ र सुनसरीका मोटरसाइकल र साना सवारीमा आउने त्योभन्दा धेरै संख्याका पर्यटक रेकर्ड नै नराखी आउने गरेको पनि बताए ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले यो वर्ष जिल्लामा गतवर्षभन्दा बढी पर्यटक आउने अपेक्षा गरेको बताए । ‘नयाँ वर्षमै पनि निकै पर्यटक आउने भएकाले वैशाखभरमा गतवर्षको भन्दा निकै धेरै पर्यटक आउने अपेक्षा छ,’ उनले भने । गतवर्ष भारतीय नाकाबन्दी र इन्धन अभावले पर्यटकको संख्या कम रहेपनि यो वर्ष पर्यटक आउनेक्रम सिजनको सुरुदेखि नै राम्रो रहेको बताए ।


 

 

 

प्रकाशित: ३१ चैत्र २०७३ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App